रमेश पराजुली
बुटवल, फागुन २४ । सडक सुरक्षाका लागि पैदलयात्रुलाई लक्षित गरी बुटवल– भैरहवा ‘सिक्स लेन’ सडकमा बनाइएका आकाशे पुलहरू खासै प्रयोगमा आएका छैनन् । पैदलयात्रुहरू आकाशे पुलको प्रयोग नगरी जथाभावी बाटो काट्ने गरेका छन् । ट्राफिक सचेतना नहुँदा आकाशे पुलमुनिबाटै पैदलयात्रु सडक काट्ने गरेको देखिन्छ । जसले गर्दा सडक दुर्घटनाको जोखिम बढेको छ । रूपन्देही प्रदेश पाँचको राजधानी भएसँगै यहाँ सवारी साधानको चाँप ह्वात्तै बढेको छ । नजिकै आकाशे पुल हुँदापनि पैदल यात्रीहरु हतार–हतारमै सडक बाटै बाटो काटिरहेका देखिन्छन् ।
प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यलय, बुटवलका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले आकाशे पुल निर्माण भएका ठाउँमा पनि पैदल यात्रुहरुले सडकबाटै जोखिम मोलेर बाटो काट्ने गरेको बताए । ‘ट्राफिक प्रहरीले धेरै भीडभाड हुने बुटवलको अस्पताल लाइन, मिलनचोक, राजमार्ग चौराहा, कालिका चोकलगायतका स्थानहरुमा विशेष निगरानीका साथ पैदल यात्रीहरुलाई सचेत गराए पनि उनीहरूले भनेको मान्दैनन्’ डिएसपी शाहले भने ।
उनले थपे, ‘बुटवलमा बसोबास गर्नेभन्दा पनि बाहिरबाट आएकाहरुलाई आकाशे पुल निर्माण भएका ठाँउमा पुलबाट सडक पार गर्नुपर्छ भनेर बुझाउन गाह्रो भएको छ । उनीहरूले नै पटक–पटक यस्तो गल्ती दोहोराउने गरेका छन् ।’ स्कूल क्याम्पसका विद्यार्थीहरुमा आकाशे पुलबाट सडक पार गर्नुपर्छ भन्ने ज्ञान बढेपनि अन्य पैदल यात्रीहरुलाइ बुझाउन समस्या छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी एक्लै लागेर नहुने भएकोले सचेतनामूलक कार्यक्रमहरु स्कुल, कलेजसँगै घर–घरमा गर्नुपर्नेमा शाहले जोड दिए ।
बुटवलदेखि बेलहिया सडकमा अहिले ९ वटा आकाशे पुल निर्माण भएका छन् । दश वटा आकाशे पुल निर्माण गरिने भए पनि सडक विस्तार गर्ने काम रोकिँदा ट्राफिकचोमा निर्माण गरिने आकाशे पुलको काम रोकिएको छ । यहाँका सबै आकाशे पुल अपांगमैत्री छन् ।
आकाशे पुल ११ करोड ११ लाख १५ हजार २ सय २५ रुपैयाँमा बनेका हुन् । बुटवलमा अस्पताललाइन (भुड्कीचोक), मिलनचोक, राजमार्ग चौराहा, कालिका स्कुल, योगीकुटी र ड्राइभरटोलमा आकाशे पुल छन् । त्यस्तै भैरहवाको बुद्धचोक, देवकोटाचोक र आँखा अस्पतालमा आकाशे पुल छन् ।
आकाशे पुल बनेपनि पैदल यात्रुहरुलाई आकाशे पुलबाट बाटो काट्नुपर्नेमा सचेतना दिन आवश्यक भने देखिन्छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्न र सडक प्रयोगकर्ताहरुको सहजताका लागि सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पूर्वाधारलगायत नीति नियम निर्माणको काम हुने गरेको छ । तर, पनि यी यस्ता उपलब्ध स्रोत र साधनको व्यवहारिक र वैज्ञानिक ढंगबाट प्रयोेग हुनु भने चुनौतीको विषय नै बनिरहेको छ । ट्राफिक प्रहरीसँगै अन्य संघ संगठनहरुले समय समयमा दुर्घटना न्यूनीकरण गर्न भन्दै सचेतनामूलक कार्यक्रमहरु गरिरहेका हुन्छन् । तर, त्यस्ता कार्यक्रमहरुले पैदल यात्रुहरुको व्यवहारमा खासै परिवर्तन गरेको पाइँदैन ।
पैदल यात्रीहरुले ट्राफिक नियमविपरीत जथाभावी बाटो काट्दा धेरै दुर्घटना हुने गरेका छन् । यसको रोकथामका लागि स्वयम पैदल यात्री जिम्मेवार हुनुपर्छ र ट्राफिक प्रहरीले समेत पैदल यात्रीहरुलाइ सचेत गराउनु जरुरी छ ।