बुटवल, जेठ ५ । रुपन्देहीको तिलोत्तमा–५ स्थित क्रिमसन हस्पिटल प्रालिमा उपचार गराइरहेका एक जनामा कारोना संक्रमण पुष्टि भएपछि अस्पताललाई सील गरिएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का एक पुरुषमा संक्रमण पुष्टि भउको हो । उनी जन्डिस भई जेठ १ गते एम्बुलेन्समा आएर अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा उनलाई ज्वरो आएपछि जेठ २ गते स्वाब संकलन गरी भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड–१९ ‘पोजेटिभ’ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले सोमवार जाँच गर्दा उनको पोजेटिभ रिपोर्ट आएको पुष्टि गरे । उनी अस्पतालको भेन्टिलेटरमा छन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले भने, ‘उनी कहिले आएर भर्ना भएका थिए । कहिले स्वाब परीक्षण गरिएको हामीलाई जानकारी थिएन । बल्ल पोजेटिभ आएपछि थाहा भयो ।’ ४१ वर्षिय संक्रमित व्यक्ति शिक्षक रहेको बताइएको छ । जन्डिस भएर उपचारको लागि रुपन्देही आएका उनलाई पहिलो दिन आईसीयूमा राखिएको थियो । दोस्रो दिन भेन्टिलेरमा राखिएको स्रोतले जनाएको छ । उनको ‘यात्रा विवरण’ के थियो, उनलाई कोरोना कहाँबाट सर्यो भन्ने जानकारी ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले खोजी गरिरहेको छ ।