बालिका बलात्कारपछि हत्याका आरोपित रहिस खाँ जेल चलान

मेचीकाली संवाददाता

१२ मंसिर २०८०, मंगलवार
185 shares

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका– ४ का २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । उनी १७ कात्तिकमा शान्तिपुरबाट पक्राउ परेका थिए ।

१७ कात्तिकमा बालिका शान्तिपुर घरनजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेकी थिइन् । खोलामा बालिकाको दर्दनाक अवस्थामा शव फेला परेदेखि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध र प्रदर्शनसमेत गरे । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेर शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् । बालिका १६ कात्तिकबाट परिवारको सम्पर्कमा थिइनन् । आमासँग घरनजिकैको खेतमा काम गर्न गएकी उनी १६ कात्तिकको बिहान ११ बजे खेतालालाई सुर्ती किन्न बजार गएपछि फर्किनन् ।

स्थानीय र परिवारले बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै आएका छन् । गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी अदालत पेस गरेको थियो । जिल्ला अदालत गुल्मीले सोमबार खाँलाई पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

पछिल्लो तीन वर्षमा यो चन्द्रकोट गाउँपालिकाको दोस्रो ठूलो घटना हो । चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरको जंगलमा ०७७ कात्तिक १६ गते दुई बालिकासहित महिला बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेका थिए । १३ दिनपछि घटनामा संलग्नलाई कास्कीस्थित पोखरा महानगरपालिका– २५ हेम्जाबाट पक्राउ गरिएको थियो ।

हत्या भएका तीनजना मोरङ कानेपोखरी गाउँपालिका– ३ हर्कपुर घर भएका ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी सात वर्षीया गंगा र जमुना मगर रहेका थिए । गुल्मी जिल्ला अदालतले हत्याकाण्डमा संलग्न मुख्य व्यक्ति बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई जीवित रहेसम्म कैद सजाय फैसला गरेको छ।