रुद्रमणि भुसाल
अर्घाखाँची, जेठ २८ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारकोलागि बुटवल गएर पर्कदै गरेका एक जनाको मृत्यु भएको छ ।
मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षिय यम प्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए ।
भारतबाट आएका उनी १२ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । घाँटीको सल्यक्रिया समेत गरेका उनलाई स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागी मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । उनको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार पछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए । उनको स्वाव परिक्षणका लागि पठाइएको तर रिपोर्ट भने आइनसकेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।