प्रा.डा.ऋषिराम शर्मा
नेपाली धर्तीबाट निरंकुश, जहानियाँ र वंशवादी शासन सत्तालाई विदा दिई गणतान्त्रिक युगमा प्रवेश गरेको दिन, नेपाल र नेपालीहरूकै दिगो भाग्यरेखा कोर्ने दिन र समृद्धिको सपनालाई विपनामा अनुवाद गर्ने ऐतिहासिक दिन बनेर आजभन्दा बाह्र वर्ष अघि ज्येष्ठ १५ गते मुलुकमा गणतन्त्रको उदय भएको थियो ।
पहिलो संविधान सभाले २०६५ साल जेठ १५ गतेका दिन संविधान सभाभित्रबाट गणतन्त्र घोषणा यसरी गरेको थियो–‘सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म्निरपेक्ष र समावेशी नेपाल आजका मितिदेखि एक संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत परिणत भएको यो पहिलो वैठक विधिवत घोषणा गर्दछ’ (गो.प. जेष्ठ १६, पृ. १०) यसरी मुलुक गणतान्त्रिक युगमा औपचारिक रूपमा प्रवेश गरेपछि आम नेपालीहरू रैतीबाट मालिक र प्रजाबाट जनतामा रूपान्तरित भए अर्थात् नेपालमा राजनीतिक परिवर्तनको एउटा लामो कोर्स पूरा भयो र गणतन्त्रको नयाँ डिस्कोर्स आरम्भ भयो । कैयौँ एलिटहरूका आसन डग्मगाए र सवाल्टर्न सत्तामा पुगे ।
नेपाल मात्रै संसारमा यस्तो देश होला जहाँ प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा पटक पटक आन्दोलन, सङ्घर्ष र विद्रोह गर्नु परेको होस् । तर ती हरेक आन्दोलनहरू राजनीतिक आन्दोलनमा मात्र सीमित हुन पुगे भने जमिनी ताकतबाट सत्तामा पुगेकाहरूका आचरण, संस्कार, चिन्तन र सोचले पुनः जमिन छाडेर आकासिएको अनुभूत गरियो र जमिनका दुःख, पीडा र कष्ट जस्ताका तस्तै रह्यो भन्ने गरियो र गरिँदैछ ।
उता रोल्पा र रुलुम जस्ता वर्गीय र जातीय मुक्तिको नारा दिएर कुटो कोदालो र कलम समाउने श्रमशील र कलिला हातहरूमा भरुवा थमाउँदै विद्रोहलाई जुरुक्क उचालेका भनिएका जमिनमा आज पनि किन रुकुमका नबराज बिक र सुनारहरू जातीय विभेदको शिकार बनिरहेछन् ? होलेरीमा बाख्रा चराउन गएका बालबालिकालाई किन बेबारिसे बमले निलिरहेछ ! र भने यता युद्धकालका वरिष्ठ कामरेडहरूलाई मृत्युको संवेदनाले किन छुँदैन ? कतै हाम्रा गणतन्त्रका गजुरहरू नयाँ एलिट बन्ने असीम महत्वाकाङ्क्षाको सुरसाका मुखभित्र पसिरहेका त छैनन् भन्ने गम्भीर प्रश्नले फणा उठाइरहे जस्तो पो लाग्दैछ ! निजहरूको राजसी ठाटबाठ देखेर राजधानीसमेत हैरान छ ! अर्थात् यसो भनौ विद्रोह पश्चात् गुल्जार हुने रहर गरेको गाउँ टहुरो छ र बेलाबेला मध्ययुगीन बर्बरता बेहोर्न विवश छ !
२०६५ साल जेठ १५ गते जुन दिन संविधान सभाबाट गणतन्त्रको घोषणा हुँदै थियो त्यस दिन गोरखापत्रले एउटा विशेषाङ्क निकाल्यो । मुख्य पृष्ठको समाचार भित्रको बक्समा लेखिएको थियो– “गणतन्त्र कार्यान्वयन आज,राजा नागरिक र जनता राष्ट्रपतिरराजतन्त्रका सबै अवशेष अन्त्य गरिने” ! यी कति रोमाञ्चक अनुभूति जगाउने समाचार थिए ! राजतन्त्रको अन्त्यको घोषणा भए पनि हामी हरेक भित्र सुषुप्त रूपमा रहेको राजतन्त्रात्मक संस्कृति र प्रवृत्तिको अन्त्य भएकै हो त भन्ने जिज्ञासा भने आज पनि उठिरहेकै छ ।
भनिन्छ, हाम्रा अपवाद बाहेकका धेरै जसो नेताहरूमा पन्पिरहेको छ यो राजतन्त्रात्मक सँस्कृति ! अझै जसले राजत्न्त्र समाप्त गर्ने आफू सबै भन्दा ठूलो जिम्मेबार भन्छ त्यही वर्गका नेताहरुको यही तेह्र वर्ष्भित्र चुलिएको अकूत सम्पदाका साथै सामजिक, सांस्कृतिक, पारिवारिक उत्कर्षले गणतन्त्र प्रति औँलो ठड्याउनेहरूका आवाज बजारमा निकै बिकिरहेका छन् !
राजनीति फेरियो, पात्र फेरियो, नेता फेरियो, हामी पनि फेरियौँ अर्थात् रैतीबाट मालिक भयौँ र प्रजाबाट जनता तर हाम्रो संस्कार भने पटक्कै फेरिएन । हामी राजनीतिक रूपमा गणतन्त्रवादी भयौँ । आवरणका रूपमा गणतन्त्रवादी भयौँ । तर हाम्रो आचरण, व्यवहार र आनीवानी एवं समग्र संस्कार फेरिएन । हामीले राजतन्त्रको हिंग त फाल्यौँ तर हिङ बाँधेको टालोलाई संस्कारका रूपमा जिउभरि नै टाँसेर राख्यौँ ।
के गणतन्त्रको कार्यान्वयनमा, गणतन्त्रलाई संस्थागत रूपमा प्रदान गर्नमा र पूर्ण कानूनी राज्य स्थापना गर्नमा हाम्रा आफ्नै कर्तव्य छैनन् त । हिजो निरंकुश राजतन्त्रात्मक सामन्ती राज्य व्यवस्थाद्वारा निर्मित हाम्रा आदर्शहरू, मानकहरू, दृष्टिकोणहरू, सोचहरू, चिन्तनहरू र भावनाहरू बदलिए त ? नागरिकका अगाडि तेर्सिएको यो यक्ष प्रश्न हो । आज गणतन्त्र आएको तेह्र वर्षसम्म हाम्रो चरित्र, सोच, चिन्तन र दृष्टिकोण कति फेरियो ?
जनता नेतालाई सुकिलो हेर्न चाहन्छन् ! उनीहरूको जीवन्शैली पारदर्शी र स्वच्छ होओस् भन्ने चाहन्छन् उनीहरू ! सत्तामा पुग्नासाथ एक्कासी बेलुन फुलेझै फुलेको वैयक्तिक आर्थिक र भौतिक समृद्धिको चुचुरोमा पुगेका नेताहरूको आम जनता जब मनमनै लेखापरीक्षण गर्न थाल्छन्, त्यतिबेला अनेकौँ अनुत्तरित प्रश्नहरूले उनीहरूलाई चिमोट्न थाल्छ ! र उनीहरू आफ्ना आदर्श नेताहरूले आफूलाई सिकाएका नैतिकता, आदर्श र वैचारिक भाष्यका पुराना थोत्रा नोटबुकका पाना पल्टाएर हेर्न थाल्छन् ! कतिपय इमान्दार कार्यकर्ता आफ्ना नेतामा आएको यो स्खलन देखेर विरक्त हुन्छन् भने कतिपय धुर्त कार्यकर्ताहरू नवधनाढ्य नेताका ओरिपरि प्रदक्षिणा गर्दै आफ्नै भकारी भर्न उद्यत छन् । आम जनसमुदाय र निष्ठावान् कार्यकर्ता आफ्ना आदर्श नेताहरूका गुलिया कुरा होइन व्यवहार र आचरणका पोषक समाचार सुन्न चाहन्छ हामी युरोप, अष्ट्रेलिया र सिंगापुरको जस्तो व्यवस्था चाहन्छौँ तर तदनुकूलको आचरण र शैली अँगाल्दैनौँ । युरोपेली व्यवस्था राज्य वा सरकारले मात्रै ल्याएको नभई त्यहाँका जनतामा नियम कानुनको पालना गर्ने संस्कार, जनताको सोच, चिन्तन र चरित्रका कारण पैदा भएको हो भन्ने तर्फहाम्रो ध्यान जाँदैन ।
गणतन्त्रका बाह्र वर्षभित्र हिजो हवाइ चप्पल लगाउने एक कार्यकर्ता आज दिनमा दुई पटक हवाई सफर गर्छ ! जिरो आम्दानीबाट उठेर एक्कासी पजेरो धनी हुन्छ ! भैंसीको पाडो किन्न नसकेर सहर पस्नेले प्राडो चढ्छ ! अग्रगामी छलाङ हान्दै राज्यका ढुकुटीसम्म पुगेर त्यसको दोहन गर्छस एक इमानदार कार्यकर्ताबाट बेइमान ब्रोकरमा अनुवाद हुन्छ, गणतन्त्रको हरियाली मास्ने यस्तो कुरूप बनमाराका झाडीमा हाम्रै नेताहरूका आशीर्वादको अभिसिञ्चन विडम्बनाको विषय हो ! आज गणतन्त्रकै ढाडमा टेकेर गणतन्त्रकै टाउकोमा हिर्काउने हामीहरूले नै स्लो पोइजन (मन्द विष) का रूपमा बाबुलाई विचौलिया, दाइलाई दलाल, भाइलाई भ्रष्टाचारी र सालालाई सुदखोर बनाइरहेका त छैनौँ ? हामी आफै हाम्रा आदर्श नेतालाई हिजो चुनावमा गरेको सहयोगको हप्ता असुली मात्र होइन, आगामी चुनावको त्रास देखाउँदै ब्लाकमेलिङ समेत गरिरहेका पो छौँ कि ?
२०४७ सालमा कृष्णप्रसाद भट्टराईले काठमाडौँलाई सिंगापुर बनाउँछु भने अर्थात् सिंगापुरलाई सरसफाई, कानुनी शासन र स्व–अनुशासनको आदर्श र रूपक पनि मानिन्छ । हामी आफै जब त्यही सिंगापुरमा पुग्छौँ, फोहर फाल्न र थुक्न डस्टविन खोज्छौँ त्यो नभेटे टिस्यु पेपरमा थुकेर गोजीमा हाल्छौँ र डस्टविन भएका ठाउँमा त्यसलाई विसर्जन गर्छौँ । जब आफ्नो देश फर्कन्छौँ बाटामा फोहर निर्धक्क फाल्छौँ र थुक्छौँः अनि राज्यलाई गाली गर्छौं र आपैmले बोकेर शासनमा पु¥याएको सत्तालाई सराप्छौँ । चिया पसल, चौबाटो र चोक चोकमा देशको बदनाम र विदेशको गुणगान गर्छौं र निर्धक्क भन्छौँ सिंगापुरमा त यस्तो छ र उस्तो छ ।
गणतन्त्रका बाह्र वर्ष्भित्र हिजो हवाइ चप्पल लगाउने एक कार्यकर्ता आज दिनमा दुई पटक हवाई सफर गर्छ ! जिरो आम्दानीबाट उठेर एक्कासी पजेरो धनी हुन्छ ! भैंसीको पाडो किन्न नसकेर सहर पस्नेले प्राडो चढ्छ ! अग्रगामी छलाङ हान्दै राज्यका ढुकुटीसम्म पुगेर त्यसको दोहन गर्छस एक इमानदार कार्यकर्ताबाट बेइमान ब्रोकरमा अनुवाद हुन्छ, गणतन्त्रको हरियाली मास्ने यस्तो कुरूप बनमाराका झाडीमा हाम्रै नेताहरूका आशीर्वादको अभिसिञ्चन विडम्बनाको विषय हो !
आज गणतन्त्रकै ढाडमा टेकेर गणतन्त्रकै टाउकोमा हिर्काउने हामीहरूले नै स्लो पोइजन (मन्द विष) का रूपमा बाबुलाई विचौलिया, दाइलाई दलाल, भाइलाई भ्रष्टाचारी र सालालाई सुदखोर बनाइरहेका त छैनौँ ? हामी आफै हाम्रा आदर्श नेतालाई हिजो चुनावमा गरेको सहयोगको हप्ता असुली मात्र होइन, आगामी चुनावको त्रास देखाउँदै ब्लाकमेलिङ समेत गरिरहेका पो छौँ कि ? यो देशमा इमानदार नेता, मन्त्री, कार्यकर्ता, पेशागत बुद्धिजीवी, प्राध्यापक, शिक्षक, पत्रकार, कर्मचारी, वकिल पनि प्रशस्त छन् तर तिनीहरूको सङलो नदी केही र कोहीको बेइमानी र विकृतिको भल पसेर धमिलिएको हुँदा त्यस्ता केही र कोही मध्ये हामी पर्छौं भने हामी पनि आजैका दिनदेखि फेरिनु आवश्यक छ ।
गणतन्त्रले मुलुकमा ल्याएका सकारात्मक पक्ष पनि बग्रेल्ती छन् । गणतन्त्रकै कारण मुलुकमा राजनैतिक परिवर्तन र चेतनाको स्तर ह्वात्तै बढेको छ । किनारीकृत समुदायबाट हामीले पहिलो राष्ट्रपति पायौँ । आधा आकाश ढाक्ने महिला वर्गको प्रतिनिधि अहिले मुलुकको राष्ट्रपति हुनुहुन्छ । जमिन्दारको घुरानबाट उठेर संसदमा प्रवेश गरेकी एक कमैया कखरा सिक्दै प्रवेशिका उत्तीर्ण गरी विशिष्ट पहिचान गराएको देख्दा मुलुकमा आएको गणतन्त्रप्रति गौरव लाग्छ ! कर्णाली प्रदेशको संसदमा मुगुकी सांसद झुमा बि क को भाषण सुन्दा संसदमा जमिनको प्रतिनिधित्व भएको अनुभूत हुन्छ र सीमान्तीकृतहरूले गणतन्त्रकै महाप्रसादका रूपमा यस्तो अवसर प्राप्त गरेको नमानी धरै छैन ! संविधानले सबै जाति, वर्ग, तप्का र क्षेत्रका लागि गरेको व्यवस्था गणतन्त्रकै भावना अनुरुप गरिएकै हुन् र गणतन्त्रकै कारण केन्द्रीय स्थानीय र प्रादेशिक सराकारमा दलित अल्पसङ्ख्यकहरूले प्रतिनिधि बन्ने अवसर पाएका छन् ! अन्त्यमा ! गणतन्त्र सर्वोत्तम सुन्दर व्यवस्था हो र यसलाई प्रयोगिक र व्यवहारिक रूपमा समेत सुन्दर बनाऔँ । हामी कतै माथि भनिएझैँ फेरिन नसकेको भए फेरियौँ र गणतन्त्रमा पसेको विकृतिको भलका मुहान बन्द गरौँः त्यसबाट उत्पन्न धमिलो पानीलाई प्रशोधन गरी शुद्ध पारौँ र मुलुकलाई समृद्धिको पथमा लैजाने राष्ट्रिय संकल्पलाई साकार पारौँ ।
(गुल्मी मुसिकोट नगरपालिका आँपचौरमा स्थायी घर भएका मेचीकालीका स्तम्भरका प्राडा शर्मा हाल काठमाण्डौमा हुनुहुन्छ । उहाँले विभिन्न समसामयिक विषयमा लेख रचना र विश्लेषण गर्दै आउनुभएको छ ।)