छानबिन गर्न परिवारको माग
बुटवल, जेठ ९ । नेपाली सेना र प्रहरीले जबर्जस्ती शव उठाएर व्यवस्थापन गरेको भन्दै गुल्मीका कोरोना संक्रमितका परिवारले परिवारले विरोध जनाएका छन् । बिहिबार क्रिमशन अस्पतालले मृत घोषणा गरेका गुल्मी मदाने गाउँपालिकाका ४१ वर्षीय कोरोना संक्रमितको शव ३१ घण्टापछि उठेको छ । उपचारमा अस्पतालले लापरवाही गरेको कारण ज्यान गएको भन्दै मृतकका आफन्तहरुले उपचारमा संलग्नहरुको छानबिन हुनुपर्ने माग गरेका छन् ।
परिवारद्वार शुक्रबार जारी गरेको विज्ञप्तीमा संक्रमणको पुष्टि पहिले कुरुवाको अनुमतिबिना ढाडबाट पानी निकालिएको, समयमै बिरामीको छातीको एक्सरे नगरेको, क्वारेन्टाइनबाट भागेर आएका बिरामीलाई सँगै राखेको, कोरोना परीक्षणको लागि पहिले भर्नुपर्ने फाराम दुई दिनपछि मागेर भर्न लगाएको आरोप लगाइएको छ । त्यस्तै कोरोना संक्रमणको पुष्टि भएपनि बिरामीलाई कोरोना अस्पतालमा पुराएर उपचार गर्नुको सट्टा लापरवाही गरेर ज्यान जाने अवस्था सिर्जना भएको न्याय पाउनुपर्ने मृतककी श्रीमतीले माग गरेकी छन् । उनले उपचारमा लापरवाही गर्ने, बिरामीको सत्यतथ्य जानकारी समयमै नदिएर बाहिर अफवा फैलाउने अस्पताल प्रशासन, चिकित्सक र सञ्चालकहरुलाई कानूननुसार कारवाहीको माग गरिन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको बैठकले शव व्यवस्थापन गर्ने निर्णय गरेपछि शव उठाइएको हो । परिवारका सदस्यले शव उठाउन अनुमति नदिए पनि शव उठाइएको हो । नेपाली सेना र प्रहरीसहितको टोली क्रिमशन अस्पतालमा शव व्यवस्थापनका लागि पुगेको थियो । मृतकका भाइ मीनबहादुर कुँवरले अस्पतालबाट शव नेपाली सेना र प्रहरीको टोलीले निकालेको बताए । उनीहरुले यो शव व्यावस्थापनको जिम्मा राज्यको भएको भन्दै उठाइएको बताए । कुँवरले शव व्यावस्थापनको सेवा प्रबाहमा लापरवाहीको कुरा परिवारले उठाई रहेका बेला कुनै वास्था नगरेर परिवारको सहमतिबिना शव उठाइएको बताए । ‘कोरोनाकै कारण बिरामीको ज्यान जाने अवस्था किन आयो विषय गम्भीर छ,’उनले भने,‘बिमार भएर अस्पताल आएकै कारण अहिले आफूहरुले भोगेको समस्या अरुले पनि भोग्नेछन् ।’ मृतकको शवलाई पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ तिलोत्तमास्थित भलुही जंगलमा व्यवस्थापन गरिएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शव व्यवस्थापनको लागि स्थान पहिचानमा बाहेक आफूहरुको कुनै संलग्नता नरहेका बताए । उनले संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सुरक्षाकर्मीहरुले शवको व्यावस्थापन गरेको बताए । मदानेकै संक्रमितका परिवार, उपचारमा संलग्न स्वास्थ्यकर्मी र आफन्त २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अझै पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए । मदानेपछि उपचार गरिएको अर्घाखाँचीको छाँया पोलिक्लिनिकका स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पनि नेगेटिभ नै आएको छ ।