बुटवल, जेठ २ । बुटवलको सिमसार क्षेत्रका रुपमा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाइका काममा लकडाउनमा घरमै बसेका मजदुरहरुले भने दुरी कायम गर्दै दैनिक ज्यादारीका काम पाएका छन् । महामारी विरुद्ध मुलुकभर लकडाउन (बन्दाबन्दी) जारी छ । लकडाउनका कारण सबैतिरको जनजीवन कष्टकर बनेको छ । बुटवल उपमहानगरपालिका–१६ का विभिन्न टोलका मजदुरले दुरी कायम गर्दै सुरक्षित उपायका साथ सेमलारमा रहेको बैठौलिया तालको सरसफाईमा जुटेका छन् ।
लकडाउनका कारणले काम रोकिएपछि स्थानीय समुदायमै रहेका मजदुरलाई स्वास्थ्य परीक्षण गरेर, सामाजिक दुरी कायम गर्दै सुरक्षित तरिकाले दैनिक ज्यालादारीका काममा लगाउँदा काम पनि अगाडि बढ्ने र समुदायलाई पनि फाइदा पुग्ने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा तोकिए बमोजिमको ज्यालाको दररेटमा इच्छुक कामदारलाई कामको व्यवस्था गर्न ताल व्यवस्थापन समितिलाई अनुरोध गरिएको र सोही अनुरुप काम अगाडि बढेको बुटवलका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
बैठौलिया ताललाई बुटवलको प्रमुख पर्यटकीय गन्तव्य बनाउनेगरी उपमहानगर जुटेको छ । अहिले तालको सफाई र विभिन्न संरचना निर्माणका काममा प्रदेश सरकारलेसमेत सहकार्य गरेको बताउँदै प्रमुख सुवेदीले तालको प्राकृत्तिक बनावटालाई अझ व्यवस्थित गर्ने, वरपार बलियो वाल लगाउने, डुंगा अड्याउने र त्यहाँबाट चढ्नका लागि उपयुक्त सिंढी बनाउनेलगायतका काम गर्नेगरी ताल व्यवस्थापन समितिले काम गरिरहेको बताउनुभयो ।
ताल व्यवस्थापन समितिका अध्यक्ष खेमलाल कंडेलका अनुसार त्यहाँ २१ जना मजदुरले तीन ठाउँमा दुरी कायम गरेर तालको सरसफाई, रिटेनिङ वाल निर्माण र डुंगा चढ्न÷झर्न प्रयोग गरिने सिंढी निर्माण गरिरहेका छन् ।
उनीहरुलाई काममा लगाउनु अघि सबैको ज्वोरो परीक्षण गरिएको र काम सकेर फर्कने बेलामा पनि परीक्षण गरिने अध्यक्ष कंडेलले बताउनुभयो । त्यहाँ काममा खटिएकाहरु सबै अलग अलग ठाउँमा खटिएका छन् । हरेकले काम बाँडेर गरिरहेको कंडेलले बताउनुभयो । उनीहरु ताल भएको क्षेत्र र नजिकैको छिमेकी वडाका मजदुरहरु हुन् ।
लकडाउनका घरमै बसिरहँदा तनाव भइरहेको र जीविकोपार्जनमा समेत कष्ट बढ्दै गएका बेला घर नजिकै ज्यालादारीका कामको व्यवस्था भएपछि खुशी भएको स्थानीय राजकुमार यादवले बताउनुभयो । यादवसंगै स्थानीयहरु रामप्रसाद हरिजन, चिना थारु, दयाराम थारु, धनयामा थापालगायतले दैनिक ज्यालादारीका काम पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
उपमहानगर र प्रदेश सरकारको समेत एक करोड पाँच लाख रुपैयाँ बराबरको बजेटमा काम भइरहेको बताउँदै उक्त वडाका अध्यक्ष समेत रहेका प्रवक्ता रामप्रसाद रेग्मीले बैठौलिया ताललाई व्यवस्थित गर्न बाँकी रहेका काम अहिले सुरु गरिएको बताउनुभयो । यसक्षेत्रकै उपयुक्त पर्यटकीय गन्तव्य बन्ने प्रचूर सम्भावना रहेको ताल क्षेत्रको विकासका लागि स्थानीय समुदायको सहकार्यमा नयाँ योजनासमेत बनाइरहेको प्रवक्ता रेग्मीको भनाइ छ ।
अहिले तालको सरसफाई र संरचना निर्माणको काममा खटिएका मजदुरहरु प्राविधिक तहदेखि सहायकसम्मका छन् । उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले तोके अनुरुपको ज्याला दिने र दुरी कायम गर्दै सुरक्षित तरिकाले काममा लगाउन अनुमित दिइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षको प्रस्ताव आह्वानका कामसमेत सुरु भएका छन् ।
पर्याप्त सिमसारसहितको तालको संरक्षण गर्दै पर्यटकीय स्थलका रूपमा विकासका लागि उपमहानगरपालिकाले काम सुरू गरेपछि यसक्षेत्रको पहिचान नै फेरिएको छ । जलकुम्भीले ढाकिएको र पुरिँदै गएको ताललाई सफा गरेर बुटवल उपमहानगरले उपयुक्त गन्तव्य बनाइरहेको छ ।
हालै तालमा डुंगा समेत सञ्चालन गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले एक समारोह बीच तालमा डुंगा सञ्चालनको शुभारम्भ गर्नुभएको थियो । प्राकृतिक मूल नै त्यहीँ रहेको यो सिमसार क्षेत्रलाई प्रदेशकै उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सकिने मुख्यमन्त्रीको भनाइ थियो ।