एक्स्पोले आर्थिक गतिविधि चलायमान बनाएको छः निर्वतमान मुख्यमन्त्री गिरी

मेचीकाली संवाददाता

१९ पुष २०८०, बिहीबार
99 shares

बुटवल । लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरीले खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । रुपन्देही व्यापार संघको आयोजनामा बुटवल मण्डपमा पुस ५ गतेबाट सुरु भएको लुम्बिनी एक्स्पो–२०८० को बुधवार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले सो कुरा बताएका हुन् । मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने निर्वतमान मुख्यमन्त्री गिरीको भनाई थियो । वर्तमान सरकार दिशाविहीन बन्दा विकासका काम अगाडि बढ्न नसकेको उनले आरोप लगाए । राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दालाई अगाडि बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै उनले व्यापार संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले बिर्सन नहुने उल्लेख गरे ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म आयोजना गरिएको एक्स्पोको समापन कार्यक्रममा एक्स्पो मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताए । अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा एक्स्पो सम्पन्न गरेको बताए । एक्स्पो सफल बनाउन तयारीदेखि समापनसम्म प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति उनले आभार व्यक्त गरेका थिए ।
उनले एक्स्पोमा संघले राखेको दर्शक र कारोबारको लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले केही सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष घिमिरेले मेलाका अवसरमा जातीय, भाषिक तथा सांस्कृतिक हिसाबले हामी नेपालीहरुमा रहेको वलियो एकतालाई सन्देशमुलक बनाउने उद्देश्यले मेला स्थलमा बनाएको पर्यटन पार्कको प्रस्तुतिले नेपाली नेपालीलाई एकै मालामा बाँधेको सन्देश पस्केको विश्वास व्यक्त गरे । उनले मेलाका अवसरमा कृषिलाई प्राथमिकता दिएर थप व्यवस्थित र विषेश आर्कषक बनाएको उल्लोख गर्दै कृषि पेभिलियनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाभित्रका उत्पादनहरुलाई प्राथमिकता दिएर समावेश गरिएको जनाए ।

समापन समारोहमा एक्स्पोमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री गिरी र मेला मूल समितिका संयोजक घिमिरेले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरेका थिए । कार्यक्रममा मूल्याङ्कन समितिका सदस्य मुकुन्द ज्ञवालीले पुरस्कृतहरुको नामावली सार्वजनिक गरेका थिए । सम्पूर्ण स्टलहरुमा प्रथम गोल्ड स्टार सुज (उपहार सुज हाउस), द्वितीय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग, तिलोत्तमा भएका छन् ।

त्यसैगरी स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डिक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स नेपाल) ले पाएको छ । त्यसैगरी महिला उद्यमीको तर्फबाट नेचुरल दुनाटपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रालि पुरस्कृत भएको छ ।
कार्यक्रमका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मेला सफलतापूर्वक सम्पन्न भएकोमा रुपन्देही व्यापार संघको पात्र भएको बताउँदै आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानिय सरकारहरुले सधैँ साथ दिने प्रतिवद्धता जनाएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागत तथा महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देवकोटालगायत बोलेका थिए । कार्यक्रममा धन्यवादज्ञापन प्रथम उपाध्यक्ष प्रकाश ढकालले गरेका थिए । सोही अवसरमा सहआयोजक, प्रवद्र्धक, सौजन्यकर्ताहरु, सहयोगी संघसंस्था र विभिन्न निकायहरुलाई सम्मान, कदर र प्रशंसापत्र प्रदान गरिएको थियो ।

मेलाको पुस ५ गते नेपाल सरकारका पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति र ४५ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरिएको थियो । एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, रेष्टुरेण्टलगायतका विभिन्न प्रकृतिका करिब ६ सय स्टलहरु रहेका थिए । एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायकगायिका, हास्यकलाकार, विद्यालयस्तरीय लोकनृत्य, डान्स आइडल, भजन, ¥यापलगायतका प्रतियोगिताहरु आयोजना गरिएका थिए ।