अर्घाखाँचीमा फागुन १३ गतेदेखि दादुरा रुवेला खोप लगाइने

मेचीकाली संवाददाता

४ फाल्गुन २०८०, शुक्रबार
254 shares

अनिल नेपाली
अर्घाखाँची । अर्घाखाँचीमा जिल्ला स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप अभियान सञ्चालनको लागि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी बुधबार देखि सन्धिखर्कमा सुरु भई शुक्रबार समापन भएको छ ।

फागुन १३ गते देखि १७ गतेसम्म जिल्लाका ६१ वटा वडामा खोप अभियान सञ्चालन गर्नको लागि कार्यक्रम गरिएको हो ।अर्घाखाँचीका ९ महिनादेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिइने भएको छ । स्थानीय तह र स्वास्थ्य संस्थास्तरसम्म सञ्चालन गरिने दादुरा रुबेला खोप अभियान सञ्चालनको लागी सहजकर्ताको क्षमता अभिवृद्धि गर्ने, अभियान मार्फत नियमित खोप सुदृढीकरणको प्रक्रिया र औचित्यको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले बताए ।

कार्यक्रममा गुणस्तर अनुगमन अधिकृत वाटर एड स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका मनोज नेपाल (खुसीखुसी) ले प्रदेश, जिल्ला र पालिका स्तरीय सूक्ष्म योजना अभिभुखिकरण तथा सहजिकरण नियमित रुपमा खोपसँगै सरसफाइ प्रवर्द्धनको संयुक्त अनुगमन सहयोगमा सुपरीवेक्षणको भूमिका निर्वाह गर्दै सहभागीहरूलाई उत्प्रेरणा प्रदान गरिरहेका छन् ।

त्यस्तै खोप अभियानको औचित्य, कार्यनीति र खोपमा जिल्लाको अवस्थाको बारेमा स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विजय बरालले सहजीकरण गरेका छन् । कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख र वडामा रहेका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा. अशोक शाह, सहजकर्ता मनोज नेपाल, लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख शिव नेपालीको अध्यक्षता, कार्यक्रम सुपरभाइजर विजय बरालको स्वागत र कोल्ड चेन सुपरभाइजर सुदनराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।