२६ सयबाट सुरु भएको सहकारीमा ३० वर्षमा साढे ३ अर्बको पुँजी

मेचीकाली संवाददाता

१६ माघ २०८०, मंगलवार
961 shares

अमृत गिरी
बुटवल । दीर्घकालीन रणनीति बनाएर सहकारी सिद्धान्तमा आधारित रहेर आपसी एकता र इमान्दारितालाई आत्मसात् गरियो भयो भने सफलता हासिल हुन्छ भन्ने गतिलो उदाहरण बनेको छ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड ।

देशका विभिन्न ठाउँमा सहकारीहरु समस्याग्रस्त रहेका बचतकर्ताको रकमसमेत हिनामिना भइरहेका समाचार आइरहेका बेला सामूहिक सहकारीमा भने यो समस्या देखिएको छैन । बरु, सेवा केन्द्र विस्तार र दीर्घकालीन रणनीतिको सकारात्मक प्रभाव परेको देखिन्छ ।

विसं. २०४९ सालको पुस १ गते सामूहिक विकास कार्यक्रम नामको संस्थाबाट सहकारीका रुपमा रुपान्तरित भई सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड यसक्षेत्रको अब्बल सहकारीका रुपमा दरिएको छ । २०५० साल माघ १७ गते तत्कालिन डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएको यो सहकारी रुपन्देही जिल्लाको पहिलो बचत तथा ऋण सहकारी मानिन्छ । २६ जना अगुवा मिलेर शंकरनगरमा २ हजार ६ सय शेयर पुँजी जम्मा गरेर सुरुमै दुई सय जना सदस्य बनाएर सहकारी संस्था सुर भएको थियो । अहिले यसको पुँजी बृद्धि भएर साढे तीन अर्ब पुगेको छ ।

त्यसबेलाका अग्रजहरुको त्यो दुरगामी सोंच र निरन्तरको समपर्णले सहकारीलाई अहिलेको अवस्थामा स्थापित हुने मौका मिलेको हालका अध्यक्ष सुरेन्द्र बर्माको भनाइ छ । वित्तीय संस्थाहरु थोरै रहेका र चर्को ब्याज दर रहेका समयमा समुदायलाई सहज र सुलभ ब्याज दरका वित्तीय सहायता दिने उद्देश्यले यो सहकारीको स्थापना अध्यक्ष बर्माको स्मरण छ ।

जिल्लाभर कार्यक्षेत्र, कृषिजन्य उद्यम र व्यवसायमा लगानी
रुपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको यो सहकारीले अधिकांश ऋण लगानी व्यवसाय र उद्योग क्षेत्रमा लगानी गर्ने गरेको सहकारीका अध्यक्ष बर्माको भनाइ छ । कृषिजन्य उद्यम, व्यवसायका अतिरिक्त सामाजिक कार्य र शैक्षिक क्षेत्रमा बढी कर्जा लगानी हुने गरेको छ ।

बचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो नै रुपन्देहीको पहिलो सहकारी हो । मासिक दुई सय रुपैयाँ बचत संकलनबाट सुरु भएको यो सहकारी अहिले शेयर पुँजी र कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो शेयर पुँजी र कारोबार हुने सहकारीका रुपमा स्थापित भएको छ ।

अहिले सहकारीमा जम्मा सदस्य १० हजार ८ सय जना रहेका छन् भने शेयर पुँजी ३२ करोड ९० लाख तथा जगेडा कोष २३ करोड ६५ लाख र अन्य कोषहरु १३ करोड १० लाख रहेको छ । सहकारीको जम्मा निक्षेप दुई अर्ब ४६ करोड ८३ लाख रुपैयाँ रहेको छ । सहकारीमा रहेको निक्षेप रकममध्ये जम्मा एक अर्ब ६० करोड ६५ प्रतिशत नियमित बचतको अंश रहेको सहकारीका सचिव मिनप्रसाद पोख्रेलले बताए । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेको र लगानीको रकम जोखिमयुक्त नरहेको सचिव पोख्रेलको भनाइ छ ।

६० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा
सहकारीले उत्पादनमूलक क्षेत्रमा करीव ६० प्रतिशत ऋण प्रवाह गरेको जनाएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीका अनुसार सहकारीले दुई अर्ब ५१ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेको छ । ज्ञवालीले सहकारीमा तरलता २५ प्रतिशतको हाराहारीमा रहेको र त्यो करिब ५८ करोड ५० लाख मात्र रहेको बताए । ‘बचतमा उच्चतम व्याजदर र ऋणमा न्यूनतम व्याजदर कायम गरिएको छ र स्पे्रड दर जम्मा ३.३५ प्रतिशत रहेको छ जुन वित्तीय संस्थाले गरेको राम्रो व्यवस्था हो,’प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको दाबी छ ।

ऋणको सदुपयोग र उद्यम विकास
सहकारीबाट हजारौं जनाले ऋण लगेर विभिन्न व्यवसाय र उद्योग चलाएका छन् । यीमध्ये यसक्षेत्रकै अब्बल अचार उद्योगका रुपमा स्थापित लकासी अचार उद्योग रहेको छ । उक्त उद्योगका सञ्चालक पार्वती गिरीले यहीँ सहकारीबाट तालिम लिएर सीपयुक्त बनेकी थिइन् भने वित्तीय सहयोग लिएर उद्यमी बनेकी छन् । अहिले उनी यसक्षेत्री अब्बल महिला उद्यमीका रुपमा स्थापित छन् ।

पहिलो सूचना प्रकाशन सम्मको अवस्थामा पुगेका एक दुईवटा घटनाबाहेक सहकारीबाट ऋण लगेका कसैको पनि धितो लिलामी गर्नु नपरेको सहकारीका अध्यक्ष बर्माको भनाइ छ । ‘सहकारीले ऋण लगानी गर्न निश्चित मापदण्ड र विधि बनाएको छ र त्यसलाई अक्षरस पालना गरिएको छ, त्यसअनुसार काम गर्दा कसैको पनि घरजग्गा र सम्पत्ति लिलाम गर्नुपरेको छैन,’ अध्यक्ष बर्माले भने,‘बरु ऋणको सही सदुपयोग भएको छ ।’

सहकारीबाट लगेको ऋणको सदुपयोग भए/नभएको अनुगमन, समयमै ऋण चुक्ता असल ऋणीलाई हरेक वर्ष सम्मान गर्ने परम्पराले सहकारीले प्रगति गर्न सफल भएको सहकारीका पूर्वअध्यक्ष चुरामणि खरेलको भनाइ छ । सहकारीबाट कैयौं जनाले ऋण लगेर विभिन्न व्यवसाय र उद्योग चलाएको र अधिकांश सफल उद्यमी तथा व्यवसायीका रुपमा स्थापित भएको पूर्वअध्यक्ष खरेलको दाबी छ ।

अब्बल बैंकसरहको सुविधा र सेवा प्रवाह
संस्थाको तिलोत्तमा नगरपालिका वडा नं. ३ शंकरनगरमा आफ्नै सुविधा सम्पन्न ३ तल्ले पक्की भवन रहेको छ भने तिलोत्तमा वडा नं ७, भलवारी र रुपन्देहीकै फर्साटिकरमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीमा १५ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा समिति र २५ जनाको कर्मचारीसहितको टोलीबाट संस्थामा कार्यसञ्चालन हुँदै आइरहेको छ ।

आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ । साथै सदस्यहरूको सुविधाको लागि छुट्टाछुट्टै विभागको समेत गठन गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

पटक–पटक पुरस्कार र सम्मान
यो सहकारीलाई ०६४ सालमा डिभिजन सहकारी कार्यालय रुपन्देहीबाट जिल्लामै उत्कृष्ट सहकारीको रुपमा, ०६७ सालमा राष्ट्रिय सहकारी बैंकबाट पश्चिमाञ्चल क्षेत्रमै उत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा, ०७० सालमा राष्ट्रिय सहकारी महासंघले नेपालमै उत्कृष्ट सहकारीको रुपमा छनोट गर्दै उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार ०७० तथा राष्ट्रिय सहकारी बैंकले लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी २०७३ बाट पनि सम्मानित गरेको थियो ।

सहकारीका सूचना अधिकारी मरासिनीका अनुसार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा २०७६ सालमा पुनः राष्ट्रिय सहकारी महासंघबाट प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट समेत सम्मानित भएको छ । यसैगरी २०७६ सालमा नेफ्स्कूनबाट प्रदेशमा उत्कृष्ट सहकारी संस्थाको रूपमा पुरस्कृत भएको थियो ।

बचत, ऋण र सामाजिक सुरक्षाका उदाहरणीय कार्यक्रम
संस्थाले सदस्यहरूका लागि नियमित बचत, विशेष बचत, जेष्ठ सदस्य बचत बाल बचत, चेलीबेटी बचत, आवधिक बचत कार्यक्रम सञ्चालन गरेको छ भने चालू आवमा रेमिटान्स बचत, पेन्सन बचत सञ्चालन गरेको छ । यस्तै सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नको निम्ति निर्वाहमुखी र उत्पादनमुखी गरी दुई खालको कर्जा प्रवाह गर्दै आएको छ ।
निर्वाहमुखीअन्तर्गत निक्षेप कर्जा, भैपरी कर्जा, सामाजिक कर्जा, जग्गा तथा आवा कर्जा, मोटरसाइकल कर्जा, औषधी उपचार कर्जालगायतका सुविधा उपलब्ध गराउने गरेको छ भने उत्पादनमुखीअन्तर्गत व्यावसायिक, उद्योग, लघु उद्यम व्यवसाय, कृषि आदिमा समेत कर्जा प्रवाह गरेको सचिव पोख्रेलको भनाइ छ ।

सहकारीले सदस्य शोक अनुदान, पारिवारिक शोक अनुदान, दुर्घटना मृत्यु बिमा जोखिम बहन, सदस्य लाभ योजना, नयाँ शिशु स्वागत कार्यक्रम, शेयर सदस्यको परिवारमा छात्रवृत्ति कार्यक्रम तथा औषधी उपचार कर्जा सुविधा र सदस्यहरूलाई पुरस्कार तथा सम्मानका नमुना कार्यक्रमसमेत निरन्तर सञ्चालन गर्दै आएको सचिव पोख्रेलले बताए ।

३१ औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम
सहकारीले स्थापनाको ३१ औं वर्ष प्रवेश गरेको अवसरमा साताव्यापी विभिन्न रचनात्मक कार्यक्रमहरु गरेको सहकारीका सञ्चालक राजकुमार गिरीले बताए । सहकारीका सामाजिक सेवा उपसमितिका संयोजकसमेत रहेका सञ्चालक गिरीका अनुसार ३१ औं वार्षिकोत्सवकै अवसरमा सहकारीले सेवा केन्द्र विस्तार गर्ने र विस्तारित मञ्चमार्फत विभिन्न ठाउँमा वित्तीय साक्षरताका कक्षा सञ्चालन गरेको छ । मंगलबार भएको रक्तदानमा ३५ जनाले रक्तदान गरेका छन् । यसैगरी अन्तक्र्रिया तथा छलफल कार्यक्रम, वक्तृत्वकला र रक्तदानलगायतका कार्यक्रम गरिएको छ । माघ १७ गते स्थापना दिवसका अवसरमा मूल समारोह हुनेछ ।