काठमाडौं, असार ८ । नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९ हजार ५६१ संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा देशभर गरी ३७० जना संक्रमित कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् । जसमा ३२ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना विशेष अस्पताल रुपन्देहीबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालीकोट अस्पतालबाट २८ जना, दैलेख अस्पतालबाट २६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पतालबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना गरी कूल ३७० जना निको भएका छन् । योसहित हालसम्म २ हजार १४२ व्यक्तिले कोरोना जितेका छन् । जसमा १६१ महिला र १ हजार ९६१ जना पुरुष रहेका छन् ।
नेपालमा हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ । हालसम्म रसुवा बाहेक बाँकी ७६ जिल्लामा नै कोरोना संक्रमण देखा परेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा सात जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएकाे परीक्षणमा दुई सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको प्रवक्ता डा. गौतमले बताए ।
साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा एक सय तीन जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।