शिवनगर सामुदायिक वन उपभोक्ता समूहद्वारा गौशालामा गौआहार हस्तान्तरण

मेचीकाली संवाददाता

२१ चैत्र २०८०, बुधबार
44 shares

बुटवल । बुटवलस्थित शिवनगर सामुदायिक वन उपभोक्ता समूहले नन्दिनी गौशालामा गौआहार हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी गौशालामा संरक्षण गरीएका गाईगोरुका लागि आबश्यक दाना, नुन लगायतका गौआहार हस्तान्तरण गरीएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको मुख्य चुनौतीका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम सुरू भएको बताए । बजार क्षेत्रबाट करीब ७ सय गाईगोरू गौशालामा ल्याइसकिएको बताउँदै उनले यो अभियानलाई निरन्तरता दिने बताए । पूर्वपश्चिम राजमार्ग र अन्य सडकहरुको केन्द्र बुटवल भएकाले चारै तर्फबाट आएका चौपाया बुटवल र राजमार्ग केन्द्रीत हुँदा सडक दुर्घटनासमेत बढेकाले अब नियमित रुपमै छाडा चौपायाको व्यवस्थापनमा उपमहानगरपालिका जुटेको नगर प्रमुख पाण्डेयको भनाई थियो ।

गौशालामा अहिले एउटा मात्रै सेड रहेकाले थप दुई वटा सेड निर्माणका लागि तत्काल काम सुरु हुने उनले बताए । छाडा चौपाया व्यवस्थापनका लागि उपमहानगरको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकोले छिमेकी पालिकाहरूसँग पनि समन्वय गरीने उनले बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपायाको दीर्घकालीन व्यवस्थापन थालिएको बताइन् । गौशालालाई व्यवस्थित ढंगले सञ्चालन गर्न यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गरिन् ।

शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचनले बुटवल उपमहानगरपालिकाले सुरु गरेको अभियानमा सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । गौशालाको दीर्घकालीन सञ्चालनका लागि तत्कालीन नगरप्रमुख शिवराज सुवेदीको योजना अनुसार काम सुरु भएको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिनुपर्ने बताए । सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको उनको भनाई थियो । यस्तै वनका सचिव श्यामकला आचार्यले कृषकहरूले दूध दिउन्जेल पाल्ने, त्यसपछि सडकमा छाडिदिँदा सडकमा बर्सेनि गाईंको संख्या बढ्ने गरेको बताइन् ।

कार्यक्रममा शिवनगर सामुदायिक वनका उपाध्यक्ष दिपेन्द्र पराजुली, सहसचिव शिव अधिकारी, कोषाध्यक्ष रविन केसी, पूर्व अध्यक्ष उमाकान्त बस्याल, बुटवल उपमहानगरपालिका ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी, वडा नं ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, वडा नं २ का अध्यक्ष सुनिल शाक्य, कार्यपालिका सदस्य राधा पौडेल, वसन्ती वि.क लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन वनका सचिव श्यामकला आचार्यले गरेकी थिइन् ।