पालुङ मैनादी प्रथम सुन्तला महोत्सव

मेचीकाली संवाददाता

१७ मंसिर २०८०, आईतवार
134 shares


पाल्पा । रिब्दीकोट गाउँपालिकाको पालुङ मैनादीले प्रथम सुन्तला महोत्सव सम्पन्न गरेको छ । सुन्तलाको उत्पादन बृद्धि, बजार प्रवर्द्धन तथा सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको हो । महोत्सवको उदघाटन समारोहमा सुन्तला खेती र यसको उत्पादन बजारीकरणको बारेका वडाध्यक्ष दानबहादुर कँवरले वडा नम्बर ७ का १ नम्बर टोल देखि ६ नम्बर टोल सम्म करिव १४ हजार ७ सय सुन्तला बोटबाट ६ लाख ६१ हजार ५ सय किलो उत्पादन गरि ३ करोड ९६ हजार बराबरको बिक्रि गर्ने अनुमान रहेको बताए ।

मैनादी गाउँ सुन्तलाको लागि उपयुक्त ठाउँ भएकोले यहाँका कृषकहरु सुन्तला र अकवरे खुर्सानीलाई आफ्नो दैनिकी र व्यवसाय संग जोडेको पाइन्छ । सुन्तला महोत्सवमा सुन्तलाका स्टल, विभिन्न जातका सुन्तलाका बिरुवा तथा आवश्यक यन्त्र उपकरणको प्रदर्शन, निःशुल्क माटो परीक्षण, सुन्तलाको विभिन्न परिकार बनाई जुस, जाम, सलाद, वाइन प्रदर्शन गरिएको थियो । सुन्तला खेतीको उत्पादन बढाउन, बजारीकरण तथा सुन्तलाको विविधिकरणको लागि महोत्सव गरिएको आयोजक एव वडा रिब्दीकोट–७, का वडाअध्यक्ष कुँवरले बताए ।

रिव्दीकोटमा गत बर्ष ५ करोडको सुन्तला विक्रि भएको छ । कृषि उत्पादनमा रिव्दीकोटमा प्रशस्त संभावना छ भनेर देखाउन, युवालाई कृषिमा अड्याउन, आम्दानी बढाउन सुन्तला महोत्सव गरिएको गाउँपालिकाका अध्यक्ष रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । रिव्दीकोटका कृषकले सुन्तला खेती बाट वार्षिक एक लाख देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन ।

रिब्दिकोट गाउँपालिका–७ वडा कार्यालय पालुङ्मैनादीको आयोजना, मैनादी कृषि सहकारी संस्थाकाको व्यबस्थापन, गाउँपालिकाको समन्वय र कृषि ज्ञान केन्द, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र सुन्तला जात फलफुल विकास केन्द्रको सह आयोजनामा एक दिने सुन्तला महोत्सव गरिएको हो । सुन्तला खेती बाट राम्रो आम्दानी भएपछि यस पालिकाका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।