बुटवल, बैशाख २ । उपभोक्ता अधिकारको आन्दोलनका अगुवा तथा यस मेचीकाली सन्देशका पूर्व कार्यकारी प्रमुख नर्बू लामा ‘नथाक’को निधन भएको छ । लामो ७३ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि रोगले थलिएका लामाको अस्ती बैशाख १ गते विहान बुटवल–१०, कालिकानगरस्थित निवासमा निधन भएको हो । सोही दिन नै उनको परम्परा अनुसार बुटवलमा अन्त्येष्टि भएको छ ।
यसैपनि नयाँ वर्षको रौनकलाई कोरोना कहरले छोपिरहेका बेलामा एउटा निष्ठान नागरिक अगुवाको निधनले धेरैलाई स्तब्ध बनाएको छ । मेचीकाली सन्देश परिवार नागरिक अगुवा स्व लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
लामाको निधनमा शोक प्रकट गर्दै सामाजिक सञ्जालहरु भरिएका छन् । खासगरी उपभोक्ता हीतको आन्दोलनमा सक्रिय रहेका र बाँचुञ्जेल सोही अभियानमा सरिक रहेका लामालाई धेरैले उपभोक्ता अधिकारका पिता नै मान्छन् ।
कोरोनाको कहर र सरकारले जारी गरेको बन्दाबन्दी बीच लामाको अन्तिम यात्रामा सहभागी हुन नपाएको, निधनले स्तब्ध बनाएको, भावूक बनाएको भन्दै धेरैले श्रद्धासुमन व्यक्त गरेका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नं. १० अध्यक्ष पदमबहादुर थापासहित केही नागरिक अगुवाहरु बिहानै लामाको निवासमा पुगेका थिए । लामा पुराना बामपन्थी नेतासमेत हुन ।
उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका अध्यक्षसमेत रहेका बुटवलका प्रमुख शिवराज सुवेदीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए । लामाको निवासमै संक्षिप्त श्रद्धाञ्जली गरिएको थियो । लामाको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै नेकपा जिल्ला अध्यक्ष सुवेदीले उपभोक्ता अधिकारलाई संविधानमै व्यवस्था गराउने काममा लामा जस्ता अगुवाको भूमिका रहेको बताए । सुवेदीले सामाजिक सञ्जालमासमेत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसैबीच उपभोक्ता हीत संरक्षण मञ्चका केन्द्रीय अगुवा अधिवक्ता ज्योति बानियाँले नर्बू लामालाई उपभोक्ता अधिकारको आन्दोलनका अगुवा भनेका छन् । उनले लामाले बुटवलमा रहेर देशभरका मञ्चका साथिहरु, नियमन निकायका अधिकारिहरु, उपभोक्तालाई सकृय पारेको, मञ्चको सस्थागत बिकासको लागि अतुलनीय योगदान गरेको उल्लेख गरेका छन् । ‘आखिर मानिसको जाने बाटो त्यही हो तर असल मानिसहरु ससारबाट बिदा हुँदा यो ससारमा रहेकाहरुलाई कति पीडा र बढी सम्झना हुदोरहेछ, आज यहीँ अनुभुती भएको छ ।’ बानियाँले उल्लेख गरेका छन् ।
मञ्चलाई रुपन्देहीमा स्थापना गर्ने, सक्रिय बनाउने र अभियानलाई राष्ट्रिय स्तरमा पु¥याउन लामासंगै सुरुदेखि नै काम गर्दै आएका उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का अध्यक्ष तथा यसक्षेत्रका समाजसेवी तेजकुमार पाठकले लामाको निधनले अपुरणीय क्षति पुगेको उल्लेख गरे ।
उपभोक्ता अधिकारको आन्दोलनमा सक्रिय रहेका पाठकले लामाले आफ्नो सबै ब्यक्तिगत कामलाई त्याग गरेर स्वच्छ बजार र उपभोक्ता हितको लागि अनबरत काम गरेको स्मरण गरे । पाठकले लामाको उपचारका लागिसमेत लामो समयदेखि सहयोग गर्दै आएका थिए ।
लामाले उपभोक्ता अधिकारको आन्दोलनमा गरेको योगदानलाई अतुलनीय रहेको र यस्लाई सबैले उच्च मुल्यांकन गर्नुपर्ने भन्दै आफुहरुले निरंतरता दिने प्रयास गर्ने अध्यक्ष पाठकको भनाइ छ । पाठकले लामाको निधनको शोकलाई शक्तिमा बदलेर र लकडाउनको अवस्था अन्त्य भएपछि प्रदेश ५ का सबै जिल्लामा उपभोक्ता अधिकारको आन्दोलन सशक्त पारिने बताए ।
लामासंगै लामोसमयसम्म मेचीकाली दैनिक र मञ्चमा काम गरेका वरिष्ठ पत्रकार डीआर घिमिरेले लामाले तयार पारेका बौद्ध दर्शनका चित्रहरुलाई स्थानीय तह, प्रदेश सरकारसमक्ष लैजाने देखि विरामी भएदेखि उपचार गराउनेसम्मका काममा सरिक रहेको स्मरण गरेका छन् ।
‘कलाको क्षेत्रमा पनि उहाँको अतुलनीय योगदान छ । तर, विडम्वना ती कलाको महत्व सत्ताम हुनेले वुझेनन् । वुद्वको जीवनचक्र असाध्यै मेहनत गरेर वनाइएका कला थिए । ती कुनै एउटा ठाउँमा राख्न सकेको भए त्यसको महत्व कति हुन्थ्यो होला’ घिमिरेले गरेको सामाजिक सञ्जालमा यो उल्लेख छ ।
घिमिरेले लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा ती कलाका कुरा उठेको र प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीलेसमेत विशेष चासो दिएको उल्लेख गरेका छन् । मन्त्री गिरी स्वयम लामालाई भेटन गएका थिए । लामाका कलात्मक मूर्तिलाई एक ठाउँमा राख्न पाए हुन्थ्यो भन्ने विषय मन्त्री गिरी स्वयमले नै उठाएका थिए । यो कुरा पत्रकार घिमिरेले उल्लेख गरेका छन् । मेचीकाली परिवारका तर्फबाट लामाप्रति हार्दिक श्रद्वासुमन !
अलबिदा नर्बु लामा !
