चेपाङ समुदायकालागि ब्यवसायीक बाख्रा पालन तालिम

मेचीकाली संवाददाता

१० पुष २०८०, मंगलवार
153 shares

मेसस पुस १०

चेपाङ समुदायलाई आयआर्जनसंग जोडी परिवारको आयस्रोत बढाई सामुदायीक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गण्डकी गाउँपालिकाको आयोजना र तारा नमस्ते फाउण्डेशन काठमाडौंको सहयोगमा गण्डकी गाउँपालिकाको वडा नं ७ र ६ का चेपाङ समुदायकालागि ब्यवसायीक बाख्रा पालन तालिम सम्पन्न भएको छ ।

वडास्तरीय परियोजना ब्यवस्थापन तथा अनुगमन समिति वडास्तरमा गठन साथै अभिमुखिकरण गरी वडा नं ७ को खरेटार, सल्लेरी, लामीडाँडा र वडा नं ६ को कौदी खोलामा ब्यवसायीक बाख्रा पालन तालिम दिईएको हो । मुल समुहका ५८ जना चेपाङको उपस्थितिमा स्थलगत तालिम वडा नं ५ का पशु सेवा प्राविधिक नविन उपाध्यायबाट संचालन गरिएको थियो ।

परियोजना अन्र्तगत बाख्रापालनका लागी ८ वटा समुह र कुखुरा पालनको १ समुह गरी १ सय २८ चेपाङ परिवारलाई प्रत्येक्ष लाभ हुनेगरी तालिम संचालन गरिएको संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार वडा नं ७ र ६ मा प्रजनन्कालागी ४ वटा उन्नत वयर जातको बोका उपलब्ध गराउने, उपलब्ध बोका र बाख्राको विमाको ब्यवस्था गर्ने साथै बाख्राकोलागी ब्यवस्थीत खोर निमार्णकालागि परियोजनाबाट सहयोग उपलब्ध गराईने जानकारी दिनुभयो ।

तालिममा यस परियोजना अन्र्तगत मुल समुहका सदस्यहरुलाई वितरण गरिएको बाख्राले पाएको पाठी १०० दिन पुरा भएपछि उपहार समुहलाई हस्तान्तरण गरिने छ । यसले चेपाङ समुदायमा आफूले प्राप्त गरेको उपहारबाट आफ्नो जीवनस्तरमा गुणात्मक सुधार ल्याई वास्तविक आवश्यकता भएको अर्को व्यक्ति, परिवार तथा समूहहरूलाई उपहार प्रदान गर्दै जाने छ । परियोजनाको स्थापित मान्यताले गर्दानै कार्यक्रमको प्रभावकारिता बढ्दै जाने र व्यक्ति तथा समुदायमा अपनत्वको भावना विकास हुने बारे वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मीले बताउनु भयो ।

चेपाङ समुदायको सामुदायीक विकाशकालागि धेरै क्षेत्रमा सुधारको आवश्यक रहेको बताउँदै आय आर्जनका साथ साथै स्वच्छ पानी र सरसफाई सम्बन्धि ब्यवहार परिवर्तनका कार्यक्रमहरु पनि संगसंगै संस्थाले संचालन गर्न आवश्यक रहेको गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले बताउनु भयो । चेपाङ परिवार साथै समुदायको दिगो विकासकालागी आवश्यकता अनुसार संस्थासंग सहकार्य गरी पालिका अगाडी बड्न तयार रहेको छ । दुवैको उदेश्य एकै रहेकाले प्रभावकारी रुपमा गाउँपालिकासंग समन्वय गरी परियोजना समुदायस्तरमा संचालन गर्दा नियमित रुपमा अनुगमन हुनुको साथै परियोजना प्रभावकारी रुपमा सम्पन्न हुने पालिकाका अध्यक्ष दिपक तिमल्सिनाले जानकारी दिनुभयो ।