अमृत गिरी
बुद्धकालीन समयको आफ्नै सभ्यता बोकेको सैनामैना नगरपालिका रुपन्देही जिल्लाको महत्वपूर्ण नगरपालिका हो । साविकका पर्रोहा, दुधराक्ष, सालझण्डी गाविसहरु जोडिएर नगरपालिका बनेको हो । सैनामैना नगरपालिका बुद्धकालीन समयको आफ्नै सभ्यता बोकेको ऐतिहासिक नगरी हो ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखी १६ किलोमिटर उत्तरतर्फ, प्रदेश पाँचको राजधानी अर्थात् बुद्धबलीको बुटवल उप–महानगरपालिकासँग जोडिएको, लुम्बिनी र हिमालको दृश्य एकै ठाउँबाट दृश्यावलोकन गर्न सकिने ऐतिहासिक पर्यटकीय महत्वको वलिहाङ राजाको दरबार रहेको स्थल पाल्पाको बल्डेङ्गगढीबाट करिब १२ किलोमिटर दक्षिणतर्फ अवस्थित छ । लुम्बिनी र पर्यटकीय सम्भावनाका हिल स्टेशनका पहाडहरुलाई जोड्ने महत्वपूर्ण विश्राम स्थलका रुपमा सैनामैना रहेको छ ।
यस सैनामैना नगरपालिकाको पूर्वमा बुटवल उप–महानगरपालिका, पश्चिममा कपिलधामको पवित्र क्षेत्र कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका, उत्तरमा पाणिनी तपोभूमिको अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका, हिल स्टेशनको प्रचर सम्भावना बोकेको पाल्पाको ऐतिहासिकि रैनादेवी छहरा गाउँपालिका र तिलोत्तमा सभ्यता बोकेको तिनाउ गाउँपालिका, दक्षिणमा रुपन्देहीकै शुद्धोधन, कञ्चन र गैडहवा गाउँपालिकाको चारकिल्ला भित्र अवस्थित छ । रुपन्देहीको मध्यभागमा रहेको र सबै पालिकाहरुका साथै छिमेकी जिल्लाहरुलाई समेत जोड्न सक्ने संगम स्थलका रुपमा रहेको छ ।
सैनामैना नगरपालिकाको कूल क्षेत्रफल १६२.१८ वर्ग किमी रहेको छ भने समुन्द्र सतहबाट ३८१ फिट देखि ३१५० फिटसम्म उचाइमा रहेको छ । पूर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको सैनामैना नगरपालिका करिब १९ किमी सिधा लम्बाइ रहेको छ । नगरपालिकामा कुल ११ वटा वडा रहेका छन् । यहाँको जनसंंख्या करिब ८० हजार पुगेको अनुमान छ । ०६८ सालको जनगणनामा भने यो नगरपालिकाको जनसंख्या ५५ हजार रहेको थियो ।
सैनामैनाको परिचय यतिमा मात्रै सीमित छैन । धेरै वर्ष पहिले भोट अर्थात् तिब्बत र भारतका बीचमा हुने व्यापारको एउटा मार्ग यहीँबाट थियो । भारत र भोटसँग नेपाललेसमेत व्यापार गर्ने गथ्र्यौँ । त्यतिबेला नै यहाँको बाटो भएर व्यापारीहरु, भरियाहरु र पैदल यात्रीहरु आवत–जावत गर्ने गरेको कुरा इतिहासहरुमा उल्लेख भएको पाइन्छ । बुद्धबली र रेशममार्गको प्राचीन सहरका रुपमा सैनामैना रहेको छ ।
अहिले चिनले वान वेल्ट, वान रोड अर्थात् शिल्क रोडका रुपमा विस्तार गरिरहेको रोडको प्राचीन खण्डमध्ये यहाँ पनि पर्दछ । बुटवलको जितगढी, नुवाकोट हुँदै पाल्पा, गुल्मी, स्याङ्जा तथा बाग्लुङ हुँदै मुस्ताङको कोरला पुगेर चीनमा जाने सडकको मार्ग यो पनि रहेको उल्लेख छ । अहिले बहुप्रचारित लुम्बिनी–ढोरपाटन सडक यहीँ सैनामैना हुँदै विस्तार भइरहेको छ । यो सडकले लुम्बिनी–ढोरपाटनलाई जोड्ने मात्रै होइन, भारत र चीनलाई पनि एकआपसमा जोड्ने विश्वास गरिएको छ । सैनामैना नगरपालिकाले यहीँ सडकलाईसमेत जोडेर आफ्नै चक्रपथ निर्माण गरिरहेको छ । चक्रपथले ११ वटै वडाहरु जोड्ने मात्रै होइन, छिमेकका स्थानीय तहहरु र लुम्बिनीलाई पनि सञ्जालमा जोड्ने छ । चक्रपथ पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सैनामैना–बुटवलको सीमाना बनकट्टाबाट सुरु भएर उत्तरतर्फ चुरेको फेँदीबाट एक चक्कर लगाउँदै ढोरपाटन सडकसम्म जोडिएर दक्षिणतिर विस्तार भइरहेको छ । जनप्रतिनिधि निर्वाचित भइसकेपछिको एउटा अर्को महत्वपूर्ण कदम हो यो ।
लुम्बिनी, चुरेको हरियाली, हिल स्टेशनका रुपमा रहेका नजिकै रहेका पहाडहरु र सैनामैनाका समृद्धिका आधारहरुलाई मध्यनजर गर्दै गुरुयोजना बनाइएको नगर प्रमुख कार्कीको भनाइ छ । पर्यटन, कृषि, पशुपालन, जलसम्पदा, वन जंगलहरु नै यहाँका समृद्धिका आधार हुन । बुद्धकालीन समयका कैयौं वस्तुहरु फेला परेको र माटोमुनि रहेका त्यस्ता सम्पदाहरुलाई उत्खनन गर्दै संरक्षणको अभियान पनि जनप्रतिनिधि निर्वाचित भएपछि अगाडि बढेको छ ।
बुद्धकालीन समयको सैनामैना सभ्यता
बुद्धकालीन समयको सैनामैना सभ्यता र शिल्क रोडको एउटा खण्डका रुपमा रहेको जिवित प्रमाण यहाँ प्रसस्तै रहेका छन् । एउटा जीवित इतिहास बोकको सम्पदालाई संरक्षण गरेर पर्यटन विकासका आधारमा रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । इतिहासविद, संस्कृतिविद तथा पर्यटनविद्सहितको गठित कार्यदलको समन्वयमा सैनामैना क्षेत्रको अध्ययन अनुसन्धान गरी ऐतिहासिक, पुरातात्विक तथा सास्कृतिक मूल्यहरुको पहिचान, संरक्षण र विकास गर्ने योजना नगरले अगाडि बढाएको छ ।
नेपाल सरकारको सहयोगमा बुद्धकालीन ऐतिहासिक शहरमा पाइएका पुरातात्कि महत्वका मूर्ति र वस्तुहरु एकीकृत गरी प्रदर्शनको लागि संग्रहालय निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको छ । यस्का लागि सैनामैना–१ मा रहेको खाली जग्गामा विस्तृत परियोजना प्रतिवेदन तयार भई काम सुरु हुन लागेको छ । त्यहीँ मुलुकको ठूलो संग्रहालय बन्दै छ ।
लुम्बिनी परिपथ परिक्रमा कार्यक्रमलाई व्यवहारमा रुपान्तरण गर्ने काम सुरु भएको छ । बढाएको छ । यस सेवाबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरु तथा सर्वसाधारणहरुलाई यातायात सुविधा पुग्ने छ ।
खासगरी सैनामैनालाई बुद्धकालिन समयको आफ्नै सभ्यता रहेको पुरानो स्थल मान्ने धेरै आधार र प्रमाणहरु यहाँ भेटिन्छन् । तत्कालीन सेन राज्यका दरबार, पदमपाणी लोकेश्वरको दरबारका भग्नावशेषहरु यहीँ भेटिनुले पनि सैनामैना यस क्षेत्रको ऐतिहासिक स्थल हो । यहाँ अहिले पनि बुद्धकालीन समयका विभिन्न संरचनाहरु, इटाहरु, ढुंगामा कुँदिएका मूर्तिहरु, त्यतिबेलाका राजा रानीले स्नान गर्ने रानिकुवा, राजाकुवा (ठूली कुवा) जस्ता ऐतिहासिक सम्पदाहरु यहाँ फेला परेका छन् । तर, यस्तो ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने र उजागार गर्ने काम भने जनप्रतिनिधिहरु चुनिएपछि मात्रै सुरु भएको छ ।
बुद्ध सर्किटको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको सैनामैनालाई सरकारले थप नयाँ एक सय पर्यटन गन्तव्यमा समेत समावेश गरेको छ । यस्ले अरु उत्साह बढाउने काम भएको छ । बहुचर्चित बुद्ध–सर्किटको राष्ट्रिय दस्तावेजले सैनामैनालाई पनि बृहत् बुद्ध सर्किटमा समावेश गरेको छ ।
सरकारले दुई वर्ष अघि बृहत् बुद्ध सर्किटको खाका बनाउन पर्यटनविद् रविजंग पाण्डेको संयोजकत्वमा बुद्ध धर्मका ज्ञाता, विज्ञ र प्राविधिकहरु समावेश गरेर विशेष टोली गठन गरी यस्तो खाका बनाउन खटाएको थियो । सैनामैनालाई लुम्बिनी र कपिलवस्तुपछि तेस्रो महत्वका रुपमा उक्त रुटमा सामेल गरिएको छ । लुम्बिनीसहित बुद्धसँग सम्बन्धित ग्रेटर लुम्बिनीका क्षेत्रलाई मुख्य रुटका रुपमा राखिएको छ । यहीँ रुटलाई आधार मानेर पूर्वको हलेसीदेखि पश्चिम दैलेख, दुल्लु र कालीकोट हुँदै मानसरोवरसम्मको रुट उक्त दस्तावेजमा छ । यस्तै अहिले चीनले वान बेल्ट वान रोडका रुपमा अगाडि बढाएको शिल्क रोडलाई समेत जोडेर अर्को विशेष रुट तयार भएको छ । जुन रुटमा सैनामैना पनि समावेश छ । बुद्ध–सर्किटलाई मुलुकभर फैलाउने उद्देश्यका साथ यस खालको दस्तावेज बनाइएको हो । दस्तावेजमा लुम्बिनीलाई केन्द्रमा राख्दै कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धकालीन सम्पदाहरुलाई समेटिएको छ ।
लुम्बिनीदेखि कैलास मानसरोवरसम्मको रुट सर्किटमा समेटिएको छ । यस्तै चीनले सुरु गरेको वान वेल्ट वान रुटको रेशम मार्गमासमेत यो बुद्ध सर्किटको रुटलाई जोडिएको छ । ग्रेटर लुम्बिनी बुद्धिष्ट सर्किटलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसमा लुम्बिनी–कपिलवस्तु–सैनामैना–बुटवल–तानसेन–देवदह–रामग्राम क्षेत्रलाई समावेश गरिएको छ । योसहित पूर्वको हलेसी हुँदै कोरला, सगरमाथा क्षेत्र, कञ्चनजङ्घा र मानसरोवरसम्मको आठ वटा रुटको दस्तावेज तयार पार्दै त्यसैमा परामर्श गरिएको थियो । बुद्ध आफैँले जीवनमा एकपटक लुम्बिनी (बुद्ध जन्मभूमि) का साथै भारतमा रहेका बोधगया (ज्ञानप्राप्त भूमि), सारनाथ (पहिलोपटक शिष्यलाई ज्ञान दिनुभएको भूमि) र कुशीनगर (परमधाम गमन) को भ्रमण गर्नुपर्ने बताउनुभएको थियो । यिनै क्षेत्रलाई समेटेर भारतले समेत बुद्ध सर्किट बनाइरहेको छ ।
बौद्धकालीन सम्पदाको संरक्षण र उत्खननको खाँचो
कपिलवस्तु, रुपन्देही र नवलपरासीमा दुई सयभन्दा बढी बुद्धसम्बन्धी पुरातात्विक स्थल छन् । बद्धबल्लीमा पर्ने रुपन्देहीका बुटवल, सैनामैना, देवदह, तिलोत्तमा क्षेत्रमा कैयौं सम्पदाहरु त्यसै पुरिएको, नासिँदै र मासिँदै गएको अवस्था छ । कपिलवस्तुका सम्पदा र बुद्धकालिन सैनामैना सभ्यताको त उत्खनन हुनै सकेको छैन् । सैनामैना क्षेत्रमा बुद्धकालिन समयमा कैयौं वस्तुहरु लुम्बिनीमा लगिएको छ भने कतिपय स्थानीय बासिन्दाको अज्ञानताका कारण हराएको अवस्था छ । कपिलवस्तुमा मात्रै एक सय ३६ भन्दा बढी धेरै पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक पर्यटकीय बौद्धस्थल पत्ता लागेका छन् । जमिनमुनि दबिएर रहेको अवस्थाको हजारौं वर्ष पुरानो सभ्यताको (दरबार क्षेत्र) उत्खनन हुन सकेको छैन । मुख्यमन्त्री शंकर पोखरेलको पहिलो जोड यिनै हजारौं वर्ष पुराना सभ्यताहरुको संरक्षण र उत्खनन मै छ । उहाँले यस प्रदेशको समृद्धिको पहिलो आधार नै पर्यटन रहेको कुरामा जोड दिँदै आउनुभएको छ । पर्यटन विकासका लागि यो खाका एउटा उपयुक्त माध्यम हुने निश्चित छ ।