बन्दैछ मर्चवारको मुहार फेर्ने सडक

मेचीकाली संवाददाता

१० चैत्र २०८०, शनिबार
289 shares

अमृत गिरी

मर्चवार । तराईको अन्नभण्डारका रुपमा लिइने मर्चवार क्षेत्रको लाइफ लाइन मानिने बेलबास–बेथरी–मर्चवार–खैराघाट सडकको दक्षिणी भागको निर्माणकार्यले गति लिने भएको छ । सडकको मध्य भागमा रहेका रूख कटान नहुँदा मर्चवार खण्डको चार लेन सडकको निर्माणकार्य लामो समयदेखि अलपत्र थियो ।

विस्तारित सडक खण्डको बीचमै रुखहरु परेपछि मर्चवार क्षेत्रको गुरुवनिया देखि मर्यादपुर जोड्ने करिब १० किमी सडक खण्डको निर्माण कार्य झण्डै डेढ वर्षदेखि अवरुद्ध भएकोमा अहिले विवाद समाधान भएसंगै कामले गति लिने भएको हो । बेलबासदेखि बेथरीसम्म २१ किमी, बेथरीदेखि मर्चवार हुँदै भारतीय सीमावर्ती क्षेत्र खैराघाटसम्म पुग्न करिब ३० किमीको दुरी छ । अहिले खण्डको सडक स्तरीय बनाउने काम भइरहेको छ ।

२०७३ सालमा एक अर्ब ६७ करोड रुपियाँको लागतमा बेलबास–बेथरी सडकलाई तीन खण्डमा विभाजन गरेर काम सुरु गरिएको थियो । यीमध्येको एउटा महत्वपूर्ण खण्ड मर्चवार क्षेत्र हो ।

बेलबासबाट यही बाटो हुँदै लुम्बिनी र भारतीय सीमावर्ती क्षेत्र खैराघाट पुग्न सकिन्छ । यो सडकलाई तराईको अन्नभण्डार हुँदै उत्तर–दक्षिण जोड्ने लाइफलाइन सडकका रुपमा विकास गर्ने लक्ष्यसहित पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ड्रिम प्रोजेक्टका रुपमा योजना अगाडि सारेर आवश्यक बजेटको निरन्तरताको प्रबन्ध मिलाएका थिए ।

पूर्वमुख्यमन्त्री सहितको टोलीद्वारा निरिक्षण
अलपत्र र अवरुद्ध सडक खण्डको मर्चवारमै पुगेर लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीसहितको टोलीले शनिबार सडक खण्डको निरिक्षण गरेको छ । निर्माणकार्यको अवस्थाबारे निरिक्षण गरेका एमाले संसदीय दलका नेता गिरीले मर्चवार क्षेत्रको सडक विस्तारका लागि सरोकारवाला निकायसंगको समन्वयमा समस्या समाधान भएको बताए ।
लोसपाका नेता तथा प्रदेश सभा सदस्य कन्यैया बानियाँ, एमाले नेतृ तथा पूर्वसांसद सुनिता ठटेरलगायतलाई नेता गिरीले मर्चवारको गोनहाबाटै टेलिफोन गरेर आयोजना स्थलमा बोलाएका थिए ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका नेता गिरीले मर्चवारको समृद्धिको मुख्य आधारको रुपमा रहेको चार लेन सडकको निर्माणकार्य कुनैपनि बहनामा रोकिन नहुने बताए । उनले सडकको विस्तारसंगै मर्चवार क्षेत्रमा कृषि, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका अरु योजनाबद्ध कामलाई सबैको समन्वयमा अगाडि बढाइने बताए ।

नेता गिरीसंगै राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, पूर्व सांसद दधिराम न्यौपाने, सुनिता ठटेर, पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र नागरिक अगुवाहरुको सहभागितामा अवरुद्ध खण्डको अवलोकन र निरिक्षण भएको थियो ।

विवाद समाधान, अब फटाफट काम
कहिले रुख कटानको अनुमतिमा ढिलाई त कहिले काटेपछिको काठको स्वामित्व त कहिले के भन्दै लामो समयदेखि अलपत्र परेको सडक खण्ड हो यो । अब भने निर्माण कार्य अगाडि बढ्नेगरी वातावरण तयार भएको छ । सरोकारवाला निकाय र स्थानीय सबैसंग समन्वय भइ विवाद निरुपण गरिएपछि कामले गति लिने वातावरण बनेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर लालु गिरीले बताए ।

करिब १० किमी सडक खण्डमा बीच भागमै पर्नेगरी एक सय भन्दा धेरै रुख रहेका छन् । तीमध्ये पिच गर्ने भागमै परेका रुखलाई पहिलो चरणमा हटाउने काम सुरु भएको इन्जिनियर गिरीको भनाइ छ । स्थानीय अगुवाहरु र राज्यका सम्बन्धित निकायका अधिकारीहरु सहितको टोलीको रोहबरमा सम्बन्धित निकायकै प्रतिनिधिले बीच सडकमा परेका रुख हटाउने काम गरिरहेका छन् । लुम्बिनी–अर्घाखाँची–बाबुल जेभीले गुरवानियाँदेखि मर्चवारको मर्यादपुरसम्मको करिब १० किमी सडकमा अब रुख हटाएसंगै कालोपत्रे हुनेछ ।

असार मसान्तसम्म सक्ने तयारी
सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीले उक्त कम्पनीसित २३ करोड १२ लाख ८९ हजार रुपैयाँमा २०७७ कात्तिक १६ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० वैशाख ३१ सम्म यसको निर्माण सकिनुपर्नेमा रुख कटानको अनुमतिले ढिलाई भएको हो । अब असार मसान्तसम्मको म्याद थप भएको छ र सो अवधिसम्म सक्ने तयारी छ ।

लस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख दामोदर सापकोटाका अनुसार सडक निर्माण भइरहेको जग्गा मर्चवार लिफ्ट सिँचाइ आयोजनाले मुआब्जा तिरेर खरिद गरेको हो । उक्त जग्गाको स्वामित्व संघ मातहत छ । रूख कटान सम्बन्धी समस्या परेपछि २०७९ चैत २८ गते सिँचाइ विभागलाई पत्र लेखेर समस्या समाधानका लागि अनुरोध गरिएको र समन्वयमा समस्याको समाधान भएर सडक निर्माणको वातावरण बनेको बताए ।

मर्चवारबासी हर्षित
मर्चवारदेखि जिल्लाकै अरु पालिकामा आउजाउ गर्न, सदरमुकाम र लुम्बिनी आउजाउ गर्नसमेत पहुँचका सहज मार्ग थिएनन् । वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक थिए ।
वर्षौंदेखि स्तरीय सडक नहुँदा मर्चवार क्षेत्र पछि पर्दै आएको थियो । तर, केही वर्षअघि मात्रै मर्चवारमा विकासको लहर ल्याउनेगरी एमाले नेतृत्वको सरकारले काम अगाडि बढाएपछि अब मर्चवारको मुहार फेरिने भएको छ । मर्चवारसहित तराईका सबै जिल्लाका सदरमुकाम र नजिकैको राजमार्ग जोड्नेगरी व्यवस्थित सडक निर्माणको योजना एमाले नेता विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि अगाडि सारेका थिए ।

त्यसबेला अगाडि सारेको अर्को ड्रिम प्रोजेक्ट यहीँ बेलबास–बेथरी–मर्चवार सडक हो । यो सडक अन्तर्गतका अधिकांश खण्ड निर्माण पूरा भएपनि मर्चवार क्षेत्रकै सडकखण्ड अलपत्र परको थियो । अहिले एमाले नेताहरुकै पहलमा समस्या समाधान भएपछि लाइफलाइन मानिएको सडकको निर्माण कार्य अगाडि बढ्ने भएको छ । यसले स्थानीयाबसी खुशी भएको मर्चवारका नागरिक अगुवा कमलेश यादवले बताए ।

एमालेको नेतृत्वमा बनेको सरकारले नै मर्चवारको मुहार फेर्नेगरी विकासको कामको थालनी गरेको भन्दै सम्मरीमाइका स्थानीय मुस्लिम खानले पहलकर्ता नेताहरुलाई धन्यवाद दिए । लामो समयदेखि नै काम अलपत्र पर्दा निराशा भएका स्थानीय अब कामले गति लिएपछि खुशी छाएको खानको भनाइ छ ।

पूर्वमन्त्री रहेका स्थानीय बासिन्दा ओमप्रकाश यादवले मर्चवारको ‘लाइफलाइन’ सडकलाई अगाडि बढाउन पहल गर्ने एमाले नेताहरुलाई धन्यवाद दिए । अर्का स्थानीय हरिषचन्द्र सिंहले उत्तर–दक्षिण हुँदै तराई र चुरे क्षेत्रलाई भारतीय सीमावर्ती क्षेत्रसंग जोड्नेगरी महत्वपूर्ण सडक निर्माण हुनु मर्चवारबासीका लागि उपयुक्त अवसरको सिर्जना भएको बताए ।