लुम्बिनी प्रदेशका सबै पालिकामा स्काउट अभियान

मेचीकाली संवाददाता

२९ चैत्र २०८०, बिहीबार
857 shares

अमृत गिरी

बुटवल। ७० वर्षअघि स्थापना भएर केही वर्षअघि सुस्ताएको नेपाल स्काउट अहिले फेरि क्रियाशील भएको छ । लुम्बिनी प्रदेशमा पनि स्काउटले प्रदेशका सबै १०९ वटै पालिकामा स्काउट अभियान सञ्चालन गरेको छ ।

प्रदेशका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्काउट गठन गरेर त्यहाँका शिक्षकहरुलाई विशेष तालिम दिने र तिनै शिक्षकहरुमार्फत विद्यालयमा स्काउट अभियान सञ्चालनमा छन् । विश्वमा स्काउट स्थापना भएको ४५ वर्षपछि मात्र नेपालमा स्काउटिङ शिक्षाले पाइला टेकेको पाइन्छ । विश्वमा स्काउटको सुरूवात सन् १९०७ मा भएता पनि नेपालमा भने वि.सं. २००९ साल (सन् १९५२ जुन १८) बाट मात्र यसको सुरूवात भएको हो ।

वि.स.२००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि देशभर शैक्षिक जागरण आउने क्रममा स्काउटको जन्म भएको थियो । नेपाल स्काउटलाई मुलुकको स्काउटिङ र गाइडिङ संस्थाका रुपमा लिइन्छ । लुम्बिनी प्रदेशमा पनि लामो समयको अन्तरालमा केही वर्षअघिदेखि मात्रै स्काउटका गतिविधि सञ्चालनमा छन् ।

लुम्बिनी प्रदेशको पहिलो सरकारमा मन्त्रीका रुपमा रहेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लिला गिरीले संघीयता स्थापना भएपछि लुम्बिनी प्रदेशमा स्काउटका गतिबिधि अगाडि बढेको बताए ।
शंकर पोखरेलको नेतृत्वमा गठन भएको लुम्बिनी प्रदेशको पहिलो सरकारका पालामा लुम्बिनी प्रदेशमा स्काउटका गतिविधि अगाडि बढेका हुन् । पूर्वमुख्यमन्त्री गिरीले स्काउटले नेतृत्व तालिमहरु सञ्चालन गरी युवाहरुको क्षमता बिस्तार गरेको उल्लेख गर्दै स्काउट अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

स्काउटका लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले नेपाल स्काउटलाई प्रदेश भरी बिस्तार गर्ने बताए । शारीरिक, मानसिक र बौद्धिक रुपमा बालबालिकालाई राष्ट्रको चरित्रवान् नागरिक बनाउने उद्देश्यले लागिपरेको भट्टराईले बताए ।
‘सुखी नेपाली ः समृद्ध नेपाल’ लाई साकार पार्न नेपाल स्काउट निरन्तर लागेको उनले बताए । स्काउटले आगामी वर्ष सन् २०३२ सम्म १ लाख ३८ हजार सदस्य वृद्धि गरी एक घर एक स्काउट, एक विद्यालय एक युनिटको लक्ष्य लिइएको आयुक्त भट्टराईको भनाइ छ ।
बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

लुम्बिनी प्रदेशका सबै पालिकामा स्काउटले अभियान सञ्चालन गरिरहेको छ । लुम्बिनी प्रदेशका सबै पालिकामा स्काउट अभियान सञ्चालनमा छ । हाल लुम्बिनी प्रदेशमा करिब १३ हजार स्काउटका सक्रिय सदस्यहरु रहेको र तिनीहरुले सबै पालिकामा विशेष अभियान सञ्चालन गरिरहेको प्रदेशका प्रमुख आयुक्त भट्टराईले बताए ।

नेपाल स्काउटको उद्देश्य
विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने, बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान् तथा सुयोग्य नागरिक बनाउने, दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।

सामुदायिक सेवा तथा जनहितसम्बन्धी कार्य गर्ने गराउने, समाजका हरेक वर्ग तथा समूहलाई शिक्षित पार्न प्रौढ शिक्षालगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने, स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक स्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने स्काउटका उद्देश्य रहेको राष्ट्रिय प्रशिक्षक श्यामबहादुर पुडासैनीले बताए ।

स्काउटको आधारभूत तालिम लिएकाहरु दीक्षित
स्काउट लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको कार्यान्वयनमा बुटवल माध्यमिक बिद्यालय, बुटवलमा ५ रात ६ दिने आधारभूत स्काउट तालिम (बिटिसी तथा पिटिसी) एक विशेष कार्यक्रमका बीच समापन भएको छ ।

तालिम लिएका रुपन्देही र नवलपरासीका ४८ जना शिक्षक शिक्षिकाहरुलाई दिक्षित गर्दै समापन गरिएको हो । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता लिला गिरीको प्रमुख आतिथ्यमा एक समारोहबीच प्रशिक्षार्थीहरुलाई दिक्षित गर्दै तालिम समापन गरिएको थियो ।
आधारभूत स्काउट तालिम (५५८ औं बिटिसि तथा ४०९ औं पिटिसी) मा रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न पालिकाका विद्यालयका ४८ जना शिक्षकहरुको सहभागिता थियो । सोही अवसरमा सैनामैनाका नगरपालिकाका नगरप्रमुख फणिन्द्रप्रसाद शर्मालाई समेत स्थानीय स्काउट संरक्षकका रुपमा दिक्षित गरिएको थियो ।

सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरिबहादुर बिष्टको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री लिला गिरी र स्काउट आयुक्त दिनानाथ भट्टराईलगायतले दिक्षित गराएका थिए ।

उक्त समारोहमा सैनामैना नगरपालिका प्रमुख तथा स्थानीय स्काउट संरक्षक फणिन्द्रप्रसाद शर्मा, लुम्बिनी प्रदेश स्काउट, प्रदेश प्रमुख आयुक्त दिनानाथ भट्टराई, राष्ट्रिय प्रशिक्षक श्यामबहादुर पुडासैनी, प्रशिक्षार्थी सम्झना ढकाल, विजयसिंह थारु, बुटवल माध्यमिक विद्यालयका प्रधानध्यापक होमबहादुर रायमाझीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्काउटर पुनाराम पाण्डेले गरेका थिए ।

तालिममा पुरुष कोर्ष लिडर नेपाल स्काउट राष्ट्रिय प्रशिक्षक श्याम पुडासैनी, महिला कोर्ष लिडर नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षक अस्मिता श्रेष्ठ, काउन्सिलरहरु चन्द्रीका भट्टराई, बिक्की डुम्रे, मिना पाण्डे, पारेश्वर चापागाईंले, युवराज गौतम र मेनका थापाले सहजिकरण गरेको स्काउटका लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीले जानकारी दिए । बिटिसी तथा पिटिसी तालिम लिएका स्काउटरहरुले आ–आफ्नो पालिकामा पुगेर विद्यालयमा स्काउट गठन गरी अभियान सञ्चालन गर्नेगरी समय तालिका समेत निर्धारण गरिएको कार्यालय प्रमुख पुरीले बताए ।