काठमाडौँ, जेठ १६ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनको जेठ १० गते मृत्यु भएको र परीक्षणमा कोरोना देखिएको बताए । नेपालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो । १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।