टोपलाल अर्याल
गुल्मी, असार ५ । जिल्लाको छत्रकोट गाउँपालिकामा एक व्यक्तिको होम क्वारेन्टीनमा मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नं ५ मैनडाँडाका ६९ बर्षीय पुरुषको बिहिबार राति मृत्यु भएको छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए । उनलाई प्यारालाइसेसको समस्या थियो । उपचारपछि गत जेठ २५ गते भारतबाट आएकाले होम क्वारेन्टीनमा छुट्टै व्यावस्थापन गरिएका पन्थले बताए ।
मृतकको आरडिडी पोजेटिभ आएको छ । असार ४ गते स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्यप्रसाद पौडेलले बताए । मृतक पुरुषलाई भारतबाट हेरचाह गर्दै नेपाल ल्याएका अर्का एक जनाको आरडिटी परिक्षण भने नेगेटिभ आएको पौडेलले जानकारी दिए । आरडिटी पोजेटिभ आएकाले मृतक पुरुषको शबलाई नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
गत जेठ १७ गते छत्रकोट गाउँपालिकाकै वडा नं ४ दिगामको आदर्श मावि क्वारेन्टीनमा बसेका ५६ बर्षीय चन्द्र बहादुर परियारले आत्महत्या गरेका थिए । भारतबाट गाउँ आएकै दिन क्वारेन्टीन नजिकै दबदबेको रुखमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिए । छत्रकोट गाउँपालिकामा बिहिबार २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्लामा अहिलेसम्म एक सय पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।