कपिलवस्तुबाट २ लाख बराबरका अवैध कपडा बरामद

मेचीकाली संवाददाता

२० फाल्गुन २०८०, आईतवार
77 shares

पार्वती आचार्य
कपिलवस्तु । कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा प्रहरीले बरामद गरेको छ । पलागुन १९ गते बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बहादुरगंजबाट वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका ८ स्थित सवारी साधन चेक जाँच गर्ने क्रममा पिकप जिपमा रहेको भन्सार छलिलुकाई छिपाई राखेको सुट, टिसर्ट, सुरुवाल, कुर्ता गरी जम्मा अन्दाजी रु १ लाख ३० हजार २ सय मूल्य बराबरको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसैगरी यशोधरा गाउँपालिका ७ मर्यादापुरबाट खटिएको प्रहरी टोलिले नेपाल भारत सिमाना नजिकै बेवारिसे अवस्थामा रहेको ५० थान साडी बरामद गरेको छ । उक्त साडीको अन्दाजी मूल्य रु. ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।