एसईईको तयारी गरीरहेका विद्यार्थीलाई छात्राबास

मेचीकाली संवाददाता

३ चैत्र २०८०, शनिबार
1527 shares

पार्वती आचार्य

कपिलवस्तु । मायादेवी गाउँपालिका–१ पकडीस्थित छत्रपाली तिर्थादेवी मा.विमा शिक्षाको गुणस्तर बढाउन एस.ई.ईको तयारी गरीरहेका विद्यार्थीहरुलाई छात्राबासको व्यवस्था गरीएको छ । एस.ई.ई नजिकिएसंगै पढाईमा कमजोर बिद्यार्थीहरुलाई पठनपाठनमा केन्द्रित गराउन फागुनको पहिलो हप्तादेखि नै रात्रीकालिन कक्षा समेत सञ्चालन भइरहेको बिद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले जानकारी दिए ।

अभिभावकहरुको माग र सल्लाहअनुसार ४० जना बिद्यार्थीहरु छात्राबासमा बसेर अध्ययन गरिरहेको उनले बताए । १८ जना छात्रा र २२ जना छात्रहरुलाई छात्राबासको व्यवस्थापन गरी बिहान १० बजेदेखि ४ बजे सम्मको कक्षा बाहेक वेलुकी ४ बजे देखि राती ९ः३० सम्म र बिहान ४ बजे देखि बिहान ९ः३० सम्म अतिरिक्त कक्षाहरु सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक कुर्मीले बताए ।

बि.सं. २०१६ सालमा स्थापना भएको बिद्यालयमा हाल १ हजार ३ सय भन्दा बढी बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । उक्त बिद्यालय नमूना बिद्यालयको रुपमा परिचित छ । शिक्षा क्षेत्रमा कपिलवस्तु धेरै पछाडि परेको हुँदा शिक्षाको गुणस्तरलाई वृद्धि गर्नका लागि छात्रबासको शुरुवात गरिएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष मधुशूदन शरण चौधरीले बताए ।

बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकसित गर्न समस्त क्रियाकलापहरु नमूना हुनुपर्नेमा उनले जोड दिए । ‘बिद्यालयका शिक्षक, बिद्यार्थी मिलेर बिद्यालयको शैक्षिक स्तरलाई वृद्धि गर्न बिद्यालय परिवार लागि परेको छ ।’ अध्यक्ष चौधरीले भने ।
अभिभावकहरुको सहयोग कमजोर देखिएकोमा चिन्ता व्यक्त गर्दै अभिभावक लाई शिक्षा प्रति उत्प्रेरित गर्न आवश्यक भएको अध्यक्ष चौधरीको भनाई छ । बिद्यालयबाट अतिरिक्त कक्षा लिन पाउँदा बिद्यार्थीहरुले पनि खुशी व्यक्त गरेका छन् ।