राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा एमालेले गरायो उम्मेदवारी दर्ता

मेचीकाली संवाददाता

२३ पुष २०८०, सोमबार
80 shares

बुटवल, । नेकपा एमालेले राष्ट्रिय सभाको लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचनको अधिकृतको कार्यालय घोराही, दाङ पुगेर झपेन्द्र घर्ती र तुलसाकुमारी केसीले मनोनय दर्ता गराएका हुन् । अन्यतर्फ घर्ती र केसीले महिलातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रस्तावक गिरिधारीलाल न्यौपाने र तुलसी चौधरी समर्थक रहेर झपेन्द्र बहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेर तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । यसअघि एमाले जिल्ला पार्टी कार्यालयमा संक्षिप्त समारोहबीच पोलिटब्युरो सदस्य लिला गिरीले माला लगाएर पार्टीको उम्मेदवारको टिकट हस्तान्तरण गरेका थिए ।

लुम्बिनीमा राष्ट्रिय सभामा दुई पदका लागि निर्वाचन हुँदैछ । नेकपा एमालेका कुमार दसौंदी र कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते नयाँ सदस्य छान्नका लागि निर्वाचन हुन लागेको हो ।

घर्ती एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । उनी पूर्वपाल्पाको जिल्ला विकास समितिको सभापति पनि भएका थिए । घर्ती उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् । घर्ती साहित्यमा पनि रुचि राख्ने नेता हुन् । त्यस्तै केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन् ।