पार्वती आचार्य
कपिलवस्तु, जेठ ५ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना संक्रमण फैलिई उच्च जोखिम बढेको भन्दै १५ दिन जिल्लालाई सिल गरेको छ । यस अघि बैशाख २९ देखि जेठ ५ गते सम्मका लागि जिल्लालाई सिल गरिएको थियो । सरकराले गरेको लकडाउन जेठ २० गते सम्म बढाएको छ । कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए । जेठ २० गते सम्मका लागि जिल्लालाई सिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो । जेठ २० गते मध्यरात सम्म जिल्लालाई सिल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा कोरोना तीब्ररुपमा फैलिए पछि जोखिम कम गर्न जिल्लालाई सिल गर्ने अवधि थपिएको बताए । यस अघि गरिएको निर्णयलाई यथावत राखिएको छ तर तरकारी र खाद्यान्न किन्ने दिन भने घटाईएको छ । अब हप्ताको तीन दिन सोमवार, बुधवार र शनिवार बिहान ७ वजे देखि नौ बजेसम्म तरकारी र खाद्यान्न किन्ने समय छुट्टाईएको छ । जिल्लामा आवतजावतमा पूर्ण निषेध गरिएको छ । अत्यावश्यक बाहेका सबै उद्योगधन्दा कलकारखाना उद्योग ब्यवसाय, सवारी साधानमा पूर्ण रोक लगाईएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सिल गरिएको हो । जिल्ला प्रशासनले पासमा समेत कडाई गर्ने भएको छ । जिल्लामा जेठ ५ गते सम्म ४३ जना कोरोना संक्रमति भेटिएका छन् ।