यी हुन् एमाले परिषद् बैठकले पारित गरेका प्रस्ताव

मेचीकाली संवाददाता

१० बैशाख २०८१, सोमबार
14 shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई आह्वान गरेको छ ।

बैठकबाट पारित १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावमा उक्त आह्वान गरिएको हो ।

१. यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग र मिथ्याप्रचारका बाढीहरूलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीका रूपमा पुनःस्थापित गर्न सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने सङ्कल्प गर्दछ । अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याइपु¥याउन कुशलतापूर्वक अगुवाइ गर्ने अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत दसौं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पङ्क्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ। आगामी दिनमा पार्टीलाई वैचारिक, संठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न सबैकमरेडहरुलाई हार्दिक आह्वान गर्दछ ।

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित काठमाडौँ, १० वैशाखः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सवका अवसरमा सोमबार ललितपुरको गोदावरीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित । तस्बिरः किरणराज विष्ट÷रासस

२. यो बैठक २०८० फागुन २१ गतेनेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपा र नेकपा (एस) का बीचमा नयाँ समीकरणको निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य प्रारम्भ भएकोमा सन्तुष्टि व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दछ । पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पले आजका मुख्य समस्याहरूलाई सम्बोधन गर्न र अगाडिका लागि मार्गदर्शन गर्न सक्ने निष्कर्षका साथ यसको पूर्ण, तालिकाबद्ध र प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दछ । यस सहकार्यलाई कमजोर गर्ने कुनै पनि काम नगर्न, मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई आह्वान गर्दछ ।

३. विगत केही वर्षयता गहिरिएको आर्थिक मन्दी, भ्रष्टाचार र कुशासन, राज्य सञ्चालनमा व्याप्त बेथिति एवं मूल्यमान्यताहरूको भयावह स्खलनका कारणले समाजमा चौतर्फी नैराश्य बढेको छ । रोजगारीको अभाव र भविष्यप्रतिको अन्योलले युवाहरूको विदेश गमन अत्यधिक बढेको छ। यस्तो स्थितिले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षाको मार्गमा थप चुनौती पैदा गर्दछ । यो बैठक आर्थिक शिथिलता अन्त्य गर्दै अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रले भोग्नुपरेका समस्याको तत्काल समाधान गर्दै व्यवसायीहरूमा आत्मविश्वास र भरोसा जागृत गर्न, युवाहरूमा यो देश बन्छ र देश हामीले नै बनाउँछौं भन्ने सकारात्मक ऊर्जा र मनोबल पैदा गर्न विशेष योजना निर्माण गरी अगाडि बढ्न वर्तमान सरकारलाई आह्वान गर्दछ ।

४. यो बैठक भ्रष्टाचार, अनियमितता, तस्करी र अवैध स्रोतको सञ्चयन, सार्वजनिक सम्पत्तिको दोहन तथा राज्यकोषको अपचलनले समग्र राज्यलाई नै सङ्क्रमित तुल्याएको छ। भ्रष्टहरू दण्डित नहुँदा समाजमै प्रदूषण फैलिएको छ। यो बैठक भ्रष्टाचारका विरुद्ध सम्झौताहीन ढङ्गले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्न सरकारसँग माग गर्दछ । भ्रष्टाचारका विरुद्धको यस अभियानमा हाम्रो पार्टी बिनामोलाहिजा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।

५. देशका केही सहकारीहरूमा गंभीर समस्या र बेथितिहरू देखा परेका छन् । जनताले दुःख गरेर जम्मा गरेको अर्बौंको रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ताहरू सडकमा अलपत्र पर्ने स्थिति पैदा भएको छ। लघुवित्तका ऋणीहरू पनि समस्यामा परेका छन्। मिटरब्याज पीडितहरूका समस्या पनि पूर्ण रूपले समाधान भएका छैनन् । यो बैठक केही सहकारीमा पैदा भएका यस प्रकारका गंभीर समस्या र सर्वसाधारणको रकम अपचलनका गंभीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताहरूको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ । मिटरब्याज पीडितहरू र लघुवित्तका ऋणीहरूका समस्या समाधानमा गंभीर हुन पनि सरकारसँग माग गर्दछ । सहकारीमा पैदा भएका केही समस्यालाई लिएर सहकारीकै विरुद्ध भइरहेका गलत प्रचारहरू उचित होइनन्। संविधानले सहकारीलाई अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा ग्रहण गरेको छ । यसअनुरूप देशैभरिका सहकारीलाई उत्पादन र वितरणमा केन्द्रित हुन आवश्यक वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।

६. विगत केही समययता दैनिक उपभोग्य वस्तुहरुको मूल्य अचाक्ली बढेको छ । दैनिक ज्यालादारी गरेर खानु पर्ने र न्यून आय भएका सर्वसाधारणको जीवन यसबाट अत्यधिक प्रभावित भएको छ । नियोजित ढङ्गले बढाइएको महङ्गी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, कतिपय वस्तुर सेवामा रहेकोएकाधिकार अन्त्य गर्न र सुलभ पसल लगायतका माध्यमबाट सर्वसाधारण नागरिकहरुलाई सहुलियत दरले दैनिक उपभोग्य वस्तु उपलव्ध गराउनेप्रबन्ध गर्न योबैठक सरकारकोध्यानाकर्षण गर्दछ ।

७. यो बैठक यही वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएका इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सुहाङ नेम्बाङ तथा बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का दमन भण्डारीलाई विजयी बनाउन त्यहाँका मतदाताहरुलाई हार्दिक अपिल गर्दछ। निर्वाचनमा सम्पूर्ण शक्तिका साथ केन्द्रित हुन सम्बन्धित पार्टी कमिटी र जनसङ्गठनहरुलाई आह्वान गर्दै हाम्रो उम्मेदवारीलाई समर्थन गर्नु हुने राजनीतिक दलहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

८. यो बैठक हालै वनडढेलो र आगलागीले गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, डोल्पा, पाल्पा, स्याङ्जा कैलाली लगायत मुलुकका धेरै भूभागमा ठूलोक्षति पु¥याएकोमा दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनको प्रभावकारी प्रतिकार्यका लागि सरकारको ध्यानाकर्षण गर्दछ र पीडितहरुलाई तत्काल राहत उपलव्ध गराउन र घरबार गुमाएकाहरुको पुनस्र्थापनाका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

९. यो बैठक रुस–युक्रेन युद्ध निरन्तर लम्बिइरहेको यसले मानवीय सङ्कट बढाइरहेको, खाद्यान्न तथा इन्धनकोआपूर्ति शृङ्खलामा असर पारेको, विश्व अर्थतन्त्रमैप्रतिकूल प्रभाव बढेकोतथा क्षेत्रीय द्वन्द्वको जोखिम समेत बढाएकोमा चासो व्यक्त गर्दछ । रुस–युक्रेन युद्धबिच तत्काल युद्धविराम गर्दै युद्धकोअन्त्य गर्न्, दुबैदेश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रुपमा रहने कुराको सुनिश्चितता गर्न र त्यस भूभागलाई शक्ति राष्ट्रहरुको बल प्रदर्शनको थलोर क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनाउन माग गर्दछ ।

१०. यस युद्धमा विभिन्न कारणले नेपाली युवाहरु समेत फस्दै गएकोप्रति गंभीर चिन्ता व्यक्त गर्दछ । रुसी सेनामा गैरकानुनी रुपा भर्ती भई युद्ध मैदानमा पुगेका युवाहरुलाई कुटनीतिक माध्यमबाट फिर्ता गराउन र युक्रेनी सेनाहरुको बन्धक बनेकाहरुलाई तत्काल रिहा गराउन आवश्यक पहलका लागि सरकारसँग माग गर्दछ ।

११. ७ अक्टोबर २०२३ पछि हमास लडाकूहरु र इजरायल बिचको आक्रमण र प्रत्याक्रमणमा परी १२ सय भन्दा इजरायलीहरु र ३२ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकहरु मारिएका छन् । संयुक्त राष्ट्र सङ्घका सहायताकर्मीहरुको हत्या, अस्पतालमाथि बमबारी एवं खाद्यान्न र पानीसमेत वितरण अवरुद्ध गर्ने अमानवीय कामहरु भएका छन् । गाजा क्षेत्र भोकमरी, अभाव र मानवीय सङ्कटमा डुबेको छ। क्षेत्रीय युद्धको आशङ्का बढेको छ । हामी जुनसुकै स्वरुप, आवरण र नाममा गरिने आतङ्कवादी क्रियाकलापको दृढ विरोध गर्दछौं । प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति दृढ समर्थन गर्दछौं। स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनुपर्छ भन्ने संयुक्त राष्ट्र सङ्घको ‘दुई राज्य समाधान’ को प्रस्तावलाई समर्थन गर्छौं । त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशी सहित सबै बन्धकहरु रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्वाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृङ्खला तत्काल अन्त्य गर्न माग गर्दछौं ।

१२. यो बैठक म्यानमारका जनताले लोकतन्त्रको प्राप्तिका लागि गरेको बलिदानीपूर्ण संघर्षप्रति एकवद्धता प्रकट गर्दछ र म्यान्मारमा लोकतन्त्रको तत्काल पुनस्र्थापना हुने विश्वास व्यक्त गर्दछ।

शोक प्रस्ताव
१३. यो बैठक पार्टी उपाध्यक्ष, संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्बाङको निधनप्रति गहिरोदुख व्यक्त गर्दछ । उहाँकोनिधन हाम्रो पार्टीका लागि मात्रैनभएर मुलुककै लागि अपूरणीय क्षतिको विषय हो । कमरेड सुवाससहित यस बिचमा निधन हुनुभएका पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल, लेखा आयोगका सदस्य खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु इन्दिरा चापागाईं, भोजराज ढुंगेल, रामबहादुर दानी, रामचन्द्र चापागाईं, धर्मनाथ यादव, महेश चौधरी र डा. ऋतुराज गड्तौला र कालिकोटबाट निर्वाचित पूर्व सांसद यज्ञराज न्यौपाने, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य ऐना गिरी र रामचन्द्र थपलिया लगायत कमरेडहरुप्रति योबैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

१४. अन्त्यमा, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम वैठक गोदावरीको सनराईज हलमा सफलपूर्वक सम्पन्न गर्न व्यवस्थापन कमिटी लगायत हलव्यवस्थापन, यातायात, शान्तिसुरक्षा, स्वयम्सेवा, कार्यशाला सहजीकरण, कला प्रदर्शनी र खानपानमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।