शिवरात्रि विशेष: शिव, शङ्कर र पशुपतिबारे !

मेचीकाली संवाददाता

२४ फाल्गुन २०८०, बिहीबार
71 shares

घनश्याम कोइराला

शिवरात्रि शिवको नाममा गरिने सबैभन्दा ठुलो उत्सव हो । शिवका बारेमा यसअघि संक्षिप्त चर्चा भइसकेको छ । ‘रात्रि’ भनेको रात हो । रात अन्धकारको प्रतीक हो । तर, अन्धकारको प्रतीक रातलाई महापर्वका रूपमा मनाउने शैव र सनातनीहरू बडो विचित्रका लाग्दछन् ।

र्वविदितै छ कि, सनातनी र शैवहरूका लागि शिवरात्रि निकै ठूलो पर्व हो, त्यसैले यसलाई महापर्व पनि भन्ने गरिएको छ । शिवलाई नीलकण्ठ भनिएको छ । शिवको कण्ठ किन नीलो भयो ? देवासुर संग्रामका क्रममा निस्केको कालकूट नामको विष पिएर त्यसलाई कण्ठमा राखेको हुनाले उनको कण्ठ नीलो भयो भन्ने वर्णन पुराणहरूमा पढ्न पाइन्छ । यसको तात्पर्य हो, सामूहिक लोककल्याणकारी कामको क्रममा आइपर्ने जस्तोसुकै कठिनाइ वहन गर्ने महानता शिवमा थियो । यसबाट हामीले के शिक्षा पाउँछौँ र जीवनमा लागू गर्दछौँ भन्ने विषय सारभूत विषय हो । यो एउटा उदाहरण मात्र हो । शिवका सबै नामका गूढार्थ छन्, यी सबै मानिसका लागि जान्न–बुझ्न योग्य छन्, मननीय छन् ।

मानिस विचित्रको प्राणी हो । नराम्रो गर्नुप¥यो भने वा निन्दा गर्नुप¥यो भने धर्मशास्त्रका विषयलाई उदाहरणका रूपमा टपक्क टिप्दछन् । त्यसको अर्को पाटो समर्थन वा प्रशंसा गर्नुप¥यो भने ती विषयलाई काल्पनिक, अन्धविश्वास, अप्रमाणित भनेर दोहोलो काढ्न उद्यत हुन्छन् । पशुपतिका सन्दर्भमा पनि यस्तै देखिन्छ । शिवरात्रिमा शिवजीको प्रसाद भनेर गाँजा, भाङ आदि लागूपदार्थ खानु यसको एउटा उदाहरण हो । त्यहीँ अर्काथरि लागूपदार्थ खाने विषयलाई धर्मसँग जोड्छन् र धर्ममा विकृति देख्न पुग्छन् र धर्मलाई नै गलत ठह¥याउने र ठोकुवा गर्दछन् । वास्तवमा यी दुवै कुरा सही होइनन् ।

अज्ञात कालमा देवता र दानव (सुर र असुर) मिलेर समुद्रमन्थन गरेको कथा प्रसिद्ध छ । त्यसबाट अमृत र कालकूट विष निस्क्यो । यसबाट एकै ठाउँमा पनि दुई विपरीत तत्वको उपस्थिति रहेको र रहने शिक्षा प्राप्त छ । त्यही अमृत र विष कसले प्राप्त गर्ने भन्ने विषयमा ठुलै युद्ध भयो । त्यस युद्धलाई देवासुर युद्ध वा सङ्ग्राम भनियो । त्यही मन्थनबाट निस्केको कालकूट विष शिवले कण्ठमा अड्याएर नीलकण्ठ बनेको कथा प्रसिद्ध छ । यो कथालाई मात्र राम्ररी पढेर सकारात्मक अर्थमा लिने हो भने भिन्नै तथ्य उजागर हुन्छ ।

कुनै धर्म मान्नु वा नमान्नु, कुनै देवी वा देवता मान्नु वा नमान्नु मानिसको आफ्नो मान्यता हो, यसमा सबै मानिस स्वतन्त्र छन् । तर जब गुह्येश्वरी, दुर्गा, सरस्वती, ब्रह्मा, विष्णु, गणेश, शिव, रुद्र, पशुपति आदिलाई मान्ने या मान्नुपर्ने प्रसङ्ग आउँछ, अनि पूरै अनुहार खुम्च्याएर भन्न थाल्छन्, ‘यो कथाकुथुङ्ग्री हो, यसमा सत्यता छैन, यसको कुनै तथ्य छैन, त्यसैले विज्ञानसम्मत छैन, मानिँदैन ।’ जब कुनै कुरा आफ्नो स्वार्थमा हुन्छ, आपूmलाई मनपरेको विषय आउँछ, अनि भन्न थाल्छन्, ‘देवीदेउता पनि यसै गर्थे, रामले सीताको अग्निपरीक्षा लिएर अन्याय गरे, वनमा छोडेर अत्याचार गरे, कृष्णले धेरै गोपिनीहरूसँग बिहे गरे, गणेशले बाबुआमाको वरिपरि घुमेर सोझा कुमारलाई छक्याए, शिवले भाङ, धतुरो खाए । देवीले प्राणीको बलि लिइन्, हामीले गर्न किन नहुने ?’

कथाको सन्देश के देखिन्छ भने शिव प्राणीहरूका लागि हितकर नहुने सबै प्रकारका विषादि, प्रदुषण, लागूपदार्थ आफूमा समाहित गरी लोकलाई स्वस्थकर पदार्थ तथा वातावरण दिने महान कल्याणकारी थिए । यसैले उनी शिव अर्थात् कल्याणकारी भएका हुन् । यसको अनर्थ गरेर राज्यले निषेध गरेको गाँजा, भाङ, धतुरो आदि लागूऔषध प्रयोग गर्नु र धर्मसँग जोड्नु सरासर बेइमानी हो, अन्धविश्वास फैलाउने दुश्चेष्टा हो । यसबाट लिन सकिने अर्को शिक्षा के हो भने हरेक अगुवा व्यक्तिले अरुको हितका लागि आपूmले त्याग गर्न सक्नुपर्दछ । कथामा यस्ता अन्य विषय पनि शिक्षाप्रद छन् ।

हाम्रा सनातन परम्पराका पर्वहरू कुनै न कुनै देवीदेवतासँग सम्बन्धित छन् । दसैँ, तिहार, कृष्णजन्माष्टमी, तीज, रक्षाबन्धन आदि सबै पर्व देवीदेवताको पूजासँग जोडिएकै छन् । शिवरात्रि–महशिवरात्रि शिव–रुद्र–महादेवसँग सम्बन्धित पर्व हो । तर, कहाँकहाँ धर्म, देवीदेवता, पूजाका अन्तर्वस्तु वा सन्देशमा नपुगी सतहमा रमाउने र केही कमजोरीहरूलाई टपक्क टिपेर विरोध गर्ने प्रवृत्ति छ, यो फास्टफुड प्रवृत्ति हो । मान्नेहरू कट्टर र नमान्नेहरू अराजक छन् । धर्मसंस्कृतिको विषय कट्टरता र अराजकताको विषय हुनुहुँदैन । यसमा देखिएका विकृति विसङ्गति रुखमा उम्रेका ऐजेरू र पानीमा लागेका लेउ जस्तै हो । विकारलाई समग्रता ठान्दा अन्यत्र पनि यस्तै देखिन्छ ।

रुद्र वैदिक देवता हुन् । शिवको अर्को नाम रुद्र हो । यिनलाई शिव, शङ्कर, पशुपति पनि भनिन्छ । शिव शब्दको अर्थ कल्याण हो, सुख, समृद्धि र शान्ति पनि हो । शङ्कर शब्दको अर्थ यसरी खुलाइएको पाइन्छ: शं करोति इति शङ्करः भनिएको छ । ‘शं’ अर्थात् कल्याण वा सुख, ‘करोति’ गर्छ जसले अर्थात् कल्याण गर्ने वा सुख दिनेलाई शङ्कर भनिएको हो । यद्यपि, शिवका धेरै नामहरू छन्, शिवसहस्रनाम भनिएबाट शिवका हजार नाम छन् भन्ने बुझिन्छ ।

कुनै व्यक्तित्वका नाम धेरै हुनुको पछाडिको कारण उनीहरूको बासस्थान र उनीहरूले गरेका काम तथा काम गर्ने क्षमता, उनीहरूको गुण र विशेषता हो । सामान्यतः शिवका ४८ नाम यस प्रकार छन्–१. शम्भु २. ईश ३. पशुपति ४. शिव ५. शूली ६. महेश्वर ७. ईश्वर ८. शर्व ९. ईशान १०. शङ्कर ११. चन्द्रशेखर १२. भूतेश १३. खण्डपरशु १४. गिरीश १५. गिरिश १६. मृड १७. मृत्युञ्जय १८. कृत्तिवासा १९. पिनाकी २०. प्रमथाधीप २१. उग्र २२. कपर्दी २३. श्रीकण्ठ २४. शितिकण्ठ २५. कपालभृत् २६. वामदेवो २७. महादेवो २८. विरूपाक्ष २९. त्रिलोचन ३०. कृशानुरेत ३१. सर्वज्ञ ३२. धूर्जटि ३३. नीललोहित ३४. हर ३५. स्मरहर ३६. भर्ग ३७. त्र्यम्बक ३८. त्रिपुरान्तक ३९. गङ्गाधर ४०. अन्धकरिपु ४१. क्रतुध्वंसी ४२. वृषध्वज ४३. व्योमकेश ४४. भवो ४५. भीम ४६. स्थाणू ४७. रुद्र ४८. उमापति । यी सबै नामका पछाडि माथि उल्लेख गरिएअनुसारका काम, स्थान, विशेषता जोडिएका छन् ।
हाम्रो नेपालमा शिवको सबैभन्दा ठुलो महत्वको नाम पशुपति हो । त्यसैले ‘राष्ट्रदेव’ भनेर पशुपतिनाथको पूजा हुने गरेको तथ्य सर्वविदित नै छ । काठमाडौँमा रहेको पशुपतिनाथको विशाल प्राचीन मन्दिर संसारभरिका सनातनी–ॐकार परिवारका मानिसहरूको आस्थाको धरोहर हो । पशुपतिनाथ मन्दिर आम्दानीको महत्वपूर्ण स्रोत हो । यहाँ चढाइने भेटीघाटी मात्र नभई यहाँ दर्शन तथा आजापूजा गर्न देश र विदेशबाट आउने लाखौँ श्रद्धालुजनहरूको आगमनले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउँदै आएको छ । हवाई र सडक यातायात, होटल, पूmलप्रसाद र रुद्राक्षका पसलहरू राम्रै चलेको देखिन्छ । पशुपतिनाथ दर्शन गर्न आउने भारतीय तीर्थयात्रुहरू नेपालका अन्य स्थानहरूमा पनि जाने गर्दछन् ।

‘पशुपति’ शब्दको सामान्य अर्थ ‘पशुहरूको मालिक–स्वामी’ भन्ने नै लाग्दछ । तर, कुनै पनि शब्दको अर्थ सबै ठाउँ र परिस्थितिमा एउटै र उस्तै नलाग्न सक्दछ । सामान्यतः ‘खाना खाने’ भन्दा पनि सबै ठाउँमा एकै प्रकारको खाना खाने भन्ने हुँदैन, कहीँ भात खाने होला, कहीँ ढिँडो खाने होला, कहीँ अरु नै थोक हुन सक्दछ । त्यस्तै पशुपतिका सम्बन्धमा पनि यस शब्दको एउटै मात्र अर्थ लाग्दैन । पति र नाथ शब्दको अर्थ एउटै हुन्छ, यहाँ दुवै शब्द एकसाथ प्रयोग भएको छ । यसले पनि विशिष्ट अर्थ खोज्न प्रेरित गर्दछ ।

यस्तै खोजबाट पशुपति शब्दको व्युत्पत्ति यसरी प्रकट भएको छः
पशूना–पाशबद्धानां जीवानां पतनात्, पाति–रक्षतीति = पशुपतिः । पशूनां–पाशबद्धानां जीवानां (बन्धनमा बाँधिएका जीवहरूलाई) पतनात् (पतन हुनबाट) पाति (रक्षा गर्दछ जसले) पशुपतिः (ती पशुपति हुन्) । यसरी म पाश अर्थात् बन्धनमा बाँधिएको छु, म बन्धनबाट मुक्त हुन पाउँ भन्ने अभिलाषा राख्ने सचेत प्राणी त मानिस नै हो । मानिस लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष आदिको बन्धनले जकडिएको छ । मानिसले बुझेको छ, यी सबै बन्धनहरूले क्षणिक भौतिक सफलता दिइरहेको भए पनि मानसिक शान्ति र आनन्द दिन सक्दैन । शिवसहस्रनाममा उल्लिखित हजार नाममा ‘पशुपति’को नाम यसरी उल्लेख गरिएको छः दम्भो ह्यदम्भो वैदम्भो वश्यो वशकरः कलिः । लोककर्ता पशुपतिर्महाकर्ता ह्यनौषधः ।।

हिन्दू धर्मलाई विभेदकारी भएको आक्षेप लाग्ने गरेको छ । वर्ण परम्परावादी भनेर पनि हिन्दूहरू आक्षेपित छन् । तर, हिन्दूहरूका देवका पनि देव, महादेव कसका छोरा थिए ? उनी कुन वंशका हुन् ? उनी कुन जाति समुदायका हुन् ? चारै वेद, अट्ठारै पुराण तथा उपनिषद् पढेर पनि शिवको वंशज, जाति, वर्ण आदिबारे थाहा पाइँदैन । शिवका विषयमा नबुझेकाहरू जाति विभेदका पक्ष वा विपक्षमा हुन सक्दछन् । त्यसैले हिन्दु परम्पराका केही असल तथा शासकहरूद्वारा विकृत रूपमा अथ्र्याइएका केही विषय घोकेर हिन्दु धर्मको छेउटुप्पो थाहा पाउन सम्भव छैन । यसका विषयमा लाञ्छना लगाउनु भनेको नेत्रहीनले हात्ती छामेजस्तो मात्र हो ।

हिन्दु सनातनी र शैवहरू यस दिन बेलको फल, पात, रुद्राक्ष आदि शिवलाई समर्पण गर्ने–चढाउने गर्दछन् । यस महापर्व शिवरात्रिमा भाङ्, धतुरो, गाँजा आदि लागू पदार्थ शिवलाई समर्पण गरिन्छ । शिवलाई शङ्कर, रुद्र, महादेव, पशुपति भनेर मान्ने गरिन्छ । शिवका ४८ नाममा यी नाम पनि पर्दछन्–बद्धोद्रहं विविधैः पाशैः संसारभवबन्धनैः । पतितं मोहजालं मां त्वं समुद्धर शंकर ।।

अर्थात् हे शंकर ! म संसारसागरका विविध पाशहरूद्वारा बाँधिएको छु । यसरी मोहपाशमा बाँधिएको मलाई तपार्इँले उद्धार गर्नुहोस् । यसबाट पशुपतिको अर्थ स्पष्ट हुन्छ । यो त श्लोकको अर्थ भयो । बन्धनबाट मुक्तिको विषय अहिले छैन र ? अरु सबै कुरा छोडे पनि मुक्तिको चिन्तन पशुपति शब्दबाट, कल्याणको चिन्तन शिव र शंकर शब्दबाट लिन सकिन्छ । शिवबाट गाँजा, भाङ, धतुरो, नग्नता मात्र लिने हो भने त्यस्तो विचार बोक्नेहरूलाई त के नै भन्न सकिन्छ र ? जसरी सहिद दिवस मनाउनु भनेको सहिद हुने प्रण होइन, त्यसरी नै शिवको पूजा गर्नु भनेको गाँजा, भाङ, धतुरो र नग्नताको खेलोमेलो बढाउनु होइन । यस्ता नग्नता र लागू पदार्थको प्रयोग शिव नै नचिनेकाहरूबाट भएको छैन र ?

मात्रामा तलमाथि होला, तर सबै मानिसहरू यस्ता बन्धनमा बाँधिएका छौँ । त्यसैले यहाँ पशुपतिनाथको मन्दिरमा आएर आफ्ना बन्धनहरूबाट मुक्तिको भावना वा कामना राखेर, मानसिक शान्ति र आनन्दको भाव विकास गर्न खोज्दछन् । आपूmहरू पतन हुनबाट जोगिने आध्यात्मिक उपायको खोजी गर्दछन् । संसारले जतिजति भौतिक प्रगति गरेको छ, यो मानवजीवनको सहजता र सुविधाको लागि साह्रै महत्वपूर्ण छ, आविष्कार र आविष्कारकहरू महान् छन् तर यी सब विषयको भोगको लालसाले मानिसलाई कस्तो बनाएको छ ? कति लुछाचुँडीमा संलग्न गराएको छ ? यसको प्राप्तिको लागि मानिसले आपूmलाई कसरी अघि बढाएको छ ? यही पाशले बाँधेर मानिसलाई मानवीयताभन्दा तलतल झार्दैछ । जीवनका मानवीय पक्ष इमान, जमान, सद्भाव, समभाव आदिबाट मानिस गिर्दो छ ।

नयाँ विकास भएका विज्ञान प्रविधिको सदुपयोगसँगै अज्ञात कालदेखि चलिआएका सनातनका असल परम्पराहरूबाट सकारात्मक शिक्षा लिँदै अघि बढ्न सकेमा हामी सबैको कल्याण हुनेछ । शिव, शङ्कर, पशुपतिनाथको महिमा हामी सबैका लागि हितकर नै हुनेछ । (लेखक: संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)