मुटु स्वस्थ राखौं, हृदयघातबाट बचौं

मेचीकाली संवाददाता

११ आश्विन २०८०, बिहीबार
1325 shares

ओम बानियाँ

मुटु शक्तिशाली मांसपेशीले बनेको हुन्छ । यस अङ्ग सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग हुनुपर्छ । मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ ।

तर, यी रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ । रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ । हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ ।

मुटुरोगमध्ये उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ब्लड प्रेसर भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमी मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन् । दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गाैलाका रक्तनलीमा असर परे हृदयघात वा मिर्गौला फेल हुन्छ ।

हार्ट फेल के हो ?
हार्ट फेल पनि मुटुको डरलाग्दो समस्या हो । अधिकांश मानिस दम बढ्नेबित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच्छन् । तर, यो आंशिक रुपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुन्छ । यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम भएर जान्छ भने यो मुटुरोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशीहरु कमजोर भएको, मुटुको भल्भ बिग्रिएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ । हार्ट अट्याक र हार्ट फेल फरक–फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको घड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परीवर्तनका कारण मुटुमा देखिने समस्याहरु हुन् ।

किन बढ्दै छ युवामा हृदयघात ?

डा.लक्ष्मण दुवे

हिजोआज युवा अवस्था नै हृदयघात हुने गरेको पाइएको छ । निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन तथा मोटोपना आदिका कारणले युवा अवस्थामा नै हृदयघातको समस्या बढिरहेको वरिष्ट मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवे बताउँछन् । डा. दुवेका अनुसार हृदयघात हुनेमध्ये १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउँछन् । उनी अगाडि भन्छन्–युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको समस्या बढ्दै गएको छ । खासगरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयघात चुरोट र सुर्ती सेवन मुख्य कारक देखिएको छ । उनका अनुसार अहिले अस्पतालमा हृदयघात भएर आउने धेरै युवा चुरोट र सुर्ती सेवनका कारण भएको पाइन्छ । चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, तनाब जस्ता कारणले पनि युवा उमेरमा नै हृदयघात हुने गरको उनको भनाइ छ । चुरोट र सुर्तीका अलवा हृदयघात वंशाणुगतका कारण पनि हुने गरेको डा.दुवे बताउँछन् । त्यसैले ४० वर्ष कटेका हरेक व्यक्ति तथा धूममान गर्ने, मोटोपना र कोलेस्ट्रोल बढी भएका तथा आमाबालाई मुटुरोगको समस्या भएका २० वर्षका व्यक्तिले वर्षको एक पटक मुटुको जाँच गराउने हो भने मुटुरोग तथा हृदयघात हुनबाट जोगाउन सकिने सम्भावना बढी हुने तर्क डा.लक्ष्मण दुवेको छ ।

कोरोनरी मटुको रोगः
कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो । हृदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो । यो रोग विशेषगरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ । तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ ।

मुटु रोगका लक्षणः
बुटवलमा कार्यरत वरिष्ट मुटुरोग विशेषज्ञ डा.लक्ष्मण दुवेका अनुसार मुटु रोगका प्रमुख लक्षणहरु यस्ता हुन्छन्ः छातीको बीच भागमा पीडा हुनु, बेचैनी हुनु वा भारीपन महसुस हुनु, श्वास फेर्न कठिनाइ हुनु, धेरै पसिना आउनु, नियमित रुपमा वाकवाक लाग्नु, हात झझमाउने तथा चेतनाबिहिन बन्नु, शरीरको कुनै अंगले काम गर्न छाड्नु, कमजोर यौन गतिविधि हुनु, घुर्ने तथा निन्द्रा असन्तुलन हुनु । काँध र घाँटीमा दुखाइ हुनु, अपच, मुटुमा जलन हुनु, बोल्दा कठिनाइ हुनु, जिब्रो लरबरिनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो तथा औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन् । शारीरिक परिश्रम गर्दा वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतिर भएर ढुङ्गाले थिचेको जस्तो अनुभव हुने र आराम गरेपिछ हराएर जाने लक्षणलाई एन्जाइना भनिन्छ । कसैकसैलाई भने पहिलोपटक नै असहय तरिकाले छाती दख्ने, देब्रे छातीतिर झनै श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका लक्षणहरू देखिन्छन्, जसमध्ये एक तिहाइ बिरामीको अस्पताल पुग्नभुन्दा अगाडि नै मृत्यु हुन्छ ।

उपचार तथा रोकथामः
एक पटक मुटुमा गम्भीर समस्या देखिए जीवनभर त्यसले पीडा दिन सक्दछ । उपचार गरेपछि पनि जीवनभर औषधी खानुपर्ने हुन सक्दछ । जुन निकै महंगो हुन्छ । मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महँगो हुन्छ । त्यसैले आफूमा मुटु रोगको समस्या छ कि छैन भनेर बेला बेलामा इसिजी गरेर हेर्नुपर्छ । पहिले–पहिले पाका र उमेर बढी भएकालाई लाग्ने भनेर चिनिएको मुटु रोग अहिले साना केटाकेटी र किशोरकिशोरीमा पनि देखिन थालेका छ । त्यसैले परिवारमा कसैलाई मुटु सम्बन्धि रोग छ भने २० वर्षसम्मको उमेरमा मुटुको परीक्षण गर्नु पर्दछ । अन्यथा ३० वर्षको उमेरपछि अनिवार्य एकपटक मुटुको परीक्षण गर्नुपर्दछ ।

मुटुरोग रोकथामको सम्बन्धमा डा. दुवे भन्छन्, मुटु रोगबाट बच्न धूम्रपान साथै सूर्तीजन्य पदार्थको सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो र बोसोयुक्त खानेकुरा, फास्टफुड, जंकफुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ । शरीरको इन्जिन, मुटु स्वस्थ भएमा मानिसको जीवन नै स्वस्थ हुन्छ ।