गणपतिको सातौँ शाखा योगीकुटीमा

मेचीकाली संवाददाता

१६ फाल्गुन २०८०, बुधबार
79 shares

बुटवल । बुटवलको योगीकुटीमा गणपति मिष्ठान्न भण्डारको सातौं शाखा सञ्चालनमा आएको छ । बुटवलको ट्राफिकचोकमा प्रधान कार्यालय रहेर सञ्चालनाम आएको गणपतिले आफ्ना सातौँ ‘आउटलेट’ योगिकुटीमा सञ्चालनमा ल्याएको हो । बुटवल र तिलोत्तमाका ग्राहकहरुलाई लक्षित गरी योगीकुटी शाखा सञ्चालन गरिएको सञ्चालक नारायण केसीले जानकारी दिए ।

गणपति मिष्ठान्न भण्डारको सञ्चालकमा ६ जना युवाहरु छन् । ट्राफिकचोकसँगै, मिलनचोक, देवीनगर, मुर्गिया, मणिग्राम र ड्राइभरटोलमा गणपतिका शाखा सञ्चालनमा आइसकेका छन् । छिट्टै देवदह, भैरहवा र लुम्बिनीमा पनि शाखा सञ्चालन गर्ने योजनामा आफूहरु रहेको अर्का सञ्चालक मेघराज पन्थले बताए । योगीकुटी शाखामा १ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । जहाँ १७ जनाले पत्यक्ष रोजगारीसमेत पाएका छ । गणपतिको सबै शाखामा गरेर अहिलेसम्म १२ करोड रुपैयाँ लगानी भइसकेको अर्का सञ्चालक डम्बर कुँवरले बताए ।

योगीकुटीको शाखाको बिहीबार बिहान बुटवल उपमहानगरपालिकाका प्रमुख खरेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ । सबै शाखामा गरी १२० जनाले रोजगारीसमेत पाएका छन् । गणपतिका सबै शाखा एउटै स्वाद उपलब्ध हुनेछ । खाजाका परिकारसँगै ६० प्रकारका मिठाइहरु पाइन्छन् । अन्य सञ्चालकहरुमा किरण थापा, चुमबहादुर खत्री र माया ज्ञवाली छन् । हरेक सञ्चालनमा एउटा एउटा शाखाको नेतृत्व हेर्दै आएका छन् । गणपति पछिल्लो समय रूपन्देहीमा चर्चित मिष्ठान्न भण्डारको रुपमा स्थापित भइसकेका छ ।