प्रा.डा.ऋषिराम शर्मा
नेकपाभित्र अहिले दुईतिहाईको बालीमा दाइँमाडो गर्न छ छ महिनामा कसरी सरकार बदल्ने भन्ने जनताले मतदानमार्फत झापड दिएको अर्थात् पटक्कै नरुचाएको नयाँ नामको उही पुरानो दुर्गन्धित र घृणित सूत्रको खोजी हुँदैछ ! नेकपाको निर्वाचित अध्यक्ष, नेकपा एकीकरणका मुख्य अभियन्ता र निर्वाचन अभियानका चमत्कारी कमान्डर केपी ओली सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ! र नेकपा एकीकरणकै अर्का अभियन्ता पार्टी अध्यक्ष हुनुहुन्छ । निर्वाचनमा पराजित हुनु भएका र विजयी हुनु भएका समेत वरिष्ठ नेताहरू सचिवालयमा हुनुहुन्छ ।
अझै भन्ने हो भने, सरकारमा जो–जो मन्त्री हुनुहुन्छ तीती पनि पार्टीकै वरिष्ठ नेताहरू नै हुनुहुन्छ । मन्त्री बन्न जतिजनालाई भोक र तिर्खा लागे पनि र घाटमै लान पर्ने अवस्था आए पनि संविधानमै २५ जना भन्दा मन्त्री राख्न नपाउने व्यवस्था छ । सरकार पनि पार्टीकै छ र बेलाबेला सचिवालय एवम् विगत तीन महिना पहिले केन्द्रीय समिति समेत बसेर सरकारका कामलाई सन्तोषजनक भनी मूल्यांकन गरेको मसी ओभाएको पनि छैन !
फेरि पनि, कहिले सरकारले राजीनामा दिनु पर्छ त कहिले पार्टीका निर्देशनअनुसार चल्नु पर्छ भनेर यस्तो रटान दिइँदै छ कि मानौँ यो सरकार पार्टीकै सरकार होइन ! मुलुकमा एकातिर दैवको लाठी बनेर जनतामाथि कोरोना आतंक बर्सिरहेको छ भने अर्कातिर नेपाली भूमिको अस्मिता लुट्ने छिमेकीले डोजर र हातहतियारसहित लिपुलेक र लिम्पियाधुरामाथि निरन्तर बलात्कार गरिरहेको छ । यी दुईविरुद्ध जनता जोगाउने र मुलुक बचाउने विधि र पद्धतिको खोजी गर्नु पर्नेमा राष्ट्रियता बचाउन गर्दा लिएर उठ्नु पर्ने भीमहरू सिंहदरबारको हस्तिनापुरमा आँखा गाड्दै छन् र दुर्योधनका अवतारमा अवतरित हुँदै छन् । महामारी र सङकटका बेला यो सबै लिपुलेकका लुटेराकै निर्देशन बमोजिम अस्थिरता निम्त्याउन रचिएको षडयन्त्र हो कि भन्ने आशंका गर्नेहरूलाई बल पुग्दो छ !
मुलुक बचाउने विधिको खोजी आज र अहिलेको मूल आवश्यकता भएकाले एक हुनुपर्ने बेला मुलकमै अस्थायित्व निम्तिने गरी मिडियाका पर्दा र कागजहरूमा आफैँ अनुशासनहीन, अराजक, उद्दण्ड शब्द ओकल्नेहरूले विधि र पद्धतिको कुरा गर्दा विचरा विधि र पद्धति शब्द पनि रनभुल्ल परेर टोलाएका छन् कि झैँ लाग्दै छ । यो सबै जात्रा हेर्दा यस्तो लाग्दै छ, पिलो भन्न नहुने ठाउँमा आएको छ र त्यसैका रापतापले आएको ज्वराको कारण सबैले (ज्वरो ज्वरो भन्दै) विधि र पद्धतिका नामको हल्ला मच्चाउँदै टाउकामा चिसो पानीपट्टी हालेर निको पार्न खोज्दै छन् !
एकथान राजा हटाउन उहाँहरूको केही प्रतिशत योगदान त छ तर एउटा राजा गए पछि आफैँभित्रबाट अनेकौँ नवराजा, रानी र युवराज्ञी जन्मेको अनुभूत जनताले नगरून् भन्ने आशामा तुषारापात होला कि भन्ने भय पनि त्यत्तिकै छ ! अब उही संसदीय व्यवस्थाको रङ्गशालामा रातो जर्सी लाएर खेल्नै परेपछि उही ठाउँमा त्यहाँ पहिलेदेखि जनताको बहुदलीय जनवादी विचारधाराअनुरूप रातै जर्सी लगाएर खेल खेलिरहेको टिमसँग मर्ज हुने निर्णय आवश्यक पनि थियो । उस्तै पार्टी हुँदाहुँदै अलग्गै गुट मनाएर माक्र्सवादका अलगअलग थानमा धजा चढाउनुको रकम्युनिस्ट पार्टीका अलगअलग स्टल राख्नु वा बल्छी थाप्नुको कुनै तुक नभएको महसुस गरी पार्टी एकीकरण गर्नमा कामरेड केपी र कामरेड प्रचण्डले योगदान गर्नु भएकै हो ।
पहिलो कुरो त के हो भने यो पार्टी सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेकाले विधि र पद्धतिअनुसार बन्न बाँकी छ । यो पार्टीमा सङ्क्रमणकालीन अवस्था रहुञ्जेल दुई अध्यक्षको सहमति नै एक मात्र विधि र पद्धति हो । तसर्थ विधि र पद्धतिअनुसार यो पार्टी त्यतिखेर बन्दछ जतिखेर यसको महाधिवेशन भएर नयाँ नेतृत्व चयन हुन्छ ।
विद्यमान पार्टी कमिटि त राणाकालमा राणाहरूले सिङ्गै जिल्ला र क्षेत्र स्थानीय सामन्तलाई मौजा हुकुम प्रमाङ्गीबाट बख्सिस दिएझैँ एकीकरणका दुई नेताका निगाहमा कोटा र भागबण्डाको गणितअनसार मनोनित हुलहरूको समूह हो । त्यो हुलले माथिबाट आएको निर्देशन पालन गर्ने हो । यस्तो समितिले प्रधानमन्त्रीको र प्रचन्डको अध्यक्षबाट राजीनामा माग्न त सक्छ तर उहाँहरूले राजीनामा नदिएमा केही लछार्न सक्दैन । महाधिवेशनसम्म यो पार्टी भनेकै ‘केपीपीके’ कम्पनी हो ! अर्थात् उल्टोसुल्टो जसरी पढेपनि दुई अध्यक्षको नाम आउँछ । यी दुईको सहमतिबाहेक दायाबायाँ गर्ना साथ ‘९९ मा पुगेको गोटीलाई लुडोको साँपले १ मा झारे जस्तै पुनः उही एकता हुँदाको अवस्थामा फर्कनु हो भन्ने बुझ्दा हुन्छ ।
उहिले पृथ्वीनारायण शाहलाई एकीकरणको चेतना दिने महान् बिसे नगर्ची एउटा थियो र उसले दिएको उपदेश कति गहन र मननीय थियो । आज पृथकीकरणको दुश्चेष्टा गर्ने, आफ्नै सरकारलाई कमजोर पार्ने र राजीनामाको नगरा बजाउँदै हिँड्ने बिसजना उत्तरआधुनिक विषेहरूले मागेको राजीनामाको हल्लाले चाहिँ आम जनता र प्रतिपक्षीको टोलमा कोकोहोलो मच्चाएर कानै खान चाहिँ सक्छ, आफ्ना घरको ताण्डव र जलेसा दुनियाँलाई देखाउन सक्छ, अरू लछार्पाटो लाउने कुरै छैन र अहिले भइरहेको पनि त्यही हो ।
जनयुद्ध नामको सशत्र विद्रोहको नेतृत्वमार्फत गणतन्त्र कम्पनीको सर्वाधिक सेयर आफूसँग भएको दावी गर्ने कामरेड प्रचन्ड दुईदुई पटक प्रधानमन्त्री बन्नु भो । जे चिज ल्याउन भनी उहाँहरूबाट त्यो विद्रोह सुरु भो त्यो ल्याउन नसकी ‘अर्धम् त्यजति पण्डितः’ भनेझैँ आधामै चित्त बुझाएर आविर्भाव हुनु भयो । अब आसन्नथप र भीषण क्षति हुन नदिन भन्दै (सायद लिपुलेकका मुटुमा त्यतिबेलै डोजर चल्दै थियो त्यसै सेरोफेरोमा) दिल्लीमा बाबु (बाह्रबुँदे) सहमति गर्नु भो र पुनः दशवर्ष अघि सरापेर हिँडेको संसदीय व्यवस्थाकै खेल मैदानमा रेफ्री (राजा) परिवर्तन भएपछि ब्यालेटको खेल खेल्न आइपुग्नु भो !
यद्यपि एकथान राजा हटाउन उहाँहरूको केही प्रतिशत योगदान त छ तर एउटा राजा गए पछि आफैभित्रबाट अनेकौँ नवराजा, रानी र युवराज्ञी जन्मेको अनुभूत जनताले नगरून् भन्ने आशामा तुषारापात होला कि भन्ने भय पनि त्यत्तिकै छ ! अब उही संसदीय व्यवस्थाको रङ्गशालामा रातो जर्सी लाएर खेल्नै परेपछि उही ठाउँमा त्यहाँ पहिले देखि जनताको बहुदलीय जनवादी विचारधारा अनुरूप रातै जर्सी लगाएर खेल खेलिरहेको टिमसँग मर्ज हुने निर्णय आवश्यक पनि थियो । उस्तै पार्टी हुँदाहुँदै अलग्गै गुट मनाएर माक्र्सवादका अलगअलग थानमा धजा चढाउनुको रकम्युनिस्ट पार्टीका अलगअलग स्टल राख्नु वा बल्छी थाप्नुको कुनै तुक नभएको महसुस गरी पार्टी एकीकरण गर्नमा कामरेड केपी र कामरेड प्रचन्डले योगदान गर्नु भएकै हो ।
अँ, सशस्त्र विद्रोहकालमा भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिलाई त्यतिबेला मात्र बिर्सन सकिन्छ जतिखेर उहाँ आफ्नो अन्तर्विरोधमा खेलेर अस्थिरतामा मलजल गर्ने खेल बन्द गर्नुहुन्छ । हो, विद्रोहमा मृत्यु भएकाहरूलाई फर्काउन सकिने त कुरै भएन, कम्तीमा द्वन्द्वपीडितहरूको यवस्थापन र ध्वस्त भएका भौतिक संरचना निर्माण गर्ने गरी उहाँ स्थिरताको लयमा फर्केको आम जनताले अनुभूत गरून् । एसियाका नयाँ मण्डेला र भद्र बन्नु पर्नै व्यक्तिले भने अहिले पार्टी एकीकरणको मूल मर्म मै प्रहार गर्ने गरी पूर्व एमालेका अन्तर्विरोधका प्वाल भित्र पसी अभद्र, चटपटे र छुचुन्द्रे व्यवहार देखाउँदा दिक्क लाग्नु स्वभाविकै हो ।
सबैलाई थाहा भएकै कुरा हो, भारतमा बिजेपी नामक दलको अस्तित्व चालिस वर्षदेखि थियो । कुनै जमानामा २ सिट जित्न धौधौ पर्ने त्यो पार्टीका नेता अटल बिहारी बाजपेयीको नेतृत्वले त्यसलाई संयुक्त सरकार बन्न सक्ने ठाउमा पु¥यायो । सन् २०१४ को आम चुनावमा नरेन्द्र मोदीको चमत्कारिक छबिका कारण उक्त पार्टीले पूर्ण बहुमत ल्यायो । उहाँभन्दा पाका पुराना वरिष्ठ नेताहरूले आज उहाँका विरुद्ध मोर्चा कसेका छैनन् । मध्यप्रदेश, अरुणाचल र तेलाङ्गनालगायत राज्यमा आफ्नो पार्टीको शक्ति बढाउन बिजेपीले पार्टी फुटाएको फुटायै छ, विरोधीहरू कराउँछन्, तर आफ्ना पार्टीका नेता गदगद हुन्छन्, ।
तर यहाँ आफ्ना पालामा तिर्की जुट सिट ल्याउनेहरू र घडीको पेन्डुलम झैँ दाहिने देब्रे भौतारिने अघोरीहरू मिलेर कैले भैँसी त कैले हात्ती टोलतिर कोठै बैठक बस्दैपार्टीलाई शीर्ष स्थानमा पु¥याउने नेताका विरुद्ध र जनमतका विरुद्ध षड्यन्त्रका माला जप्न थल्छन् । स्मरण रहोस्, हात्तीबनमा गुटे बैठक बसेर हात्ती बन्छु भन्ने कल्पना गर्दै गर्दा मुसो बन्ने खेलतिर नलाग्दै राम्रो होला !
स्मरण रहोस्, शासक हुनु र नेता हुनु फरकफरक कुरा हो ! अहिलेका प्रधानमन्त्री कत्तिको लोकप्रिय नेता हुनुहुन्छ भन्ने कुरा चुनावमा उहाँको नेतृत्वमा प्राप्त विजयले सङ्केत ग¥यो भने अहिले पनि कुनै मिडिया च्यानलले आम जनताका बिचमा विभिन्न नेताको लोकप्रियताको सर्वै गरोस् केपी ओलीकै नाम अग्रपंक्तिमा आएन भने सरकार अलोकप्रिय रहेछ भन्ने मान्न सकिएला । तर पाउ कृपाद्वारा मनोनितहरू, पटक पटक आफै जनतिरस्कृतहरू र अस्थिरताका आहालमा रमाउनेहरू र मन्त्री नपाएको भोकको झोँकमा उफ्रनेहरू तथा दक्षिणी तातो वायुबाट उखर्माउलिएर कुर्सीमा पुग्न छटपटिएकाहरूले नरुचाउँदैमा र भन्दैमाकोही अलोकप्रिय हुँदैन !
अनि पार्टीको निर्देशन र विधि एवम् पद्धतिअनुरूप प्रधानमन्त्री चल्नु पर्छ भनेर जुन अहिले भनिदै छ, र त्यसबारे जे जे कुरा मिडियामा आएका छन् त्यसलाई विश्वास गर्नै हो भने त प्रधानमन्त्रीका सचिवालयमा आआफ्ना गुटका मान्छे राख्ने, अमुक व्यक्तिलाई अख्तियारमा लानै नहुने, अमुक अमुकलाई मुख्यमन्त्री बनाउने, अमुक व्यक्तिलाई मन्त्री बनाउने नत्र प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने भनी मिडियामा दुनिया हँसाउने माग राख्दै मिडियामा आएर छाडा बोल्नु पार्टीको कुन नियम विधि र पद्धति होला ? यसरी आम जनता र मतदातालाई नै लज्जित तुल्याउने बकवासनगरिदिए ‘बोल्नेलाई भन्दा सुन्नेलाई लाज’ पो हुने थिएन कि ?
अब प्रश्न उठ्छ, के प्रधानमन्त्रीले मिर्गाैला पनि पार्टीले सिफारिस गरेको व्यक्तिबाट प्रत्यारोपण नगरेर विधि उल्लंघन गर्नुभएको हो ? के अब दौरासुरुवाल, कोट र गन्जीलगायतका लुगा पनि प्रधानमन्त्रीले पार्टीका सिफारिसअनुसार लाउनु पर्ने भो ? कि अब उहाँले खाने औषधिको प्रेसक्रिप्सन पनि पार्टीले लेख्नु पर्ने हो ? उहाँको भान्सा पनि पार्टीले तोकेको मेनुअनसारै चल्नु पर्ने हो ? हाम्रा आदरणीय नेताहरूको बर्बराहट देख्दा त क्रमशः उहाँहरू यसो भन्न पनि पछि पर्नु हुन्न होला जस्तो पो छ त !
हो, प्रधानमन्त्रीको सचिवालय प्रधानमन्त्रीसँग पार्टीलाई जोड्ने सम्बन्धसूत्र का लागि सचिवालय साधक हुनुपर्छ वाधक होइन । प्रधानमन्त्री माथि आइपर्ने लोकापवादरूको पहिचान र तिनको निराकरणमा समेत सचिवालयले केही गर्नु आवश्यक पनि हुन्छ र आवश्यक परे प्रधानमन्त्रीले सचिवालय बाहेकको छुट्टै एक सल्लाहकार परिषद् निर्माण गरी नहिनामा एक दिन बैठक बस्ने गरी विविध विषयका विज्ञ सहितको एउटा (अवैतनिक रूपमा भएपनि) टोली पनि उहाँ बनाउन सक्नुहुन्छ र त्यससँग महिनामा एकदिन विमर्श गर्न पनि सक्नुहुन्छ ।
र अन्त्यमा प्रधानमन्त्रीको राजीनामाको बालहठ छाड्नुस्, मन नपरे छिटो महाधिवेशन डाक्न पहल गर्नुस्, प्रधानमन्त्री फेर्ने प्रक्रियाबारे जनताको जनादेशको भावना बुझ्नुस् र संविधानका कखरा पनि पढ्नुस्, तर कम्युनिस्टका नाममा मण्डले जात्रा नदेखाउनुस्, कोरोनालाई पनि लाज लाग्ने हर्कत बन्द गर्नुस् ! दक्षिणाका लोभमा दक्षिणी बडे भैयाका उक्साहटमा नलाग्नुस्, पार्टीका कामरेडहरू हो ! दुई तिहाईकी कुखुरीलाई सुनका अन्डा कोरल्न दिनुस् ! एकैचोटि धेरै अन्डा खाने लोभमा कुखुरी मारेर पछि पछुताउने ठाउँ पनि नरहला, होसमा आउनुस् !