एमाले स्वास्थ्य तथा जनसंख्या विभागको सैनामैनामा निःशुल्क स्वास्थ्य शिविर

मेचीकाली संवाददाता

१९ आश्विन २०८०, शुक्रबार
455 shares

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्लाको सैनामैनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनतालाई स्वाथ्य सेवा दिने उद्देश्य सहित विभागले देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा ‘हेल्थ क्याम्प’ गरेको हो ।

शिविरको एमाले केन्द्रीय सदस्य गुमा आचार्यले ज्येष्ठ नागरिकलाई औषधी दिएर उद्घाटन गरिन् । सो अवसरमा बोल्दै महिला नेतृ आचार्य जनताको आवश्यक ठाउँको क्षेत्रमा शिविर गरेकोले सेवा लिन सबैलाई आग्रह गरिन् । एमाले हरेक नागरिकको सुखदुःखको साथी समेत भएको बताउँदै जनता समस्या बढी भएको ठाउँमा यस्ता शिविरहरु गर्न आवश्यक रहेकोमा आचार्यले जोड दिइन ।

सो अवसरमा बोल्दै एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले स्वास्थ्य तथा जनसंख्या विभागको काम सह्रानीय रहेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका प्रमुख सुनील श्रेष्ठले आम नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा दिनमा पनि शिविर गरिएको बताए । एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका श्रेष्ठले आउदा दिनमा रूपन्देहीमा विभिन्न क्षेत्रमा शिविरहरू सञ्चालन गर्दै जाने जानकारी दिए । शिविरमा फिजिसियन, हाडजोनी, गाइनो, मृगौला रोगसम्बन्धी निःशुल्क जाँच, ल्याब टेस्ट र औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा एमाले क्षेत्रीय संयोजक बाबुराम पन्थी, सैनामैनाका इन्चार्ज मीनप्रसाद पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा एमाले प्रदेश कमिटी, जिल्ला कमिटी र विभागका सदस्यहरु र आम जनताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका सचिव केदार नेपालले गरेका थिए । विभागले यस अघि बुटवलका विभिन्न ठाउँ र रोहणीमा पनि शिविर गरिसकेको छ ।