जुरपानी सामुदायिक बनको अध्यक्षमा बञ्जाडे

मेचीकाली संवाददाता

१९ कार्तिक २०८०, आईतवार
336 shares

पार्वती आचार्य

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–१ टिक्करस्थित जुरपानी सामुदायिक बन उपभोक्ता समूहको १५ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनले सालिकराम बञ्जाडेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा कमला बिक, सचिवमा सरिता खनाल, सह सचिवमा नविन थारु र कोषध्यक्षमा कमला पाण्डे चयन भएका छन् । भने सदस्यहरुमा चन्दा बञ्जाडे, लक्ष्मी खड्का, गुडिया थारु लगायत ११ जना चयन गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले सामुदायिक बनको उपलब्धि भनेको उपभोक्ताहरु भएको हुँदा बन संरक्षण र संवद्र्धनमा एकजुट हुनुपर्नेमा जोड दिए । बन आम्दानीको श्रोत भएकाले यसको संरक्षण र सम्वद्र्धनमा आम उपभोक्ताहरुले बनलाई आफ्नो हो भनेर सक्रिय रुपमा लाग्नुपर्ने उनको भनाई छ । नगरपालिका सामुदायिक बनसँग समन्वय गरेर अगाडी बढ्ने नगर प्रमुख श्रेष्ठले प्रतिबद्धता जनाए ।

जिल्ला बन कार्यालयका डिभिजनल बन अधिकृत बिजयराज सुवेदीले बन समूहको करोडौंको श्रोत हावामा उडेर खेर गएको बताए । यसलाई व्यवस्थापन गर्न उपभोक्ता समूह सक्रिय हुन आवश्यक भएको बताए । बन क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रण, बन अतिक्रमण हुनबाट जोगाउनु र वन्यजन्तु संरक्षण गरी बन संरक्षण र व्यवस्थापन गर्न उपभोक्ता समूहको भूमीका महत्वपूर्ण हुने उनको भनाई थियो ।

यसैगरी वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले वैज्ञानिक बनमा सरकारले एक्कासी रोक लागाए पछि सडक देखि सम्बन्धित निकाय सम्म पुगेर शान्तिपूर्ण आन्दोल सहित मागहरु गर्दै धेरै संघर्षका बावजुद वैज्ञानिक वन व्यवस्थापन सफल भएको बताइन् । सरकारले एक्कासि बिना कारण ०७७ जेठ १५ गते काठ दाउरामा रोक लगाई काठलाई जहाँको तही राख्नु नचलाउनु भन्ने आदेश पछि सामुदायिक बनहरुले धेरै चुनौती खेप्न बाध्य भएको बताइन् ।

०७७ माघ ११ गते कार्यविधि २०७१ खारेज गर्ने सरकारको निर्णयले बैज्ञानिक बन व्यवस्थापनमा ०७२ सालको भुकम्पले जति क्षती पुराएको थियो त्यसको व्यवस्थापन हुन नपाउँदै २०७७ साल माघ ११ गतेको मन्त्रिपरिषदको निर्णयले सिंगो नेपालको बन व्यवस्थावनमा ठुलो क्षती पु¥याएको अध्यक्ष सेनले बताइन् । जिल्ला देखि केन्द्र सम्मको शान्तिपूर्ण आन्दोलन र दवाब सहित सरकारलाई चुनौती दिएर अगाडी बढ्दै जाँदा हाल वास्तवमा लुम्बिनी प्रदेशमै पहिलो बैज्ञानिक वन व्यवस्थापन शुरुगर्न सफल हुनु गर्वको कुरा भएको महासंघका केन्दिय अध्यक्ष सेनले बताइन् । वैज्ञानिक बन व्यवस्थापन सफल हुँदा बन संरक्षणबाट उपभोक्ता, सरकार दुवैलाई फाइदा पुगेको उनको भनाई छ ।

कार्यक्रममा बसन्तपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष पंचम सिंह बोगटीले बन संरक्षण गर्न सम्पूर्ण बनका उपभोक्ताहरु जागरुक हुन जरुरी भएको बताए । टिक्कर टोल बिकास संस्थाका अध्यक्ष हिम्मत कुमार टण्डन, समाजसेवी बिरेन्द्र मिश्रा र सिद्धार्थ स्मारक माविका प्रधानाध्यापक डिलाराम पौडेलले उपभोक्ता समूहले सामुदायिक बन संरक्षण गर्ने आम उपभोक्ताहरुको दायित्व भएको हुँदा बनलाई माथि उकास्न सबै लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी बनका अध्यक्ष पिंगल थारुले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै बन संरक्षण गर्न जति धेरै रुखहरु रोप्न र जोगाउन सकियो मानव जातिको उत्तिनै कल्याण हुने भएको हुँदा र मानव जिवनको अभिन्न अंंग हो भन्ने चेतना समाजमा जगाउन बिशेष अभियान चलाउन आवश्यक भएको बताए । कोषाध्यक्ष कमला पाण्डेले आर्थिक बर्ष ०७९/०८० को आयव्यय प्रतिबेदन प्रस्तुत र ०८०÷०८१ को अनुमानित बजेट १ करोड १६ लाख ६ हजार ४ सय २३ रुपैंया र निती तथा बार्षिक कार्यक्रम प्रस्तुत गरीन् ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष बञ्जाडेले यस सामुदायिक बनलाई सक्रिय रुपमा अगाडी बढाउन समितीका पदाधिकारीहरु सबै एकजुट भएर लागिपर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. १ का वडा सदस्य, उपभोक्ता समूहका पदाधिकारीहरु, कुन्द्रा सामुदायिक बनका अध्यक्ष प्रजोल श्रेष्ठ, सामुदायिक बनका अध्यक्षहरु, सचिव कमला टण्डन, खानेपानी संस्थानका अध्यक्ष, टोल बिकास संस्थाका अध्यक्ष, बिद्यालयका प्रधानाध्यापक, महिला समूह, समाजसेवी बुद्धिजिवी, सुरक्षाकर्मी, पत्रकार लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम बनका अध्यक्ष पिंगल थारुको अध्यक्षता, सदस्य नविन थारुको स्वागत तथा सचिव सरिता खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।