अमृत गिरी
प्रदेश ५ मा रहेका सीमावर्ती जिल्लाका विभिन्न नाकाबाट लुकेर मुलुक प्रवेश गर्नेक्रम रोकिएको छैन । वैधानिक रूपमा सीमाबाट प्रवेश नपाएपछि उनीहरू रातिराति लुकीछिपी आउँदाको जोखिम ठूलो छ । दिनहुँजसो लुकिछिपी नेपाल भित्रिने क्रम बढेपछि यसले सर्बत्र चिन्ता बढाएको छ । खासगरी कपिलवस्तु, रुपन्देही, नवलपरासी जिल्लाका सीमावर्ती क्षेत्रमा दसगजाबाट हिंडेरै रातिराति नेपालमा भित्रिनेहरु एकातिर जोखिममा छन् भने उनीहरुका कारण सिंगो समुदाय जोखिममा छ । यसलाई कत्ति ढिलाई नगरिकन व्यवस्थापन गरियोस् ।
अहिले नेपालमा संक्रमित देखिएकाहरु केही दिनअघि भारतबाटै लुकेर भित्रिएका हुन् । उनीहरुमा देखिएको संक्रमणका आधारमा जोखिम कुन तहमा छ भन्ने कुरा प्रष्ट हुन्छ । जोखिम कम गर्नका लागि सीमामा रोकिएका र आउन चाहेका नेपालीलाई सुरक्षित उपाय अपनाएर भित्राउनुपर्छ । उनीहरुलाई तत् तत् पालिकामा व्यवस्थित क्वारेन्टाइनमा राख्नुपर्छ । यसो भयो भने उनीहरु स्वदेशमा आउनेछन् र संक्रमण भएमा त्यसको जोखिम पनि कम हुने छ ।
प्रदेशका सीमावर्ती ६ जिल्लाका दशगजामा तीन हजार हाराहारी व्यक्ति रहेको अनुमान छ । यद्यपि दुबैतिरका सुरक्षा संयन्त्रमा यकीन तथ्यांक छैन । नेपाल तर्फको भूमिमा व्यवस्थित चेकपोष्ट छैन भने भारतीय सीमा सुरक्षा बलले जबर्जस्ती नेपाल पठाउने गरेको छ । यो सीमावर्ती क्षेत्र, जिल्ला, प्रदेशका लागि मात्रै होइन सिंगो मुलुकका लागि भयंकर जोखिम बढाउने विषय हो । यस्तो संवेदनशिल विषयमा कत्तिपनि ढिलाई नगरिकन काम थाल्नुपर्ने छ ।
सोमबार बिहान लुकेर सीमापार गरेका सैनामैनाका एक युवा छिमेकी अर्का युवा संगको समन्वयमा सिधैं क्वारेन्टाइनमा गएका छन् । तर, उनीसंगै सीमाबाट लुकेर छिरेका विभिन्न जिल्लाका अरु ५९ जना युवालाई समन्वय गरेर तत्तत्का पालिकामा क्वारेन्टाइन निर्माण गरेर त्यहीँ पठाउन जरुरी छ । भारतले लकडाउन खुकुलो बनाएर प्रवासी कामदारलाई उनीहरूको गन्तव्यमा पु¥याउन सुरु गरेदेखि नै नेपालका सीमावर्ती क्षेत्रमा तनाव सुरु भएको हो । अब मुलुक आउन चाहने नेपालीलाई न रोक्न सकिन्छ न यत्तिकै भित्राउन ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी केहिलेसम्म रहन्छ भन्नेबारे आँकलन गर्न सकिदैन । त्यसैले कोरोनाभाइरसको संक्रमणबाट बाच्नका लागि शारीरिक रुपमा सफाइसँगै मानसिक रुपमा स्वस्थ रहन आवश्यक छ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको बेलामा खुकुलो पारिएको लकडाउनमा कार्यस्थलबाट घरमा आउने जाने गर्ने व्यक्तिहरुले विषय ध्यान दिनुपर्ने छ । आत्मबल उच्च राखेर नियमित रुपमा योगा अभ्यास, ध्यान, प्रणायाम गरौं । घरमै बसौं, सजग रहौं, सावधान रहौं र सुरक्षित रहौं ।