सैनामैना पर्रोहा परमेश्वर नमुना माविः दूरदर्शी नेतृत्व र असल सहकार्यले अब्बल विद्यालय

मेचीकाली संवाददाता

१४ फाल्गुन २०८०, सोमबार
262 shares

अमृत गिरी

सैनामैना । सैनामैना नगरपालिका–१, रानीबगिामा रहेको सैनामैना पर्रोहा परमेश्व मावि एक समय विद्यार्थी अभावमा बन्द हुने कि मर्ज हुने भन्ने अवस्थामा पुगेको थियो । पुराना र जीर्ण भवन, उस्तै दुर्दशाका फर्निचर, निरन्तर घट्दो दरमा रहेका विद्यार्थी, भर्ना भएपनि बिचमै छाड्ने प्रवृत्ति र नजिकै संस्थागत विद्यालयहरुको प्रभाव र अभिभावकको समेत उदासिनताले विद्यालय संकटग्रस्त थियो ।

तर, पछिल्लो केही वर्षयता यो विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा चिनिन थालेको छ र हिजोको त्यो दुर्दशा अहिले एकादेशको कथाजस्तो भएको छ । एकजना दक्ष, सक्षम, लगनशील तथा दूरदर्शी निर्णय क्षमतासहितको प्रधानाध्यापक र व्यवस्थापन समितिको नेतृत्वदायी भूमिका र प्रभावकारी ‘टिम वर्क’ ले यो विद्यालयको अवस्था अहिले कायापलट भएको छ ।

लगनशील, सहकार्य र अभिभावकको समेत अपनत्वले सही नतिजा आउँछ भन्ने कुराको गतिलो उदारण अहिले यहीँ सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय बनेको छ । विद्यालय परिसरका अभिभावक मात्रै होइन, यसक्षेत्रका नागरिक अगुवाहरु, शैक्षिक व्यक्तित्वहरु, जनप्रतिनिधिसमेतले यहीँ विद्यालयको उदाहरण दिने गर्छन् ।

एक समय सयभन्दा पनि कमको संख्यामा रहेका विद्यार्थी, जीर्ण विद्यालय भवन अहिले एकादेशको कथा भएको छ । अहिले विद्यालयमा झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् भने व्यवस्थित कक्षाकोठासहितका आधुनिक भवन निर्माण भएका छन् र नयाँ कक्षा कोठमात्रै झण्डै ३५ वटा थप भएका छन् । विद्यालयमा शिक्षकका रुपमा जब २०७४ सालमा नेत्रलाल पुरीको आगमन भएपछि उनै प्रधानाध्यापकको नेतृत्वमा असल टिमवर्क भएपछि उस्तै जागरुक रहेको व्यवस्थापन समितिको सहकार्यमा विद्यालयको कायापलट भएको छ । विद्यालयका भौतिक संरचना मात्रै होइन, शैक्षिक गुणस्तरमा समेत अब्बल सावित भइरहेको छ ।

विद्यालयका आधुनिक भवन, ल्याब निर्माणदेखि फर्निचरसम्मका काममा यसक्षेत्रका जनप्रतिनिधि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको अगुवाईमा आवश्यक बजेटको प्रबन्ध भएको थियो । विद्यालयले माग गरेका संरचना निर्माणका लागि जनप्रतिनिधका रुपमा नेता पौडेलले गरेका निरन्तरका पहल अहिले सार्थक बनेका छन् ।
सोही आधारमा अहिले विद्यायलका भवनहरुको स्वरुप नै फेरिएको छ । ‘कुन हालतमा थियो, हेर्दा हेर्दै यस्तो भव्य बन्यो’ नजिकै पसल गर्दै आएका व्यवसायी गोपाल पन्त भन्छन्,‘दूरदर्शी नेतृत्व र असल सहकार्यबाट विद्यालयको कायापलट हुने कुराको ताजा उदाहरण यहीँ स्कुल बनेको छ ।’ पन्तजस्ता कैयन् अभिभावकहरुले हेर्दाहेर्दै स्कुलमा आएको परिवर्तनको गद्गद् खुशी छन् ।

माथिल्ला निकायमा नेता पौडेलसहित लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा माननीयहरु र स्थानीय तहमा पूर्वमेयर चित्रबहादुर कार्कीको नेतृत्वमा यहाँको भौतिक संरचना निर्माणमा विशेष पहल भएको थियो । अहिलेका मेयर फणेन्द्र शर्माले पनि नमुना विद्यालयका लागि आवश्यक पर्ने बजेटका लागि कन्जुसाइँ नगर्ने प्रतिबद्धता जनाएका छन् ।

पूर्वसामाजिक विकास मन्त्री तथा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल विद्यायलको स्वर्ण महोत्सव समारोहमै आएर उत्कृष्ट र सबल विद्यालयका रुपमा विकास भइरहेको भन्दै प्रशंसा गरे । सैनामैनाकै बासिन्दासमेत रहेका बरालले आफ्नो तर्फबाट विद्यालयको थप तरक्की र शैक्षिक गुणस्तर विकासका लागि पहल हुने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारका पूर्वमन्त्री तथा एमालेका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले पनि आफ्नै निर्वाचन क्षेत्रमा रहेको नमुना विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि केन्द्रित रहने बताए ।

नेत्रलाल पुरी, प्रधानाध्यापक

नमुना विद्यालयको गरिमा कायम राख्न सोहीअनुसारको शैक्षिक गुणस्तर विकास गर्ने र नैतिक, प्राविधिक, व्यवसायिक, प्रयोगात्मक शिक्षा प्रदान गर्ने, मनोवैज्ञानिक, स्वास्थ्य एवम् सरसफाइ शिक्षा, यौन शिक्षा, मनोपरामर्श शिक्षा प्रदान गर्ने, विद्यालयको संस्थागत दक्षताका लागि विद्यालयले विभिन्न आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने विद्यालयको उद्देश्य रहेको प्रधानाध्यापक पुरीको भनाइ छ । वि.सं.२०३१ सालमा सामान्य ढुंगा, माटो र काठबाट निर्माण गरी कक्षा १ सञ्चालन गरी स्थापना भएको विद्यालयमा अहिले शिक्षा, वाणिज्य र विज्ञान विषयमा कक्षा १२ सम्मको अध्यापन हुँदै आएको छ । विज्ञान विषय सुरु गरेको पहिलो वर्ष नै शतप्रतिशत नतिजासहित जिल्लामै अब्बल भएको थियो ।

अहिले विद्यालयले स्वर्णजयन्ति समारोह मनाइरहेको छ । स्वर्ण जयन्तिका अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको छ । विसं. २०३४ सालमा निम्न माध्यमिक तह र विसं २०५२ सालमा माध्यमिक तह (९–१०) को अनुमति प्राप्त गरी माध्यमिक शिक्षा प्रदान गरेकोमा विसं. २०६७ सालदेखि शिक्षा र बाणिज्य संकायमा कक्षा ११ र १२ सञ्चालन भइरहेकोमा २०७८ सालदेखि विज्ञान संकायसमेत थप गरी नगरपालिकाकै विज्ञान संकाय सञ्चालन गर्ने पहिलो विद्यालय बनेको छ । विसं.०७६ मंसिर ५ मा साविक सैनामैना मावि र साविक पर्रोहा परमेश्वर आधारभूत विद्यालय समायोजन गरी हाल सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय कायम भएको छ ।

सुरक्षित, सम्मानजनक र समावेशी वातावरणमा उच्च गुणस्तरको शिक्षा र बाल हेरचाह प्रदान गर्ने उद्देश्यसहित शैक्षिक कार्यक्रम सञ्चालन गरिएको र प्राविधिक धारका विषयहरु थप गरी रोजगारी सिर्जनामा केन्द्रित रहेर अध्ययन अध्यापन गर्ने योजना रहेको प्रधानाध्यापक पुरीको भनाइ छ ।

शिवलाल बस्याल, अध्यक्ष

भविष्यको सफलताको लागि विद्यार्थीहरुलाई शिक्षित गर्न, सार्वजनिक शिक्षा प्रणाली भित्र विद्यार्थीहरुको विविधतायुक्त जनसंख्याको लागि शैक्षिक उत्कृष्टता र समानता प्रवद्र्धन गर्न, अभिभावक, विद्यार्थी र शिक्षकहरुको लागि सामुदायिक विद्यालय प्रणालीभित्र शैक्षिक अवसरहरुको छनोट प्रदान गर्ने लक्ष्य लिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले बताए । संस्थागत सुशासनका लागि चुस्तदुरुस्त प्रविधिमैत्री प्रशासनिक संरचना निर्माणका लागि आवश्यक नीति निर्माण गरी व्यवहारमूलक बनाई प्रयोगमा ल्याउने उद्देश्यले सोहीअनुरुपका कार्यक्रम अगाडि बढाइएको अध्यक्ष बस्यालको भनाइ छ । विद्यालय र समुदायका बिचको सम्बन्धलाई थप सौहाद्र्रपूर्ण बनाउँदै मौलिक ज्ञान र व्यवहारिक शिक्षाको विकासमा केन्द्रित रहेर सहकार्यका साथ शैक्षिक कार्यक्रम सञ्चालन गरिएको सहायक प्रअ यमप्रसाद चालिसेले बताए ।

विद्यालयले सञ्चालन गरेका असल अभ्यासहरु
विभिन्न विधाका प्रतिभाशाली विद्यार्थी समेटेर ५ सदस्यीय कक्षा व्यवस्थापन समिति गठन गरिएको छ । विषयगत रुपमा विद्यार्थी–शिक्षकको व्यवस्थापन गरिएको । कक्षा शिक्षकले प्रत्येक विद्यार्थीको व्यक्तिगत विवरण र पारिवारिक विवरण तयार पारिएको छ । प्रत्येक विषय शिक्षकले संक्षिप्त दैनिक पाठयोजना बनाउने, विद्यालयको प्रत्येक विभागले वार्षिक कार्ययोजना तयार गरी प्र.अ.समक्ष बुझाउने र नियमित रुपमा बैठक बसी शैक्षिक कार्यकलापको समीक्षा गर्ने गरिएको छ ।

वार्षिक कार्यतालिका र शिक्षण सुधार योजना निर्माण गरी कार्यान्वयन गरिएको छ भने विद्यालयमा साहित्यिक मञ्च गठन गरी विद्यार्थीद्वारा लिखित कविता, निबन्ध, कथा आदि लेखहरु भित्तेपत्रिकाको रुपमा टाँस गर्ने गरिएको अध्यक्ष बस्यालको भनाइ छ ।
यसैगरी विद्यार्थीको शैक्षिक उपलब्धी सुधार गर्नका लागि हरेक परीक्षाका लागि प्रत्येक विद्यार्थीले आफ्नो टार्गेट मार्कसिट निर्माण गरी कक्षाशिक्षक र अभिभावकद्वारा रुजु गराई सोअनुसार उपलब्धी प्राप्त गर्न विषय शिक्षकले प्रोत्साहित गर्दै आएका छन् ।

अभिभावक र सरोकारवाला पक्षहरुसँग नियमित अन्तक्र्रिया, छलफल तथा परामर्श, शिक्षक तालिम र उत्कृष्ट शिक्षकलाई सम्मान, विद्यार्थीको स्तर पहिचान गरी आवासीय कक्षा, अतिरिक्त कक्षा तथा शनिबार परीक्षा सञ्चालन, पदक तथा पुरस्कारद्वारा विद्यार्थी सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान तथा नियमित प्रोत्साहन, होम भिजिट, मोटिभेसन, काउन्सिलिङका कक्षालाई समेत नियमित गरिएको शिक्षक नारायणप्रसाद गौतमले बताए ।

विद्यालयहाता र कक्षाकोठा भित्र सिसिटिभी क्यामेरा जडान गरी सुपरीवेक्षण गरिँदै आएको छ । समय सन्दर्भ मिलाएर नौलो काम अभियानको थालनी गरिएको र प्रोजेक्टरको प्रयोगसहित प्रविधिमैत्री सिकाइको व्यवस्था गरिएको अर्का शिक्षक हरिप्रसाद पौडेलले बताए । एक शिक्षक–एक ल्यापटपको अवधारणा अगाडि बढाइएको छ भने चुस्त प्रशासन, व्यवस्थित र पारदर्शी अभिलेखका लागि सफ्ट्वेयरसहितको लेखाप्रणाली राखिएको शिक्षक पौडेलको भनाइ छ ।

करिब ९० जना शिक्षक–कर्मचारीहरुले परिभाषित जिम्मेवारी बहन गर्दै आएका छन् । यस्तै इको क्लब, बालक्लब, जुरेस, छात्रा÷छात्र परामर्श समिति, साहित्यिक मञ्च र स्काउटका समितिहरु सञ्चालनमा रहेको छ । सुझाव पेटिका व्यवस्थापन गरिएको छ भने स्थानीय तहको सहयोगमा खाजा, छात्राहरुलाई निशुल्क सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ ।

अभिभावकलाई उच्च सम्मानसहितको आदरभाव, शिक्षक–कर्मचारीको कार्यदक्षताको सूक्ष्मगत मूल्याङ्कन, विद्यार्थीको दक्षताको पहिचान र मूल्यांकन, अनुशासनको निगरानी गरिँदै आएको प्रधानाध्यापक पुरीले बताए ।