ज्योति सहकारीको २१औं वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२१ आश्विन २०८०, आईतवार
232 shares

सुनिल आचार्य

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–१ पत्थरकोटस्थित ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी बुद्धभूमि नगरपालिका १ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले साधारण सभाको शुभकामना दिंदै सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७८ ले अंगिकृत गरेका बिषयहरु र सहकारीको नियम कानुनमा टेकेर काम गर्नुपर्ने बताए । सहकारी ऐन २०७४ ले निर्देशन गरेका कुराहरुलाई सहकारीका पदाधिकारीहरु, शेयर सदस्यहरु र बचतकर्ताहरुले पालना गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा सहकारीका संस्थापक सदस्य तथा जनज्योति आधारभूत बिद्यालयका प्रधानाध्यापक रविलाल घिमिरेले २०५२ सालदेखि संचालन र शेयर लगानी गरी बिस रुपैंयादेखि बचत गर्न थालेको यस सहकारी संस्थाले हाल एक करोडको हाराहारीमा पुराउन सफल हुनु गौरवको कुरा भएको बताए । अहिले हामीहरुले गरेको बचतले बृद्ध अवस्थामा ठुलो सहयोग पुराउने भएको हुँदा बचतलाई बृद्धि गर्नुपर्नेमा जोड दिए ।

यस्तै सहकारीका संस्थापक अध्यक्ष हुमबहादुर घर्तिले २५ जनाको समूहबाट रु. २० रुपैंयाको दरले बचत गर्दे यस स्थानमा पुराउन सफल भएको बताए । संस्थालाई बलियो बनाउने जिम्मेवारी संस्थाका शेयर सदस्यहरुको समेत भएको बताए ।
यस्तै कार्यक्रममा सहकारीका सेयर सदस्य बलराम भुसालले सहकारीको महत्व शेयर सदस्यहरुले बुझ्न आवश्यक भएको बताए । अनावश्यक गरिने खर्चलाई कम गरेर बचत गर्न सबै लाग्नुपर्ने बताउँदै कृषि उत्पादनमा जोडदिन सके आर्थिक संबृद्धिमा बृद्धि हुने बिस्वास व्यक्त गरे ।

यसैगरी सहंकारीका सदस्य सुभलाल भुसालले सहकारीमा बचत गर्नाले लाभान्स प्राप्त हुने भएको हुँदा सहकारीमा बचतको बृद्धि गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए । पत्थरकोटमा लाग्ने पुरानो हाट बजार अहिले धरासही भएको अवस्था छ हाट बजारलाई व्यवस्थित बनाउन पत्थरकोट बासी लागि पर्न जरुरी भएको उनको भनाई छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष रामप्रसाद भुषालले २०८०/०८१ को वार्षिक निती तथा कार्यक्रम प्रस्तुत गरे । सो अवसरमा हाल ११ सय २२ शेयर सदस्यहरु रहेको र यसलाई बृद्धि गरी १ हजार ३ सय शेयर सदस्य पुराउने लक्ष रहेको बताए । अध्यक्ष भुषालले शेयर पुँजी ९३ लाख ५० हजार ४ सयबाट १ करोड १० लाख पुराउने लक्ष्य रहेको र बचत रकम रु. ३ करोड ७७ लाख ३० हजार ९ सय बाट ४ करोड पुराउने लक्ष्य रहेको बताए ।

यस्तै कर्जा लगानी तर्फ ४ करोड ३८ लाख ७० हजार १ सय २३ बाट ५ करोड ५० लाख पुराउने संस्थाको लक्ष्य रहेको छ । ५० बर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई तिर्थ बचत तथा पेन्सन बचत गर्न प्रोत्साहन गरिने लगाएतको लक्ष्य रहेको छ ।
सहकारीका कोषाध्यक्ष भुवन पाण्डेले ०७९/०८० को आयव्यय र ०८०/०८१ को अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । संस्थाका सचिव भगवती भुषाल गैरेले प्रगती प्रतिबेदन र लेखा समितीका सदस्य टंकप्रसाद भुषालले लेखा प्रतिवेदन प्रस्तुत गरे ।
साधारण सभामा सहकारीका शेयर सदस्यहरु, सहकारीका पुर्व अध्यक्षहरु, कार्यसमितीका पदाधिकारीहरु, सहकारीका व्यवस्थापक, कर्मचारी, सामुदायिक बनका अध्यक्षहरु तथा प्रतिनिधिहरु, बिभिन्न समूहका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा असल ऋणी, असल बचत कर्ता, नियमित बचतकर्ता, जेष्ठनागरिक, उत्कृष्ट शेयर सदस्य, सुत्केरी लगायतलाई नगदसहित सम्मान गरिएको थियो । सहकारीको ११ औं अधिवेसन केही दिनका लागि स्थगित गरिएको जनाईएको छ ।
साधारणसभा सहकारीका अध्यक्ष रामप्रसाद भुषालको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद बेल्वासेको स्वागत तथा सचिव भगवती भुषाल गैरेको संचालनमा सम्पन्न भएको थियो ।