बन्दना पोखरेल
रामपुर, जेठ २९ । पाल्पाको पूर्वखोला गाउँपालिकाले क्वारेन्टाइनमा बस्ने सम्पूर्णको पिसिआर चेक गर्नको लागि आफ्नै खर्चमा भिटिएम (स्वाब संकलन गर्ने किट) खरिद गरेको छ । गाउँपालिकाले भारत लगाएत तेस्रो मुलुकबाट फर्किएका आफ्ना नागरिक र फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको कोरोना परीक्षण गर्नको लागि आफ्नै लगानीमा किट खरिद गरिएको प्रमुख नुनबहादुर थापाले बताए ।
केन्द्र र प्रदेश सरकारको मुख ताकेर बस्दा धेरैलाई परीक्षण गर्न सकिएन, प्रमुख सारुले भने त्यसैले गाउँपालिकाकाका जोखिम सम्भावित सबैलाई परीक्षणका लागि किट खरिद गरिएको हो । प्रदेश र केन्द्रबाट किट उपलब्ध नहुँदा धेरैलाइ लामो समयसम्म क्वारेन्टाइनमा राख्नुपर्ने र पोजिटिभ भए अरुलाइ समेत जोखिम हुनेभएकाले सबैको परीक्षण गर्नको लागि जिल्लामै पहिलो पटक स्थानीय स्तरबाट नै किट खरिद गरिएको उनले बताए ।
प्रति गोटा रु ३५० मा भ्याट थप गरी किट खरिद गरिएको पालिकाले जनाएको छ । पाल्पाका अन्य पालिकाले समेत आफ्नै लगानीमा भएपनि किट खरिद गरेर परीक्षणको दायरालाई बढाउनुपर्ने माग जनस्तरबाट उठ्दै आएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालका अनुसार ३ सय २८ जना भारतबाट आएका सबै क्वारेन्टाइनमा छन् । अहिले सम्म १०६ जनाको आरडिटि गरिएको छ भने ५० जनाको पिसिआर परिक्षण गरिएको छ । देश भित्र बाट आएकाको सुरूमा आरडिटि गरिएको हो भने भारत बाट आएकाहरू सबैको पिसिआर परिक्षण गरेर मात्र पठाइएको छ । उनले भने ।
अहिले पाल्पामा भारत लगाएतका मुलुकबाट आएका नागरिकहरुमा कोरोनाको संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यू भएको छ । प्रदेश र केन्द्र सरकारले प्रर्याप्त किट नपठाउँदा जिल्लामा कोरोनाको पिसिआर स्वाव संकलनमा समस्या समेत परेको छ ।