चेपाङ समुदायमा हस्तकला

मेचीकाली संवाददाता

२१ आश्विन २०८०, आईतवार
594 shares

कपिलवस्तु । गोरखाको गण्डकी गाउँपालिका–७ बेलटारका चेपाङ समुदायलाई वडा कार्यालयको समन्वयमा हस्तकला तालिम सम्पन्न गरिएको छ । तारा नमस्ते फाउण्डेसनको सहयोगमा असोज ३ देखि ९ गतेसम्म ७ दिने र असोज २० गते एक दिने तालिम सम्पन्न भएको हो ।

तालिममा १७ जना चेपाङ महिलाहरुको उपस्थिति रहेको थियो भने तालिमको सहजीकरण तारा नमस्ते फाउण्डेसन लिकटेन्स्टायन, स्वीट्जरल्याण्डबाट आएकी कार्यक्रम व्यवस्थापक लिलो भेरागुथले गरेकी थिइन् । तालिमबाट चेपाङ समुदायले हस्तकलाको सिप सिकेको र उक्त सिपले सही सदुपयोग गरेमा समुदायले आफ्नो परिवारकालागि हस्तकलाका सामग्री आफैँ बनाउन सक्ने र राम्रो आम्दानीको स्रोत बन्न सक्ने लिलोले बनाइन् ।

यस संस्थाले आयआर्जनका लागी सिप विकासका साथै प्रजाज्योती प्राथमिक विद्यालयमा ८३ जना बालबालिकालाई बिहानको पोषिलो खाना विद्यालयमा दैनिक खुवाउँदै आएको छ । विद्यालयलाई अंग्रेजी शिक्षकको व्यवस्था गरी शैक्षिक क्षेत्र सुधारका लागि महत्वपूर्ण योगदान गरेको प्रजाज्योती प्राथमिक विद्यालयकी प्रधानाध्यापक निर्मला अर्याल (रेग्मी) ले बताइन् ।

आगामी दिनमा पनि हस्तकला सम्बम्धी तालिम संचालन गर्ने, स्थानीयस्तरमा रहेका र खेर गइरहेका प्राकृतिक स्रोतको प्रयोग गर्ने सिप र जानकारी दिनुपर्ने संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले बताए । चेपाङ समुदायका लागी जीविकोपार्जनका लागि आयआर्जनसम्बन्धी परियोजना चाँडै सञ्चालन गर्ने बारेमा समेत अध्यक्ष श्रेष्ठले जानकारी गराए । उक्त हस्तकला तालिममा कटनको धागोबाट रुमाल, झोला बनाउन सिकाइएको थियो ।