‘एयर ब्लोर’को प्रयोगले डढेलो नियन्त्रणमा सहज

मेचीकाली संवाददाता

३ बैशाख २०८१, सोमबार
35 shares

पार्वती आचार्य

कपिलवस्तु । पछिल्लो समय वनजंगलमा लाग्ने डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग गर्न थालिएको छ । विगतमा स्थानीय नागरिकले जोखिमपूर्ण रुपमा डढेलो नियन्त्रण गर्दै आएको भएपनि यस वर्ष भने विभिन्न सामुदायिक वनहरुमा एयर ब्लोरको प्रयोग गर्न थालिएको हो ।

बाणगंगा नगरपालिका–९ भर्तापुरस्थित अमृते सामुदायिक वनले यसपटक वन क्षेत्रमा अग्निरेखा कोर्न र वनमा आगलागी भइ हाले सजिलै नियन्त्रण गर्न जर्मन प्रविधिबाट निर्माण भएको एयर ब्लोर मेसिन खरिद गरेको छ । वनका अध्यक्ष योगेन्द्र पौडेलका अनुसार धेरै जनशक्तिमा धेरै समय लगाएर गर्ने काम यो मेसिनको प्रयोगबाट थोरै जनशक्तिको परिचालन गरी छिटो गर्न सकिने बताए । सामुदायिक वनले मेसिन खरिद गरी वनमा परिक्षण समेत गरेको भन्दै यो मेसिनको प्रयोगबाट आगो लागि हाले नियन्त्रण गर्न सजिलो हुने र लाग्न नदिन पहिले नै अग्निरेखा कोर्न पनि छिटो हुने भएकाले प्रभावकारी रहेको बताएका छन् ।

अमृते सामुदायिक वन लगायतका अन्य वनहरुले समेत वन क्षेत्रमा हुने डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोर उपकरणको प्रयोग गरेका छन् । वडा नम्बर ९ भर्लाबास स्थित खुतखुुते सामुदायिक वनमा एयर ब्लरको प्रयोग गरी वनमा हुने आगलागी नियन्त्रणको अभ्यास गराइनुका साथै वन उपभोक्ताहरुलाई यसको प्रयोगका बारेमा समेत जानकारी गराइएको छ । वनका अध्यक्ष भिमबहादुर पुन, वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेल लगायतको उपस्थितिमा सामुदायिक वनमा सोही उपकरणबाट अग्निरेखा निर्माण र आगलागी नियन्त्रणको अभ्यास गराएको थियो ।

यसैगरी कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा पनि अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको छ । डिभिजनल वन अधिकृत विजयराज सुवेदीले अमेरिका र युरोपका वनमा ब्लोर प्रयोग गरेको देखेपछि नमुना ल्याएर परीक्षण गरिएको बताए । नमुना परीक्षण प्रभावकारी देखिएपछि कार्यालयले थप ५ थान ब्लोर खरिद गरेर सब डिभिजन वनलाई प्रयोगका लागि हस्तान्तरण गरेको छ ।

एक लिटर पेट्रोलमा २० एमएल मोबिल मिसाएर ब्लोर चलाउँदा एक घण्टासम्म काम गर्दछ । ब्लोरको सहायताले पातसफा गरी फायर लाइन बनाउन सकिन्छ । बनमा डढेलो लागेपछि नियन्त्रणका लागि प्रयोग हुन्छ । आगोको सानो लप्का भए नजिकै पुगेर र ठुलो लप्का छ भने टाढैबाट ब्लोर चलाएर पात हटाउँदै आगो फैलिनबाट रोक्न सकिने अधिकृत सुवेदीले बताए ।

ब्लोर मेसिनबाट आएको हावाको वेगले पातपतिङर उडाएर स्थान परिवर्तन गर्छ । डढेलो लागेको पातलाई एकीकृत गर्दै अन्य पात सँगको सम्पर्क विच्छेद गरी आगो फैलिन दिंदैंन । डिभिजन बन कार्यालयले वन उपभोक्ता समितिलाई ब्लोर प्रयोग गर्ने विधि सिकाउँदै आएको छ । अभ्यासमा सहभागीले ब्लोर प्रयोग गरी डढेलो नियन्त्रण गर्दा थप सुरक्षित हुने बिश्वास गरेका छन् ।
सामुदायिक वनहरुले अग्नि नियन्त्रणका लागि अन्य सुरक्षात्मक सामाग्रीहरु सहित विभिन्न उपकरणको प्रयोग गरेका छन् ।

जसले गर्दा आगोलागि नियन्त्रणमा केही सहजता भएको छ । हावाहुरीको समयमा कपिलवस्तुका वन क्षेत्रमा आगो अनियन्त्रित हुँदा सयौँ हेक्टर वन क्षेत्र सखाप हुने गरेकोले यसको नियन्त्रण र रोकथाममा विभिन्न पहलहरु भइरहेको डिभिजन बन कार्यालय कपिलवस्तुले जनाएको छ ।