हात्तीपाइले रोगविरुद्धको अभियान वैशाख १६ गतेदेखि

मेचीकाली संवाददाता

३० चैत्र २०८०, शुक्रबार
90 shares

सुनिल आचार्य

कपिलवस्तु । हात्तिपाइले रोगविरुद्धको १६ औं पटकको अभियान वैशाख १६ देखि शुभारम्भ हुने भएको छ । कपिलवस्तुमा पन्ध्रपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउँदा पनि सफल नभएपछि अभियानलाई १६ औं पटक सञ्चालन गरिने भएको हो । सरकारले कपिलवस्तुसहित सातवटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने कार्यक्रमलाई यस वर्ष थप प्रभाबकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले सञ्चारकर्मीहरुलाई आग्रहसमेत गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वाथ्य अधिकृत रामकुमार महतोले हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तुसहित सात जिल्लामा औषधी खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको बताए । जनस्वास्थ्य अधिकृत महतोका अनुसार कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा औषधी खुवाउने कार्यक्रम चल्ने छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको अन्तत्र्रिmया कार्यक्रममा उनले यी जिल्लामा यो वर्ष औषधी खुवाइसके पछि पुनः अध्ययन हुने र उक्त अध्ययनमा सकारात्मक नतिजा देखिए औषधी खुवाउने कार्यक्रम यसै पटकदेखि नै अन्तिम हुने जानकारी दिए ।

नेपालमा विगतमा ६० जिल्लामा हात्तीपाइले रोगको जोखिम थियो । सरकारले सन् २००३ देखि आम औषधी वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो । हाल ५३ वटा जिल्लामा औषधी वितरण कार्यक्रम बन्द भइसकेको छ ।
नेपालले सन् २०२० मा नै हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर लक्ष्यअनुसार उपलब्धि हासिल हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने भनेर नयाँ लक्ष्य लिइएको छ । तर उक्त अवधि भन्दा अगाडि नै नेपालबाट हात्तीपाइले निवारण हुने अनुमान गरिएको छ ।

हात्तीपाइले निवारण हुनका लागि राष्ट्रिय र जिल्लास्तरमा माइक्रोफाइलेरियाको दर १ प्रतिशत भन्दा कम वा एन्टीजेनेमियाको दर २ प्रतिशत भन्दा कम हुनुपर्छ । हात्तिपाइले रोगविरुद्धको औषधी दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा औषधी सेवन गर्न हुँदैन ।
जिल्लाका सबै पालिकामा सबैपक्षको सहकार्यमा अभियानले अन्तिम नतिजान्मुख रहने गरि अभियान संचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद चौधरीले बताए । केही व्यक्तिले वर्षैपिच्छे औषधी खाइरहने र केही व्यक्तिले खादै नखाइदिँदा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुँदै आएको प्रमुख चौधरीले जानकारी दिए ।

सोह्रौं पटकको अभियानमा सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई औषधी खुवाउने लक्ष्य लिइएको छ । यसका लागि ६ हजार स्वास्थ्यकर्मी र ५ हजार ८ सय स्वंसेविका परिचालन हुनेछन् । भने कपिलवस्तु जिल्लामा ६ लाख ७९ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य रहेको छ । जसका लागि करिव ६ सय स्वास्थ्यकर्मी र १ हजार १ सय जना स्वास्थ्य स्वयंमसेविका परिचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरासियाले जानकारी दिए ।
विगतका वर्षहरुमा सञ्चालित अभियान त्यति प्रभावकारी नभएको भन्दै यसवर्ष प्रभावकारी बनाउनका लागि स्वास्थ्यकर्मीहरुको टोलिले घरघरमै पुगेर प्रत्यक्ष रुपमा औषधी खुवाउने योजना तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

२ वर्षमाथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने छ । आइभरमेक्टीन, डिईसि र अल्वेन्डाजोल गरी ३ प्रकारका औषधी खुवाइने छ । ‘यी औषधी २ वर्ष सेवन गरे हात्तीपाइलेबाट छुटकारा पाईने छ । रोगको परजीवी जो कोहीमा पनि हुन सक्छ, त्यसैले सबैजनाले खोजी खोजी औषधीको सेवन गरौं, र जीवन भर अशक्त हुनबाट बचाँै’, स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले लामो समयदेखि संचालन गरिएको यस हात्तिपाईले रोग निवारण अभियानलाई सफल पार्न संचार क्षेत्रको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । अभियान सफलपार्न सरोकारवाला बिभिन्न संघसंस्थाहरु परिचालन गरिने छ । २०६३ साल देखि संचालन गरिएको यस अभियानलाई सफल पार्न सबैले एकै पटक हात्तीपाइलेको औषधी ढुक्कका साथ खान जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले आग्रह गरेको छ ।