सन्दर्भ : २५६४ औं बुद्धजयन्ती
अमृत गिरी
बुटवल, वैशाख २५ । २५६४ औं बुद्ध जयन्ति अर्थात् पूर्णिमा उत्सवको शुभकामना । बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै सोहीअनुरुपका योजनाबद्ध काम अगाडि बढेका छन् । तर, महामारी रोकथामका लागि झण्डै दुई महिनादेखिको बन्दाबन्दी (लकडाउन) ले यतिबेला ती सबै काम प्रभावित भएका छन् । लकडाउनकै कारण आजको बुद्ध जयन्ती समारोहसमेत घरघरमा दीपावली गरेर मनाइँदै छ ।
गत वर्षको बुद्धपूर्णिमाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पूनर्जीवन दिनेगरी काम गर्ने घोषणा गरेसँगै योजनाबद्ध काम अघि बढेका थिए ।
प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मुलुकहरुसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने प्रतिबद्धता दोहोराएका थिए । अहिले लकडाउनमा प्रभावित भएका यी सबै काम छिट्टै अगाडि बढ्ने र लुम्बिनील पुनर्जीवन पाउने निश्चित छ ।
लुम्बिनीमा धुप र ज्ञानको मात्र होइन, हावा र फूलको पनि सुगन्धित स्थल बनाउने सरकारको संकल्प थियो । सोहीअनुरुप गत वर्ष बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नयाँ लुम्बिनी ग्राममा फलफुलका हजारौं विरुवा रोप्दै उक्त अभियानको शुभारम्भ गरिएको थियो । झण्डै वर्षभरि जसो जारी रहेको उक्त कार्यक्रममा धेरैले सहभागिता रह्यो । पवित्र बगैंचा बनाउनका लागि त्यसरी रोपिएका फलफुलका बिरुवा अहिले हुर्किरहेका छन् ।
गुरुयोजनाका बाँकी काम एकैसाथ सक्ने लक्ष्य
बुद्ध जन्मस्थल लुम्बिनीलाई बुद्धकालीन समयको जस्तो बनाउनेगरी झण्डै ४३ वर्षअघि लुम्बिनी गुरुयोजना बनेको थियो । जापानी प्रोफेसर केञ्जो टाँगेले सन् १९७८ (विसं. २०३५ सालमा) गुरुयोजना बनाएर सरकारलाई हस्तान्तरण गरेका थिए । ६ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो तर, अहिलेसम्म पूरा भएको छैन् । गुरुयोजना अनुरुपका कामहरु पूरा नहुँदा यहाँका पुरातत्वविद्हरु मात्रै होइन, बौद्धमार्गीहरु सबै खिन्न छन् ।
स्वयम् केञ्जो टाँगे नै यस्तो ढिलासुस्तीले आजित रहेका थिए । २०३५ सालमा गुरुयोजना निर्माण गरेका थिए । त्यसको करिब सात वर्षपछि लुम्बिनी विकास कोष बन्यो र त्यहीँ कोषले गुरुयोजना अनुरुपका काम अगाडि बढाउँदै आएको छ ।
विडम्बना चार दशकदेखि थाती रहेको गुरुयोजनालाई एकैपटकमा सक्नेगरी प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विशेष पहलकदमी थालेको हो । बाँकी रहेका काम, ती कामका लागि आवश्यक पर्ने स्रोतसाधनको यकीन गरेर कम्तीमा दुई अढाई वर्षमा सक्नेगरी सरकार अग्रसर भयो । जसअनुसार बाँकी कामको एकसाथ ग्लोबल टेण्डर गर्ने कामका लागि आवश्यक प्रक्रिया पूरा परामर्शदाता छनौट भयो ।
करिब ६ अर्ब रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान सरकारलाई बुझाएर परामर्श दाताले विस्तृत प्रतिवेदन बनाइरहेका बेलामा विश्वव्यापी महामारी फैलियो र नेपालमा संक्रमण रोक्न लकडाउन भयो । यसपछि सबै काम थाती नै रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संकल्पअनुसारका कामलाई प्रभावकारी बनाउन मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी तथा लुम्बिनी विकास कोषमा विद्यमान पदाधिकारी र सरोकारवालाहरु निरन्तर खटिएका छन् । तर, गुरुयोजनालाई पूरा गर्ने प्रधानमन्त्रीको संकल्प साकार हुन अझै केही समय लाग्ने निश्चित छ ।
लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईका अनुसार गुरुयोजनाअनुरुप हालसम्म ८२ प्रतिशत काम पूरा भएको छ । बाँकी १८ प्रतिशत कामका लागि अझै कम्तीमा छ अर्ब रकम आवश्यक पर्छ । यो रकमलाई संघीय सरकारले कम्तीमा दुई आवमा जुटाउने र गुरुयोजना साकार पार्नेगरी काम थालेको छ ।
विश्व जनसंख्याको करिब एक तिहाइभन्दा बढी मानिस बुद्ध धर्म मान्नेहरू छन् । यो संख्याको थोरै मात्रै पनि हिस्सालाई यहाँ लुम्बिनीमा ल्याउन सकियो भने लुम्बिनीको मात्रै होइन, समग्र मुलुकको समृद्धिमा योगदान पुग्ने निश्चित छ ।
विश्वका यहुदी धर्मावलम्बीहरु जसरी प्रत्येक वर्ष जेरुसेलम पुग्छन्, इस्लाम धर्मावलम्बीहरु जसरी मक्कामदिना जान्छन् त्यसरी नै संसारभरका बौद्ध धर्मावलम्बीहरुलाई एकपटक बुद्ध जन्मिएको ऐतिहासिक थलो लुम्बिनीमा ल्याउन जरुरी रहेको प्रदेश सरकारका पयटनमन्त्री लिला गिरीको भनाइ छ । लुम्बिनीलाई विश्वको पर्यटनको केन्द्र र मुलुकको समृद्धिको आधार रहेको र त्यसैलाई साकार पार्न संघीय सरकारको नेतृत्वमा तीनै तहमा समन्वयका काम भइरहेको मन्त्री गिरी बताउँछन् ।
लुम्बिनीलाई बुद्ध धर्म र दर्शनमा आस्था राख्नेहरू मात्र होइन, विश्वकै शान्तिकामी जनताको आकर्षक केन्द्रका रुपमा लिइन्छ । लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसँग सम्बन्धित कपिलवस्तु, नवलपरासी र रुपन्देहीका सबै क्षेत्रलाई समेटेर एउटै सर्किट बनाउने काम पनि जारी छ ।
लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विशेष अध्यय्न गरेका संस्कृतिविद् झपेन्द्र जिसीले लुम्बिनीसँगै पाँच नम्बर प्रदेशका पर्यटकीय क्षेत्रलाई सर्किट बनाएर विकास गर्नुपर्ने धारणा राख्छन् । उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्ने हो भने समग्र प्रदेशमै विस्तार गर्न जरुरी रहेको बताए ।
कपिलवस्तुको तिलौराकोटसहितका सातवटा विशेष क्षेत्र, नवलपरासीको रामग्राम स्तुप, बुद्धको मामली रहेको देवदह क्षेत्र, सैनामैना क्षेत्र र बुद्धावलीका क्षेत्रलाई एकीकृत विकासमा लैजाने अभियानलाई साकार पार्न जरुरी रहेको उनको भनाइ छ ।
न्यू लुम्बिनी भिलेज, लुम्बिनी संग्रहालय, अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र, पवित्र उद्यान विहार क्षेत्र, परिक्रमा पोखरी, केन्द्रीय नहर, विश्व शान्ति सभाहल जस्ता कैयन संरचनाहरु निर्माण भइरहेका छन् । केही पूरा भएका छन् भने केही अधुरा छन् । पूरा भएका संरचनाको पनि शौन्दर्यकरण र रंगरोगन गर्नुपर्ने छ ।
तीनै तहमा समन्वय, स्थानीयमा अपनत्वको खाँचो
राजनीतिक अस्थिरतासँगै दलीय भागबण्डा, खिचातानी र स्वास्र्थका कारण गुरुयोजनाका काम प्रभावित भए । लुम्बिनी नै मागीखाने भाँडो बन्न थाल्यो । कोषले गुरुयोजना सक्ने भन्दा पनि बजेट सक्नेतर्फ ज्यादा ध्यान दिएको परिणाम नै अहिलेको लुम्बिनी हो । एकातिर यस्तो अवस्था छ भने अर्कोतर्फ स्थानीय समुदायलेसमेत लुम्बिनीको विकासका लागि अपनत्व गरिरहेका छैनन् । उनीहरुका प्रतिनिधिमा पनि राजनीतिक स्वार्थ र व्यक्तिगत लाभहानीका जोडघटाउ ज्यादा हुने गर्छ ।
स्थानीयले जबसम्म लुम्बिनीको विकासका लागि अपनत्व गर्दैनन्, तबसम्म लुम्बिनीका लागि थालिएका कामहरुले प्रभावकारी गति लिन पाउँदैनन् । लामो समयदेखि लुम्बिनीमा रहेर जानकारी हासिल गरेका अग्रज पत्रकार हेम विष्ट भन्छन्–‘लुम्बिनीको समग्र विकासका लागि राजनीतिक स्वार्थ त्याग्ने र स्थानीयले अपनत्व महशुस गर्ने हुनुपर्छ ।’
धेरै सम्भावना रहेको ग्रेटर लुम्बिनी
युनेस्कोको विश्व सम्पदा सुचीमा रहेको लुम्बिनी क्षेत्र बाहेक रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका बुद्धसँग सम्बन्धित स्थानहरु (सम्पदा) तिलौराकोट, देवदह र रामग्रामलाई समेटेर ग्रेटर लुम्बिनीको अवधारणा ल्याइएको हो । यस्को क्षेत्रफल पाँच हजार दुई सय ६० बर्गकिलोमिटरको रहेको विकास कोषले जनाएको छ । यो भूभाग शाक्यमुनी बुद्धको जीवन र जन्मभूमिसँग सम्बन्धित पुरातात्विक र धार्मिक मूल्यमा आधारित रहेको छ । पुरातात्विक र आध्यात्मिक महत्वपलाई हेर्ने हो भने ती तिन क्षेत्रमध्ये तीलौराकोट र रामग्राम आफैँमा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्न सक्ने सम्भावित क्षेत्रहरु हुन् ।
रुपन्देहीमा लुम्बिनीसहित देवदह र सैनामैनालाई बौद्धकालीन महत्वका क्षेत्रका रुपमा लिइन्छ । देवदह बुद्धको आमा मायादेवीको माइतीघर हो भने सैनामैना बुद्धको समयको पुरातात्विक महत्वको सभ्यता भएको प्राचिन सहरको प्रसिद्ध क्षेत्र हो । यसका अतिरिक्त तत्कालीन अंग्रेजलाई परास्त गरेको बुटवलको ऐतिहासिक जितगढी किल्ला, सिद्धबाबा धाम, मणिमुकुन्द सेन दरबार क्षेत्र सांस्कृतिक तथा ऐतिहासिक महत्वका क्षेत्र हुन् ।
यस्तै कपिलवस्तु गौतम बुद्धको गृहस्थ गाउँ हो । बुद्धभन्दा अगाडि जन्मिएका दुई बुद्ध (क्रकुचण्ड र कनककमणी) जसले मत्र्यमण्डलमा आए र प्रबोधन प्राप्त गर्दै निर्वाण प्राप्त गरेको जन्म पनि कपिलवस्तुमै भएको मानिन्छ । क्रकुचण्ड बुद्धको जन्म गोटीहवामा भएको हो भने कनकमणीको जन्म निग्लीहवामा भएको थियो । कपिलवस्तु एक सय ३० पुरातात्विक सम्पदा भएको खुला संग्रहालय हो । यहाँ हजारौं वर्ष पुरानो दरबार माटोमुनि दबिएर रहेको अवस्थामा छ । यस्को पूर्ण उत्खनन हुन जरुरी छ । तीलौराकोट, गोटीहवा, नीग्लीहवा, अरौराकोट, सागरहवा, र सिसनीयालगायतका स्थानहरु बुद्धसँग सम्बन्धित हुन् ।
प्राचीन कोलीया राज्यको महत्वपूर्ण क्षेत्र नवलपरासी हो । कोलीया राज्य बुद्धकी माता मायादेवीको माइती घर हो । यहाँ बुद्धको महत्वपूर्ण स्तुुपमध्येको एक अवशेष स्तुप रामग्राम स्तुप पर्दछ । रामग्राम स्तुपलाई बुद्धको पार्थिव शरीरको अवशेष रहेको एक मात्र स्तुप भनेर पनि विश्वास गरीन्छ ।
बुद्धको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमध्येको अर्को क्षेत्र हो–पण्डितपुुर । त्यसैगरी अर्को महत्वपूर्ण क्षेत्र त्रिवेणी धाम हो । यी जिल्लाबाहेक छिमेकका पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङलगायतका जिल्लामा हिल स्टेशनको विकास गर्न सकिन्छ । यी सबै क्षेत्रहरुलाई जोडेर प्रदेश ५ लाई मुलुककै महत्वपूर्ण पर्यटन क्षेत्रका रुपमा विकास र उत्थान गर्न सकिन्छ । अब पहिले महामारीलाई जितौं त्यसपछि सम्भावनालाई साकार पार्नतिर लागौंला ।