आम्दा अस्पतालमा शुभकामना आदानप्रदान

मेचीकाली संवाददाता

४ बैशाख २०८१, मंगलवार
46 shares

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आम्दा अस्पतालको स्तरउन्नतिका लागी उपमहानगरपालिकाले सक्दो प्रयास गरिरहेको बताए । अस्पतालले आफ्नो सेवा सुविधा बिस्तार गर्दै लैजानेपनि उनले बताए ।
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले आयोजना गरेको नयाँ वर्ष २०८१ को अवसरमा मंगलबार बुटवलमा आयोजना गरेको सञ्चारकर्मीबिच शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताए ।

पाण्डेले अस्पताल स्थापनाको २५ वर्षसम्म स्तरउन्नति हुन नसकेका कुराहरुलाई पिपिइ मोडेलको आधारमा अगाडी बढाइने बताए । आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पाण्डेले आम्दा अस्पताल नेपालमा पिपिइ मोडेलको पहिलो प्रारम्भिक मोडल भएको बताउँदै शिक्षा र स्वास्थका बिषयलाई उपमहानगरले प्राथमिकता पारेको बताए । कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले २०८१ साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सुरुगर्ने गरि काम अगाडी बढाएको जानकारी दिए ।

पराजुलीले हाल अस्पतालले बहिरंग सेवा, अन्तरंग सेवा, इन्भेस्टिगेसन, २४ सै घण्टा आकस्मिक सेवा, विशेष सेवा, खोप, परिवार नियोजन सेवा, स्वास्थ्य सचेतना सेवा लगायतका प्रभावकारी सेवा प्रदान गरेको बताए । अस्पतालमा हाल प्रमाणपत्र तह नर्सिङ्ग, स्वास्थ्य चिकित्सा, डिप्लोमा इन फार्मेसीलगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । डाक्टर पराजुलीले शैक्षिक कार्यक्रम र हाल १०० शैयामा रहेको अस्पतालको स्तरबृद्धि गरी ३०० शैयामा बिस्तार गर्ने, महिलाको पाठेघर क्यान्सर उपचार सेवा बिस्तार गर्ने लगायतका योजना अगाडि बढाइएको बताए ।

शुभकामना दिँदै उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष एवं आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद अर्यालले हालसम्म संस्थाले आम्दा अस्पतालका हरेक कार्यक्रमहरुमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि संगै रहेर अस्पतालका आवश्यकता पूरा गर्दै जाने प्रतिवता व्यक्त गरे ।
नेपाल पत्रकार महासंग रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले अस्पताललाई नागरिक मैत्री बनाउन सञ्चार माध्यमको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रतिबद्धता ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं अस्पताल स्थानीय व्यववस्थापन समितिका सदस्य पदमराज गाहा, आम्दा अस्पतालका प्रशासक खगेन्द्र क्षेत्री, मेट्रोन सुशीला बिश्वकर्मालगायत अस्पतालका कर्मचारी एवं सञ्चारकर्मीको सहभागितामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन पत्रकार कल्पना तिवारीले गरेकी थिइन् ।