ज्ञानगंगा पाठशालामा खेल सप्ताह समापन

मेचीकाली संवाददाता

२ फाल्गुन २०८०, बुधबार
83 shares

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालामा मंगलबार एक कार्यक्रमसँगै खेल सप्ताह कार्यक्रम समापन भएको छ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने नारासँगै विद्यार्थीहरूमा चौतर्फी प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले खेल सप्ताह कार्यक्रम संचालन गरिएको विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपानेले बताए।

खेल सप्ताह कार्यक्रमलाई चार सदनमा विभाजन गरी हरेकलाई फरक फरक विद्यामा प्रतिष्पर्धा गराइएको थियो । विद्यार्थीहरूमा शैक्षिक ज्ञानसँगै खेलमार्फत व्यक्तित्व विकास गर्नुका साथै राष्ट्र‌को पहिचानसमेत अन्तरास्ट्रिय जगतमा पुर्‍याउन सकिने उद्देश्यले खेल सप्ताह आयोजना गरिएको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले बताए।

खेलाडी विद्यार्थीलाई प्रि(नर्सरीदेखि कक्षा दुईसम्म विद्यालयको खेल मैदानमा प्रतिस्पर्धा गराइएको थियो। कक्षा ३ देखि कक्षा १०सम्मका खेलाडी विद्यार्थीहरूलाई तिलोत्तमाको डिङ्‌गरनगरको खेल मैदान र क्रिकेट खेल ज्योतीनगरको खेल मैदानमा भव्यताका साथ सम्पन्न भएको विद्यालयका सह प्रायार्य केशवराज पन्तले बताए।

खेल सप्ताह कार्यक्रममा फरक फरक सदनका छात्र र छात्रालाई भलिबल, फुटबल, क्रिकेट, खोखो, डोरी तान्ने जस्ता समूहगत खेल खेलाइनुका साथै व्यक्तिगत प्रतिस्पर्धामा १०० मिटर, २०० मिटर र ४०० मिटर दौडका खेल तथा रिले दौड, सट पुट, हाइ जम्प, लङ जम्प लगायतका अनेकौं खेलमा मैत्रीपूर्णरुपमा खेल सञ्चालन भएको अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले बताए।

विविध खेल सञ्चालनमा विद्यालयका शिक्षक मनिष पौडेल, निर्मला थापा, रिसभ भण्डारी, कमल थापा, लक्ष्मी जि।सी।, प्रतिभा गिरी, सन्ध्या धिमिरे, सुनिल घिमिरे, डि। एन। पाण्डे, विक्रम खत्री लगायतले सहजीकरण गरेका थिए ।

खेल सप्ताह कार्यक्रम अन्तर्गत १३७ अङ्‌क पाएर अन्नपूर्ण सदन प्रथम, १०४ अङ्‌क ल्याएर माछापुच्छ्रे सदन द्वितीय, ९४ अङ्‌क ल्याएर धौलागिरी सदन तृतीय र ८२ अङ्‌कका साथ सगरमाथा सदन सान्त्वना हुन सफल भएका थिए।

विजयी भएका सदन तथा खेलाडीलाई एक कार्यक्रमसँगै मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । मेडल तथा प्रमाणपत्र वितरण विद्यालयका प्रबन्ध निर्देशक, प्राचार्य तथा तिलोत्तमा नगरपालिका वडा नं। ४ का अध्यक्ष हरि बहादुर क्षेत्रीले गरेका थिए। क्षेत्रीले उक्त कार्यक्रममा बोल्दै खेलाडीलाई खेलसँगै अनुशासनमा ख्याल राखी राष्ट्रप्रति समर्पित हुन विद्यार्थीलाई सचेत गराउनेबारे मन्तव्य दिएका थिए ।

विद्यालयमा सरस्वती पूजाको सजावट पूर्ण रूपमा गरिएको साथै कागुन ३ र ४ मा विद्यार्थीका फरक फरक क्रियाकलाप गरिने र ५ गते जिल्लाव्यापी व्याडमिन्टन प्रतियोगिता गरिने तथा फागुन ७ गते विद्यालयको वार्षिक उत्सव तथा शैक्षिक महोत्सव गरिने विद्यालयका शिक्षक कुलचन्द्र पुरीले बताए।