जलवायु परिवर्तनका असर कम गरौं, वनलाई समृद्धिसँग जोडौं

मेचीकाली संवाददाता

२७ चैत्र २०८०, मंगलवार
45 shares

बुटवल। सामुदायिक वनलाई समुदायको विकास र समग्र देशको आर्थिक स्रोतका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सामुदायिक वनको दिगो ब्यवस्थापन गरी गरिवी घटाउन र लाभान्वित समुदायको जीविकोपार्जनको स्रोत बनाउन वनको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

जलवायु परिवर्तनका असरहरु छिटो छिटो देखिने, वन पैदावरको सदुपयोग कम भइरहेको गुनासो आइरहेका बेला वन संरक्षणमा जुटेका समुदायका अगुवा र सरोकारवालाहरुले वनलाई समृद्धिसँग जोड्नुपर्ने साझा धारणा व्यक्त गरे । उनीहरुले जीविकोपार्जनमा सामुदायिक वनले विशेष टेवा पु¥याएको बताए ।

शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले समूहका पार्षदहरुका लागि आयोजित सुशासन तथा क्षमता अभिबृद्धि अन्तर्गत वन संरक्षण, जलवायु परिवर्तन तथा कार्वन ब्यापार सम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री, नेकपा एमाले संसदीय दलका नेता तथा वनका वरिष्ठ सल्लाहकार लिला गिरीले वनलाई समृद्धिको आधारमा रुपमा लिएर सोही अनुरुपका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमाक जोड दिए ।

वन जंगलबाट प्राप्त हुने स्रोतहरुको उचित संरक्षण र सदुपयोग गर्नुपर्ने बताउँदै पूर्वमुख्यमन्त्री गिरीले वनको बहुआयामिक समुदापयोग र संरक्षणमा समुदायकै अग्रसरताको खाँचो रहेको बताए ।
उनले सामुदायिक वनहरु काठ दाउराको विक्री वितरणमा मात्र सिमित नभएर जडिवुटी, डाले घाँस खेती, पर्यटकीय हिसावले विकास गर्दै वनलाई उत्पादन संग जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकेमा युवाहरुलाई विदेश पलायन हुनवाट रोक्न सकिने बताए ।

वनमा आधारित रहेर जटिबुटी, पर्यटन, कृषि जस्ता उद्यम प्रवद्र्धन गर्ने र तिनै उपजमा आधारित साना तथा घरेलु उद्योग स्थापना गरेर रोजगारी वृद्धि गर्न सकिने नेता गिरीको भनाइ थियो । नेता गिरी प्रदेश सरकारको पहिलो उद्योग, वन, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका बेलामा वातावरण संरक्षण, वन पैदावरको संरक्षण र सदुपयोगका साथै खाद्य सुरक्षाका विषयमा दीर्घकालीन महत्वका योजना अगाडि सारेका थिए । पानीका प्राकृत्तिक स्रोतको संरक्षण र विस्तार गर्ने, जैविक विविधताको संरक्षण गर्ने, पानीको रिचार्जका लागि वनमा पोखरी, वनमा सामूहिक खेती र अनुसन्धानका कार्यक्रम त्यसबेला सुरु भएका नमुना कार्यक्रम हुन् ।

उक्त कार्यक्रममा वनको संरक्षण, सदुपयोग तथा जलवायु परिवर्तनका असरका बारेमा विषयगत धारणा राख्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रम्ख प्रभात सापकोटाले पृथ्वीको वायुमण्डलमा तापक्रम घट्ने वा वढ्ने प्रक्रियाका कारणले गर्दा जलवायु परिवर्तन ह्नेहुनाले यसको न्युनिकरणका लागि वनविनास, औद्योगिककरण, वन डढेलो, इन्धनको वढ्दो प्रयोग तथा शहरीकरणलाई कम गर्नुपर्ने वताए ।

उनले विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रमवृद्धिका कारण वातावरणमा ठूलो असर देखा परेको बताए । यस्ता असर कम गर्न मानवीय क्रियाकलापमै विशेष सावधानी अपनाउन जरुरी रहेको उनको भनाइ थियो ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतले समूहका पार्षदहरुको क्षमता अभिबृद्धि र वन संरक्षण, जलवायु परिवर्तन र कार्वन ब्यापार सम्वन्धमा जानकारी गराउने उद्देश्यले समूहको वार्षिक कार्ययोजना अनुसार कार्यक्रम आयोजना गरिएको बताए ।
सोमबार र मंगलबार दुई दिनसम्म संचालन हुने सचेतना कार्यक्रममा डिभिजन वन प्रमुख प्रभात सापकोटा र सहायक वन अधिकृत सूर्यप्रसाद मैलालीले सहजीकरण गरेका छन् । उनीहरुले जलवायु परिवर्तनका असर, असर कम गर्ने उपाय र वातावरणका बारेमा विषयगत जानकारी गराउनेछन् ।

कार्यक्रममा ३११ जना पार्षदहरुको सहभागिता रहेको वनका कोषाध्यक्ष भुवन आचार्यले जानकारी दिए । उनीहरुलाई जलवायु परिवर्तनका असर, असर कम गर्ने उपाय, मानवीय क्रियाकलापबाट हुने प्रभाव र वातावरणीय सन्तुलनका बारेमा विषयगत प्रशिक्षण समेत दिइएको आचार्यले बताए ।
कार्यक्रममा समूहका सल्लाहकार खिमानन्द भट्टराई, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले वन संरक्षण र जलवायु परिवर्तनका विषयमा आआफ्ना धारणा राखेका थिए । कार्यक्रमअघि समूहका पदाधिकारी तथा सदस्यहरुले वन क्षेत्रमा डढेलो लाग्न नदिन विशेष अभियानको समेत शुभारम्भ गरेका थिए ।

झाडी र बुट्यानको सदुपयोग गरौं
हालैको तथ्यांक अनुसार नेपालमा ६ लाख ५० हजार हेक्टर बुट्यान भएको क्षेत्र रहेको छ । जसमा १० हजार हेक्टर प्रति वर्षका दरले वृक्षरोपण गर्ने हो भने पनि यो क्षेत्र ढाकिन ६५ वर्ष लाग्छ । त्यसैले यस्ता क्षेत्रमा हरियाली प्रबद्र्धनका अतिरिक्त फलफुल खेती, जडिबुटी खेती, बेसार, अदुवा र घाँस खेती गर्न सकिन्छ । यसले उत्पादन पनि बढाउने र आम्दानी पनि बढाउने हुन्छ ।
वनबाट प्राप्त हुने खानयोग्य प्रजाति के÷कति छन् र यिनिहरुको स्थिति कस्तो छ भन्ने विषयमा विस्तृत अध्ययन गरि प्रभावकारी कार्यक्रमको खाँचो रहेको सामुदायिक वन उपभोक्ता महासंघका अगुवा ठाकुर भण्डारीको भनाइ छ ।

वनबाट प्राप्त हुने यस्ता प्रजातिको दिगोपनाको विचार नगरी जथाभावी प्रयोग गर्ने तर संरक्षण नगर्ने परिपाटीले वनमा आश्रित खाद्य सुरक्षामा चुनौती थपिएको भण्डारीले बताए । जलवायु परिवर्तनको अस्वभाविक हाइब्रिडको प्रयोगले औषधीय गुण भएका स्थानीय प्रजाति हराउँदै गएको र अस्वभाविक बसाईसराईले जमिन बञ्जर भइ बुट्यान र झाडीमा परिणत भइरहेको अवस्था छ ।