सहयोगी महिला बहुउद्देशीय सहकारीको अध्यक्षमा पाण्डे

मेचीकाली संवाददाता

२३ पुष २०८०, सोमबार
112 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपाालिका–४ ठाकुरापुरस्थित सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रमा पाण्डेको अध्यक्षतामा ११ कार्यसमिति निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा सावित्रा अर्याल, सचिवमा सुनिता सेन, सहसचिवमा डिला शर्मा, कोषाध्यक्षमा सरिता पौडेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा बिस्नु थारु, सरस्वती पोख्रेल, लक्ष्मी शाही, राजकुमारी चौधरी, सञ्जु सेन, बिस्नुमाया पौडेल निर्विरोध चयन भएका छन् भने लेखा समितितर्फ लेखा संयोजक बिनिता आचार्य, सदस्यमा लक्ष्मी क्षेत्री र दुर्गा चौधरीलाई चयन गरेको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले सहकारीले व्यवसाय रुपमा उत्पादन गरेका कृषि सामाग्रीहरुलाई खेरजान नदिने बताए । सांसद पन्थीले कृषिलगायतका विभिन्न व्यवसायहरु संचालन गर्दै आएको यस सहकारीले कृषि क्षेत्रलाई व्यवसायीक रुपमा अगाडी बढाउन आग्रह गरे । सहकारीले उत्पादन गरेका वस्तु तथा सामग्रीको व्यवस्थापनको जिम्मेवारी आफूले लिने प्रतिबद्धता जनाए ।
यसैगरी सहकारी संघका लुम्बिनी प्रदेश लेखा समिति संयोजक तेजप्रसाद आचार्यले सहकारीलाई बलियो बनाउन सहकारीका सेयर सदस्यहरु सक्रिय रुपमा लाग्नुपर्ने बताए ।
नगरपालिकाकी उपप्रमुख रीताकुमारी चौधरीले महिलाहरुलाई शसक्तिकरण गर्न र सिपमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइन् । कृषि शाखाबाट बिउपूँजी अनुदानलगायतका कार्यक्रम संचालन हुँदै आएको बताउँदै यस सहकारीको साथमा स्थानिय सरकार संगसंगै रहेको उपप्रमुख चौधरीले बताइन् ।
वडा न. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर, सहकारीका सस्ंथापक बिस्नु ढुंगाना , युनाइटेड बशुउद्देशीय सहकारी सस्थाका अध्यक्ष मुनाराम चालिसे, मेचीकाली राष्ट्रिय दैनिकका जिल्ला संवाददाता पार्वती आचार्य, ज्येष्ठ नागरिक अम्बिका पौडेललगायतले बोल्दै सहकारीले महिलाको आर्थिक शसक्तिकरणको क्षेत्रमा काम गर्दै आएको बताए ।
सहकारीका अध्यक्ष नूमी शर्माले महिलाहरुलाई शसक्तिकरण बनाउन सहकारीमार्फत विभिन्न सिपमूलक कार्यक्रमहरु सञ्चालन गरी व्यवसायी बनाउन सफल भएको बताइन् ।
कार्यक्रममा संथाका सचिव सुनिता सेनले प्रगती प्रतिवेदन प्रस्तुत, कोषध्यक्ष नमुना पौडेलले आयव्य विवरण प्रस्तुत, व्यवस्थापक विद्या शर्माले आर्थिक प्रतिवेदन र लेखा समितिको आन्तरिक प्रतिवेदन लेखा समिति संयोजक बिनिता आचार्यले प्रस्तुत गरेका थिए ।
व्यवस्थापक शर्माले सहकारीको आम्दानी १ करोड ६९ लाख ४ हजार ६ सय ८३ रुपैंया पुगेको बताइन् । संस्थामा अहिले ८ सय १३ शेयर सदस्यहरु आबद्ध छन् । ज्येष्ठ नागरिक सदस्य, बचतकर्ता, असल ऋणी, असल उद्यमीलाई सम्मान गरिएको थियो । नव निर्वाचित अध्यक्ष पाण्डेले सहकारीलाई अगाडि बढाउनका लागि लागिपर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रम सहकारीका अध्यक्ष शर्माको अध्यक्षता, उपाध्यक्ष रमा पाण्डेको स्वागत तथा सचिव सुनिता सेनको सञ्चालनमा सम्पन्न भएको थियो ।