टोपलाल अर्याल
गुल्मी, वैशाख २७ । कोरोना संक्रमणको कारण लकडाउन बढ्दै गएपछि थुप्रै्र कृषक मारमा परेका छन् । जसका कारण कृषकहरुले अण्डा फोरेको, दुध पोखेका र तरकारी फ्याँकेका खबर आइरहेका छन् । तर गुल्मीको छत्रकोट गाउँपालिकाले लकडाउनका कारण कुखुराहरुको बिक्री वितरणमा समस्या परेपछि कुखुरा उत्पादकहरुलाई अनुदान उपलब्ध गराएको छ ।
छत्रकोट गाउँपालिकाले २७ वटा कुखुरा फर्म सञ्चालकहरुलाई तीन लाख ५४ हजार रुपैंयाँ अनुदान रकम उपलब्ध गराएको छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए । एकैचोटी धेरै उत्पादन हुने र लकडाउनका कारण उत्पादित कुखुरा बिक्री वितरणमा नहुने गुनासो आएपछि गाउँपालिकाले कुखुरा व्यवसायीहरुलाई राहतस्वरुप अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको पन्थले बताए ।
छत्रकोट गाउँपालिकाले कुखुराको संख्याको आधारमा २७ वटा फर्मका सात हजार ८० ब्रोइलर कुखुरालाई प्रति कुखुरा ५० रुपैंयाँका दरले अनुदान उपलब्ध गराएको छ । उत्पादित कुखुरामा अनुदान उपलब्ध गराउनका लागि गाउँपालिका उपप्रमुख नर्मदा भण्डारीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र पशु सेवा शाखा प्रमुख सदस्य रहेको अनुगमन समितिसमेत गठन भएको छ । अनुगमन समितिले कुखुरा उत्पादकहरुको फर्ममा पुगेर कुखुराको अवस्था र संख्याको बारेमा प्रत्यक्ष रुपमा निरीक्षण गरेपछि व्यवसायीहरुलाई अनुदान रकम उपलब्ध गराएको गाउँपालिका प्रमुख मधुकृष्ण पन्थले बताए ।
गाउँपालिकाले कुखुरा फर्म व्यवसायीहरुको समस्यालाई बुझेर थोरै भएपनि राहत प्रदान गरेको छत्रकोट–२ पल्लीकोटका कुखुरा फर्म सञ्चालक डिल्लीराज खनालले बताए । खनालका अनुसार समयमै कुखुरा बिक्री नहुँदा अहिले स्थानीय फर्महरुमा तीनदेखि चार किलोसम्मका ब्रोइलर कुखुराहरु रहेका छन् । गुल्मीको स्थानीय बजारमा अहिले ब्रोइलर कुखराको मूल्य प्रति किलो एक सय ४० देखि ८० रुपैंयाँसम्म रहेको छ ।