बन्दना पोखरेल
रामपुर, जेठ २६ । पाल्पाको लुम्बिनी मेडिकल कजेलमा उपचार गराइरहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २३ वर्षीय पुरुष तथा गुल्मीको रूरू गाउँपालिका १ का ३२ वर्षका पुरूषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
उनीहरु दुवैजना लुम्बिनी मेडिकल कजेलमा उपचाररत रहेका न्यौपानेले बताए । सिलुवाका पुरुष भने जेठ २० गते मृत्यु भएका ४५ वर्षीय पुरुषसंगै भारतबाट आएका थिए । उनीसँगै आएका अर्का एकजनामा भने कोरोना नेगेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । उनीहरुमा स्वास्थ्य समस्या देखिएपछि जेठ २२ गते थप उपचारका लागि पठाईएको स्वास्थ्य संयोजक ढकालले जानकारी दिए ।
यस्तै गुल्मीका एक जना ६७ वर्षीय पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कजेलको आइसोलेशन कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । गुल्मीको मालिका गाउँपालिका–३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. राजु शाक्यले जानकारी दिए ।
आइतबार उपचारका लागि अस्पताल आएका बिरामीमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइसोलेशन कक्षमा उपचारका क्रममा मृत्यु भएको र उनको पिसिआरको नतिजा आउन बाकी रहेको डा. शाक्यले बताए ।
पाल्पाको सिलुवामा मृत्यु भएका पुरुषसंगै आएका ४१ मध्ये ३९ जनाको स्वाब परीक्षण भोलीदेखि गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ । पाल्पामा यसअघि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।