काठमाडौं, असार ९ । नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो २४ घण्टामा देशभर गरी ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
आज थपिएका संक्रमितहरु मध्ये ९० जना महिला र ४४८ जना पुरुष रहेका छन् । यससँगै संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर गरी ७६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । जसमा ८ जना महिला र ६८ जना पुरुष रहेका छन् । हालसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जसमध्ये १८९ महिला र २०३५ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना छन्।
यस्तै, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २४ पुगेको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष रहेका छन् । मंगलबार स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. गौतमले प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति मृत्यु भएको बताए । उनी क्षयरोग र दमको बिरामी थिए । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगञ्जका १ र पर्साका १ जनाको मृत्यु भएको छ । साथै हालसम्म नेपालका ७७ जिल्ला मध्ये रसुवा बाहेक बाँकी ७६ जिल्लामा कोरोना संक्रमण देखा परेको छ ।