बुटवल, वैशाख १६ । प्रदेश नम्बर ५ का तीन स्थानबाट कोरोनाको पीसीआर परीक्षण थालिएको छ । दाङको घोराहीमा पीसीआरमार्फत कोरोना परीक्षण सुरु भएसँगै अब तीन स्थानबाट आरटी–पीसीआर परीक्षण थालिएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार यसअघि रुपन्देहीको भैरहवा र बाँकेको नेपालगञ्जमा पीसीआर परीक्षण सुरु भइसकेको छ । तीनै स्थानमा पीसीआर परीक्षण भए पनि निकै ढिला परीक्षण भइरहेको छ । भैरहवामा अहिलेसम्म जम्मा १५७ वटा स्वाब मात्रै परीक्षण गरिएको छ । बाँकेमा ४० जनाको परीक्षण भएको छ । प्रदेश ५ बाट १२६ वटा स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ¥यापिड टेस्ट बढाईए पनि पीसीआर परीक्षण निकै कम गरिएको छ । स्वाब संकलन गरिएकामध्ये बाँकेका १ सय २० जना रहेका छन् । अहिलेसम्म रुपन्देही र बाकेबाट परीक्षण हुँदै आएको थियो । यहाँ परीक्षणमा ढिलाई भएपछि काठमाडौं समेत पठाइएको छ ।
दाङबाट समेत परीक्षण सुरु भएपछि अब काठमाडौं लैजानु नपर्ने निर्देशनालयले जनाएको छ । दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि पीसीआर विधिबाट कोरोनाको परीक्षण सुरु गरिएको उपकुलपति डा. संगीता भण्डारीले बताइन् । वैशाख १ गतेदेखि नै सुरु गर्ने भनिए पनि मेसिन आउन ढिला हुँदा प्रयोगशाला स्थापनामा समय लागेको उनले बताइन् । अहिले प्रतिष्ठानको आइसोलेसनमा रहेका ९ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको भण्डारीले जानकारी दिइन् ।
पीसीआरमा एकैपटकमा ८० जनासम्मको परीक्षण गर्न सकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले बताइन् । प्रदेश सरकारले प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएअनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसीआर मेसिन राखिएको हो ।
यसअघि स्वाब परीक्षणका लागि भैरहवा या काठमाडौं लैजानुपर्ने बाध्यता थियो । हालसम्म प्रदेशमा ३ सय २३ वटा स्वाब परीक्षण भएको छ । प्रदेशका दाङ, बाँके र रुपन्देहीमा गरेर २ सय २० शैयाका ४ वटा कोरोना विषेश अस्थायी अस्पताल सञ्चालित छन् । प्रदेशका विभिन्न जिल्लामा १२ हजार ८ सय ९९ शैया क्षमता भएका ४ सय ६९ वटा क्वारेन्टाइन रहेका छन् । प्रदेशमा करिब ३ हजार ३ सय २६ जनाको आरडीटीबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये एक जनाको मात्रै पोजेटिभ नतिजा आएको थियो ।