विदेशबाट फर्केका युवालाई कृषिकर्ममा जोड्दै प्रदेश सरकार
अमृत गिरी
बुटवल, वैशाख १९ । अहिले महामारीको संक्रमण रोक्न र कम गर्न लकडाउन जारी छ । झण्डै ४० दिनदेखिको लकडाउनकै बीचमा सहरमा रहेकाहरु गाउँ फर्किएका छन् । गाउँमा उनीहरुका दैनिकी फेसबुकमा रमाउने र गाउँ चाहर्ने मै धेरै समय बितिरहेको छ ।
यीमध्ये विभिन्न पेशा, व्यवसायमा आबद्ध युवाहरु पनि लकडाउनसँगै अहिले गाउँमा जुटेका छन् । उनीहरुलाई अब गाउँमै कुनै न कुनै उद्यममा जोड्न जरुरी छ । प्रदेश सरकारले अहिले कृषि उद्यममा संलग्न किसानका लागि नयाँ र आकर्षक कार्यक्रम ल्याएको छ । यो कार्यक्रमले यो सहित धेरै गाउँका हजारौं युवा किसानहरु लाभान्वित हुने निश्चित छ ।
तस्बिरमा देखिएका युवा बुटवलमा डेरा गरी बस्दै आएका रुरुक्षेत्र गाउँपालिका–५, टाहाटिमका २३ वर्षीय सन्तोष गिरी हुन् । उनी पत्नीलाई जापान पठाउने तयारी गर्दै बुटवलमा डेरा लिएर बसेका थिए । लकडाउनसँगै उनी गाउँ फर्किए ।
घर गएको भोलिपल्टैदेखि मकै छर्ने बारीमा खनजोत सुरु भयो । उनले छिमेकीको हाते टेक्टर मागेर यसैगरी एकैछिनमा जोतेर सके । उनका बाबु ५७ वर्षीय भोला गिरी खुशीले प्रशन्न भए र छोरो सधैं संगै बसेर काममा सघाइदिए हुन्थ्यो भन्ने आशा जाग्यो । उनको अर्का साना छोरा संगै छन् । छोरीहरुको बिहे गरिदिए ।
अर्का युवा रामु पुरी ‘गुल्मेली माइलो’ नवलपरासीको बर्दघाट चिसापानीमा सपरिवार बस्दै आएका थिए । उनले केही समयदेखि बुटवल–काठमाण्डौं, बुटवल–पोखरालगायतका रुपमा साहुको बस चलाउँदै आएका थिए । लकडाउनमा बस बन्द भएपछि उनी पनि गाउँ नै फर्किए । बर्दघाटमा बाबुआमा, दाजु, भाइ र पत्नीसहित बसोबास गरेपनि गाउँको जग्गा जमिन बेचेका रहेनछन् । लकडाउनमा गाउँमा गएका उनीपनि यसैगरी काममा खटिए ।
उनीहरु जस्तै यो गाउँमा मात्रै अहिले झण्डै तीन दर्जन जति युवाहरु फर्किएका छन् । दोब्बरको सख्यामा युवाहरु विदेशमा रहेका छन् । आज मई दिवसका दिन यस्तै अनौपचारिक क्षेत्रमा कार्यरत युवाहरुलाई उत्पादनका क्षेत्रमा प्रभावकारी कार्यक्रमको खाँचो छ । प्रदेश ५ सरकारले सुरु गर्न लागेको कृषिकर्मी रोजगारी कार्यक्रमलाई विस्तार गरेर यस्तै युवासम्म पु¥याउन जरुरी छ ।
‘युवाहरुले विदेशमा गएर अर्कैकोमा मेहनत गर्ने, परिश्रम गर्ने, पसिना बगाउने तर आफ्नै माटो बञ्जर बन्दै जाने अबस्था छ’ १७ वर्ष अरबमा काम गरेर फर्केका युवा खिमबहादुर क्षेत्रीले गाउँमा कृषिमा आकर्षित गर्नेगरि कार्यक्रम बनाउन जरुरी रहेको बताउँछन् । बीएको पढाइ सक्नै लाग्दा छाडेर विदेश हान्निएका उनले विदेशमा सिकेको सीपलाई यहीँ प्रयोगमा ल्याउने र सरकारले उपकरणलगायतका क्षेत्रमा सहयोग गर्ने हो भने गाउँमा कृषि क्रान्ति सम्भव रहेको दाबी गर्छन् ।
जेनतेन सिंचाइको प्रबन्ध रहेको, सडक, बिजुलीको व्यवस्था रहेको यो गाउँलाई गाउँपालिकाले आलु पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ । पालिकाका सबै छ वटै वडाहरुमा उत्पादन भइरहेको खेतीका आधारमा पटेक क्षेत्र घोषणा गरेर प्रवद्र्धनका काम भइरहेको गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमको भनाइ छ ।
टाहाटिममा सिंचाइको प्रबन्ध मिलाउने, कृषि उपजको बजारीकरणदेखि बीउ, मल र आधुनिक उपकरणहरुको (प्राविधिक सल्लाहसमेत) प्रयाप्त मात्रामा सहयोग हुने हो भने धेरै युवाहरु गाउँमै कृषि उद्यममा रमाउने सम्भावना रहेको गाउँका अगुवा बीरबल पुरीको भनाइ छ । उनले वडा गाउँपालिका, जिल्ला स्तरीय संयन्त्र र प्रदेश सरकारले यी कामका लागि चासो दिने हो भने समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्रमा फेरि पुनर्जागरण ल्याउन सकिने बताए ।
वडाअध्यक्ष हरिप्रसाद ज्ञवाली आफैँ पनि कागतीको व्यवसायिक खेतीमा लागेका छन् । उनले विभिन्न ठाउँबाट दुई सयभन्दा धेरै कागतीको बोट रोपेका छन्, जुन अहिले फलिरहेका छन् । वडाअध्यक्ष ज्ञवालीलाई स्रोतसाधन सम्पन्न व्यक्तिका रुपमा लिइन्छ । उनले त्यस भेगका किसानलाई पनि कुनै न कुनै कृषि उद्यममा लगाउन जरुरी रहेको अगुवाहरु बताउँछन् ।
तीनै तहका सरकारले युवा किसानलाई लक्षित गरेर प्रोत्साहन र हौसलाका कार्यक्रम बनाउन जरुरी रहेको गाउँमा अगुवाहरु बताउँछन् । गाउँमै दुग्ध उत्पादक सहकारीसमेत सञ्चालनमा छ । यस्तै मकैको बीउ पकेट क्षेत्रसमेत घोषणा गरिएको छ ।
प्रदेश सरकारले ल्यायो कृषिकर्मी रोजगार कार्यक्रम
बुटवल । प्रदेश सरकारले विदेशबाट फर्किएका युवाहरूलाई लक्षित गरेर गाउँमै रोजगारी सिर्जना गर्ने कृषिकर्मी रोजगार कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारणले अबरुद्ध भएको रोजगारीको क्षेत्रलाई कृषिमा पुनर्जागरण ल्याउने गरि प्रदेश–५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस्तो कार्यक्रम ल्याएको हो । यो कार्यक्रमले युवाहरुलाई कृषि कर्ममा आकर्षित गर्ने र त्यसमै भविष्य देख्ने बनाउने आशा गरिएको छ ।
कोरोना भाइरसको कारण विदेशबाट फर्किएका युवाहरूलाई कृषि व्यवसायमा लगाउने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउनेगरी यसखालको कार्यक्रम बनाएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जानकारी दिइन् । उनले उत्पादनशील योजनालाई प्रदेशका सबै १२ जिल्लामा सञ्चालन गरिने बताइन् । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण आर्थिक मन्दी हुँदा वैदेशिक रोजगारीमा रहेका लाखौं युवा स्वदेश फर्किने सरकारको आँकलन छ । प्रदेश पाँच कृषिका लागि उर्वर प्रदेश मानिन्छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले कोरानाबाट सिर्जना भएको परिस्थितिको कारण कृषि तथा पशुजन्य उत्पादन घट्न गई आउन सक्ने संकट टार्न करार खेती र कृषिकर्मी रोजगारी कार्यक्रम कार्यान्वयन ल्याइएको बताए ।
कसरी चल्छ कार्यक्रम ?
करार खेती कार्यक्रम र कृषिकर्मी रोजगारी कार्यक्रममा सहभागी हुनेलाई जग्गा भाडाबापतको रकम र केही पूर्वाधार विकास खर्च मन्त्रालयले उपलब्ध गराउनेछ । यस अघि नंै जग्गा भाडामा दिने जग्गा धनी र भाडामा लिएर खेती गर्ने कृषकहरुको विवरण तयारीका लागि सबै स्थानीय तहलाई पत्राचार गरिएको छ । कृषिकर्मी रोजगार कार्यक्रम लागू भएपछि कुनै पनि कृषिफर्म, सहकारी वा संस्थाले कृषि क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई उचित किसिमको तालिम, सीप प्रदान गरिनेछ । कार्यक्रममा कार्यान्वयनका लागि पहिलो चरणमा ३० प्रतिशत खर्च प्रदेश ५ सरकारले व्यहोर्ने छ । भने, बाँकी रकम रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने हुन्छ । कृषि कर्मी रोजगार कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार कृषिकर्मी रोजगारकर्मीले नेपाल सरकराले तोकेको न्यूनतम पारिश्रमिक १० हजार ७ सय ८१ रुपैयाँ पाउने छन् । कृषिकर्मीहरुलाई नै मालिकको रुपमा उक्त फर्म हस्तान्तरण गर्ने योजना समेत मन्त्रालयको छ । दुई मोडेलमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो मोडेल निजी क्षेत्रको सहकार्यमा कृषिकर्मी रोजगार कार्यक्रम रहेको छ भने दोस्रो मोडेल सरकारी निकायबाट सञ्चालन हुने व्यावसायिक नमुना फार्ममा कृषिकर्मी रोजगारी कार्यक्रम रहेको छ ।