बश्याल वंश समाज नेपालको साधारण सभा तथा स्थापना दिवस सम्पन्न

मेचीकाली संवाददाता

१६ चैत्र २०८०, शुक्रबार
58 shares

बुटवल । बश्याल वंश समाज नेपालको २८ औँ साधारणसभा तथा स्थापना दिवस शुक्रबार तिलोत्तमामा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका–१६ पर्सहवामा एक कार्यक्रमको आयोजना गरी साधारणसभा तथा स्थापना दिवस मनाइएको हो ।

साधारण सभाको नेपाल सरकारका पूर्वसचिव हरिप्रसाद बश्यालले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले बश्याल बन्धुहरू जहाँ भए पनि संगठित भएर बढ्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले बन्धुहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा समाजले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । समाजको गठनले समग्र बश्यालहरुको पुस्ताको जानकारीसँगै एक आपसमा सुख, दुख साटासाट गर्नुका साथै सहयोगी भावनाको विकास गर्ने हुँदा सबैको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।

यस्तै समाजका केन्द्रिय अध्यक्ष रामप्रसाद बश्यालले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । सुरुमा देशका विभिन्न भागमा छरिएर रहेका बश्याल बन्धुहरुलाई एउटै छातामुनि समेटेर भाइचाराको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्य अनुरुप समाज गठन भएको अध्यक्ष बस्यालले बताए । विभिन्न सामाजिक कार्यसँगै बन्धुहरुलाई एकताबद्ध गर्ने कार्यमा समाज निरन्तर रुपमा लागेको उनको भनाइ थियो । तिलोत्तमामा निर्माणधिन अवस्थामा रहेको समाजको केन्द्रीय कार्यालय भवन आगामी एक वर्ष भित्रमा सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा समाजका कोषाध्यक्ष होमकान्त बश्याल (शंकर) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव बिष्णुप्रसाद बश्यालले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल सरकार पूर्व सचिव रुद्रराज बश्याल, कौशलराज बश्याल, धनिश्वर बश्याल, कृष्णप्रसाद बश्याल, मणीप्रसाद बस्याल, चन्द्रकान्त बश्याल, दीर्घायु हस्पीटलका डा.चन्द्रमणि बश्याल, अर्जुन बश्याल, रामप्रसाद बश्याललगायतले बोल्दै समाजलाई अझै सक्रिय रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
यस्तै, कार्यक्रममा समाजका उपाध्यक्ष होमराज बश्याल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बश्याल, रामप्रसाद बश्याल, कोशलराज बश्याललगायत विभिन्न क्षेत्रीय संयोजकहरुको सहभागिता रहेको थियो ।

समाजले तिलोत्तमा–१६ पर्सहवामा २ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न दुईतले केन्द्रिय कार्यालय भवन बनाउने योजनाअनुसार भवन निर्माणको काम भइरहेको छ । उक्त भवनको पहिलो तलामा ३ सय जना अट्ने सभाहल र माथिल्लो तलामा केन्द्रिय कार्यालय, क्षेत्रिय कार्यालय, बैठक हल, पूजारी कोठालगायत बन्ने समाजका महासचिव विष्णुप्रसाद बश्यालले जानकारी दिए । २०८० असारमा शिलान्यास भएको भवनको पहिलो तलाको ढलाइ सम्पन्न भइसकेको छ ।

भवन निर्माणका लागि दुई करोड ५० लाख लागत अनुमान गरिएको समाजका कोषाध्यक्ष होमकान्त बश्यालले बताए । भवन निर्माण कार्य अघि बढिरहँदा आवश्यक रकम अभाव भएकाले दाताहरुलाई सहयोग गर्न उनले आग्रह गरे । भवन मापदण्डअनुसार निर्माण भैरहेको भवन निर्माण समितिका संयोजक कृष्णप्रसाद बश्यालले बताए ।

स्थापना दिवसको अवसरमा दीर्घायु हस्पिटलको प्रविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यस्तै समाजले प्रकाशन गरेको वि.सं २०८१ सालको भित्तेपात्रो विमोचन गरिएको थियो भने समाजका प्रेस सल्लाहकार चण्डीप्रसाद बश्याललाई सम्मान गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष रामप्रसाद बश्यालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बश्यालको स्वागत तथा सचिव जिवलाल बश्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।