बुटवल, असार ४ । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा १ करोड ४६ लाख खर्च गरेको छ । उक्त रकम नगरपालिकामा निर्मित आइसोलेसन र क्वारेन्टिन निर्माण, सञ्चालन तथा राहत वितरणसँगै फ्रन्ट लाइनमा रहेर काम गर्ने कर्मचारीहरूको प्रोत्साहन भत्ता रकमसमेतको हो । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले सरकारले लकडाउन घोषणा गरेपछि विपन्न नागरिकको लागि राहत वितरणसँगै क्वारेन्टिन र आइसोलेसन निर्माण र सञ्चालनमा उक्त रकम खर्च भएको जानकारी दिए ।
नेपाल सरकारले कोभिड–१९ नियन्त्रण तथा उपचारमा भएको आम्दानी खर्च सार्वजनिक गरेसँगै स्थानीय तहहरूले पनि खर्च विवरण सार्वजनिक गर्न थालेका छन् । सोहीअनुरूप सैनामैना नगरपालिकाले बिहीबार खर्च विवरण सार्वजनिक गरेको हो । नगरपालिकाले १ करोड १३ लाख ९१ हजार रुपैयाँ अन्य क्षेत्रको बजेट रकमलाई रकमान्तर गरी कोरोना नियन्त्रण तथा उपचार राहत कोषमा जम्मा गरेको थियो भने विपद् व्यवस्थापन कोषको लागि विनियोजित १५ लाख रुपैयाँ पनि कोषमै जम्मा गरेको थियो । त्यस्तै, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलित ३९ लाख १ हजार ३ सय १२ रुपैयाँ प्रदेश सरकारबाट प्राप्त १५ लाख गरी १ करोड ८२ लाख ९२ हजार ३ सय १२ रुपैयाँ कोषमा जम्मा भएको जनाएको छ ।
कोषमा जम्मा भएको रकमबाट ५१ लाख ८० हजार ३ सय ८९ रुपैयाँबाट राहत सामग्री खरिद गरिएको नगरप्रमुख कार्कीले जानकारी दिए ।
त्यसैगरी, नगरपालिकामा निर्माण गरिएको नगरस्तरीय क्वारेन्टिनमा ३८ लाख ९ हजार ४ सय ३८, क्वारेन्टिनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिकवापत २१ लाख ९७ हजार ८ सय, सामुदायिक क्वारेन्टिन निर्माणमा भएको खर्च ३४ लाख १६ लाख ९ सय २२ रुपैयाँ गरी कूल १ करोड, ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरप्रमुख कार्कीले जानकारी दिए ।
उक्त कोषमा ३६ लाख ८७ हजार ७ सय ६३ रुपैयाँ बचत रहेको छ भने संक्रमितको उपचार तथा क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा खटिएका कर्मचारीको जेठ र असार महिनाको जोखिम भत्ता उपलब्ध गराउन बाँकी रहेको छ । उक्त रकम उपलब्ध गराउँदा कोषको रकम सबै सकिने कार्कीले बताए ।
नगरपालिकाले लकडाउनको कारण दैनिक ज्यालादारीमा काम गर्ने ५ हजार ८ सय ७४ घरपरिवारलाई राहत उपलब्ध गराएको छ । नगरप्रमुख कार्कीले ५१ लाख ८० हजार ३ सय ८९ रुपैयाँ बराबरको चामल ८४ हजार ४ सय ७१ केजी, दाल ७ हजार ४ सय ३७ केजी तथा ७ हजार १ सय ४४ लिटर तेल वितरण गरिएको जानकारी दिए । त्यस्तै, ७ हजार ५ सय ६८ केजी नुन, चिउरा ६ हजार २ सय ६७ केजी, साबुन ७ हजार ५ सय ४९ पिस र सोयाबिन २ सय ३२ केजी वितरण गरिएको छ ।
नगरपालिकाले पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा नगरस्तरीय क्वारेन्टिन निर्माण गरी सञ्चालन गर्दै आएको छ । त्यस्तै, सैनामैना पर्रोहा परमेश्वर मावि, पर्रोहा बहुमुखी क्याम्पस, शहीद नारायण पोख्रेल रामापुर क्याम्पस, जनचेतना मावि र पशुपति माविमा सामुदायिक क्वारेन्टाइन निर्माण गरी सञ्चालन भइरहेका छन । नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा भारत तथा अन्य मुलुकबाट आएका ७ सय १० जनाले सेवा लिएकोमा ४ सय १५ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फर्किएका छन् । अहिले पनि भारतबाट दैनिक १५÷२० जना क्वारेन्टाइनमा थपिने गरेको नगरप्रमुख कार्कीले जानकारी दिए ।